लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना बनाउन मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

सरला सुवेदी ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालयका रूपमा विकास गर्ने दृढ संकल्प व्यक्त गरेका छन् । प्रदेश सरकारले यस विश्वविद्यालयलाई गौरवको आयोजनाका रूपमा अघि बढाउँदै शैक्षिक र प्रशासनिक सेवालाई प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक केन्द्र बनाउने उद्देश्य राखेको छ ।

बाँकेमा आयोजित विश्वविद्यालयको छैटौं सभा (सिनेट) बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राविधिक जनशक्ति उत्पादनका लागि स्थापित यो विश्वविद्यालयलाई देशभरका विद्यार्थीहरूको आकर्षणको केन्द्र बनाउने प्रतिवद्धता जनाए ।
उनले भने, “यो विश्वविद्यालयलाई युगले खोजेको जनशक्ति उत्पादन गर्ने स्थल बनाउने हाम्रो उद्देश्य हो । प्रदेश सरकारले यसका लागि आवश्यक वातावरण र अवसर सृजना गर्न कटिबद्ध छ ।”

मुख्यमन्त्री आचार्यले अध्ययन–अध्यापनलाई व्यवसायिक तथा रोजगारमुखी बनाउँदै विश्वविद्यालयका संकायहरूको विस्तार र परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले थपे, “विद्यार्थीलाई कामसँग जोड्न सक्ने क्षमतावान बनाउने लक्ष्यमा हामी लागिरहेका छौं । यसका लागि अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्राथमिकता दिएको छ ।”

छैटौं सिनेट बैठकमा विश्वविद्यालयको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षको बजेट, र आगामी योजनाहरूमा छलफल भएको थियो । बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रको रूपमा विकास गर्दै प्राविधिक शिक्षामा देशलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको जानकारी दिए ।

गुणस्तरीय शिक्षा र नवप्रवर्तनमा जोड

लुम्बिनी प्राविधिक विश्वविद्यालयले प्रदेशभित्रका शैक्षिक संस्थाहरूको गुणस्तर सुधार गर्दै विद्यार्थीहरूलाई प्राविधिक शिक्षा र नवप्रवर्तनतर्फ प्रेरित गर्ने सरकारको योजनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्री आचार्यले विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा स्थापित गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए ।

बैठकमा सहभागी शिक्षा तथा प्रशासनिक अधिकारीहरूले विश्वविद्यालयको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, पाठ्यक्रम परिमार्जन, र अन्तर्राष्ट्रिय सहकार्यका पहलहरूमा जोड दिएका थिए ।

अन्तर्राष्ट्रिय स्तरको शिक्षा केन्द्रको परिकल्पना

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई प्राविधिक र शैक्षिक क्षेत्रको अग्रणी प्रदेशका रूपमा विकास गर्न यो विश्वविद्यालयको भूमिका अतुलनीय रहने बताए । उनले भने, “अनुसन्धान र नवप्रवर्तनमार्फत यस क्षेत्रका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने हाम्रो प्राथमिकता हो । यो उद्देश्य पूरा गर्न सरकार कुनै कसर बाँकी राख्ने छैन ।”

प्रदेश सरकारले शैक्षिक नवप्रवर्तनका लागि विभिन्न कार्यक्रमहरू अघि बढाएको उल्लेख गर्दै मुख्यमन्त्रीले गुणस्तरीय शिक्षा, रोजगारमुखी पाठ्यक्रम, र नवीन प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताए । उनले भने, “लुम्बिनी प्राविधिक विश्वविद्यालयको प्रगतिले न केवल प्रदेश, तर सम्पूर्ण देशलाई आर्थिक र सामाजिक रूपान्तरणतर्फ डोहोरÞ्याउनेछ ।”

दीर्घकालीन योजना र योगदान

लुम्बिनी प्राविधिक विश्वविद्यालयको विकासले प्रदेशको शैक्षिक, आर्थिक, र सामाजिक क्षेत्रमा दीर्घकालीन योगदान पु¥याउने विश्वास लिइएको छ । प्रदेश सरकारको योजनाले लुम्बिनीलाई शिक्षाको नमुना केन्द्रका रूपमा स्थापित गर्न सहयोग पु¥याउने छ । मुख्यमन्त्रीको यो प्रतिवद्धताले विश्वविद्यालयको भविष्यप्रति सबैलाई उत्साहित बनाएको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना बनाउन मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

जुम्लामा खस संस्कृतिको भैलोको रौनक

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना बनाउन मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर