प्रेमा हत्याकाण्डमा प्रहरीले भन्यो-श्रीमानले श्रीमतीका बारेमा गलत बयान दिए

सुर्खेत, २५ बैशाख ।

सुर्खेतमा नेपाली सेनामा कार्यरत दर्शन खत्रीले श्रीमतीको हत्या गरेको घटनामा नयाँ तथ्यहरू खुलेको प्रहरीले बताएको छ । श्रीमती प्रेमा वली खत्रीको हत्या गरेका दर्शनले प्रेमाबारे भ्रमित पार्ने बयान दिएको प्रहरीले बताएको छ ।

दर्शनले प्रहरीलाई बयान दिँदा प्रेमा तीन–चार दिन पहिलेदेखि घरमा नभएको, सामाजिक सञ्जाल र मोबाइलमा अर्कै पुरूषको तस्बिर राखेको बयान दिएका थिए । तर दर्शनले प्रेमाबारे गलत बयान दिएको खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग वड थापाले बताए ।

’मृतकले सामाजिक सञ्जालमा अर्कै पुरूषको तस्बिर राखेको, तीन–चार दिन पहिले घर छाडेर हिँडेको भनेर दर्शनले प्रहरीलाई भ्रमित पार्न गलत कुरा गरेको खुल्न आएको छ,’ डिएसपी वड थापाले भने । २८ वर्षीय दर्शन नेपाली सेनाको वीरदल गण पाँचथरमा पिउठ पदमा कार्यरत थिए। उनकी श्रीमती २६ वर्षीया प्रेमा सुर्खेत गुर्भाकोट नगरपालिका-५ मा बस्दै आएकी थिइन् ।

प्रहरीमा दर्शनले सुरूमा दिएको बयान अनुसार उनले शनिबार प्रेमालाई छिन्चुमा बोलाएका थिए। उनले साथी मार्फत सामान पठाइदिएको र आफू गएर लिन भनेका थिए। उनीहरूको भेट भएपछि विवाद भएको र आफूले ढुंगाले प्रेमाको टाउकोमा हानेको बयान दर्शनले दिएका थिए ।

त्यसपछि प्रेमाकै सलले घाँटीमा कसेर घिसार्दै केही पर पानी भएको खाडलमा शव फ्याँकेको दर्शनले बताएका थिए। आइतबार स्थानीयले जंगलमा शव देखेपछि प्रहरीले अनुसन्धान गरी दर्शनलाई पक्राउ गरेको थियो ।

प्रेमाकी आन्टी कमला खड्का भारतीले दर्शनले प्रेमाबारे प्रहरीलाई गलत बयान दिएको बताइन् । उनका अनुसार मंगलबार प्रेमाका भाइको बिहे थियो । त्यसैले प्रेमा दुई दिन पहिले माइती गएको उनले बताइन् ।

’माइत घरबाट दस मिनेट पर छ । त्यसैले छोरीसहित घरका बाख्रापाठासमेत माइतीमा लिएर गएकी थिइन् । दिउँसो दिउँसो चाहिँ घरमा रेखदेखका लागि आउजाउ गरेकी थिइन्,’ कमलाले भनिन्, ‘त्यो कुरा प्रहरीले हामीसँग बुझ्दै बुझेनन् ।

उताको (दर्शनको) कुरा मात्र सुनेर कुराहरू सार्वजनिक गरिदिँदा हामीलाई पीडामाथि झन् पीडा भयो ।’ दर्शनले प्रेमालाई राम्रो व्यवहार नगर्ने भएकाले प्रेमा परिवारसँग नबसी छोरीसँग बस्दै आएको पनि उनको भनाइ छ ।

पछिल्लो समय दर्शन घर आएको कुरासम्म प्रेमालाई थाहा नभएको उनले बताइन् । प्रेमाका भाइको बिहेका लागि सामान पठाइदिएको र त्यो लिन जानू भनेर दर्शनले भनेकाले प्रेमा माइतीमा सोधेरै छिन्चु गएकी कमलाले बताइन् । त्यस्तै छोरी जन्मिएपछि उनीहरूबीच खटपट सुरू भएको उनले बताइन्।

यसअघि प्रहरीले बताएजस्तै, कमलाले पनि दर्शनको अन्य महिलाहरूसँग सम्बन्ध रहेको बताइन् । हत्यापछि दर्शनले प्रेमाको मोबाइलबाट आफन्तलाई भ्रमित पार्ने म्यासेज पनि पठाएको कमलाका ज्वाइँ तथा प्रेमाका भिनाजु सन्तु राजीको दाबी छ ।

’मैले मोबाइल चलाउँदै गर्दा झुक्किएर केटाको फोटो श्रीमान दर्शनको मेसेन्जरमा पुग्यो । अब मलाई नखोज्नू, म पोइल गइसकेँ, यतैबाट ऊसँगै भारततर्फ जान्छु होला भन्ने जस्ता मेसेज लेखेर आफन्तलाई पठाएको छ,’ राजीले भने । प्रहरीले भने मेसेज लगायत अन्य विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । (सेतोपाटीबाट साभार)

प्रेमा हत्याकाण्डमा प्रहरीले भन्यो-श्रीमानले श्रीमतीका बारेमा गलत बयान दिए

विकासको मोडेल परिवर्तनतर्फ लुम्बिनी प्रदेश : नव

प्रेमा हत्याकाण्डमा प्रहरीले भन्यो-श्रीमानले श्रीमतीका बारेमा गलत बयान दिए

वीरेन्द्रनगरको प्रशासनिक विस्तार हिजो, आज र भोली

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds