गुठिचौरका -३ का वडा अध्यक्ष इन्द्र बुढाको प्रेरणादायी यात्रा

काली बहादुर परियार
जुम्ला,२१ असोज ।
जुम्ला । कर्णालीको उकाली ओराली, पहाडको गाउँ अनि शान्त जीवनशैली। यही जुम्लाको गुठिचौर गाउँपालिका–३ बाट एक युवाले नेतृत्वको नयाँ अध्याय लेखिरहेका छन् । इन्द्र बुढा, जो अहिले नेपालकै कान्छा वडा अध्यक्षको रूपमा परिचित छन् ।
साधारण परिवारमा जन्मेका इन्द्र बुढाको जीवन कथा साधारण छैन । गाउँमै हुर्किए, स्थानीय विद्यालयमै पढे, अनि उच्च शिक्षासम्म पुगेर मास्टर डिग्री पूरा गरे । गाउँका धेरैका लागि शिक्षा केवल सपना थियो । तर इन्द्रका लागि त्यो मार्ग बन्यो । जसले उनलाई नेतृत्वसम्म पुर्यायो ।
गुठिचौर गाउँपालिका–३ का यी युवा नेता नेपालकै कान्छा वडा अध्यक्ष हुन् । तर, उनको कथा केवल पदसम्म सीमित छैन, यो गाउँबाटै उठेको एउटा सपनाको यात्रा हो।
इन्द्रको जन्म सामान्य किसान परिवारमा भयो । बाल्यकाल गाउँकै धुलो माटोमा बित्यो । तर इन्द्रका आँखामा सदैव एउटा चमक थियो । केही फरक गर्न सक्ने आत्मविश्वास ।
गाउँमा जन्मिएको मान्छेले गाउँकै लागि काम गर्नुपर्छ,” उनी सानैदेखि भन्ने गर्थे । गाउँकै विद्यालयबाट सुरुवात गरेर उनले उच्च शिक्षा हासिल गरे र मास्टर डिग्रीसम्म पुग्दा पनि आफ्नो पहिचान गुमाएनन् ।
राजनीतिमा नयाँ ढंगको प्रवेश :
२०७९ सालको स्थानीय तह निर्वाचनको बेला धेरैका लागि राजनीति अनुभव र पहुँचको खेल थियो । तर इन्द्र बुढाले फरक सोचका थिए। उनी नेकपा माओवादी केन्द्र बाट टिकट पाए पनि अन्ततः स्वतन्त्र टिम बनाएर चुनाव मैदानमा उत्रिए।
त्यो वर्ष गुठिचौर–३ मा विभिन्न कारणले चुनाव स्थगित भयो । तर जब अन्ततः मतदान सम्पन्न भयो, नतिजाले सबैलाई चकित पार्यो । इन्द्र बुढा विजयी बने। गाउँको एक साधारण युवक, मास्टर डिग्री सहितको नयाँ पुस्ताको प्रतिनिधि, वडाको नेतृत्वमा पुगे ।
शिक्षा र सेवा उनको पहिचान :
देशका सयौँ वडामध्य इन्द्र बुढा अहिले पनि एकमात्र वडा अध्यक्ष हुन्, जसले मास्टर डिग्री पूरा गरेका छन् । पढाइले नै उनलाई नेतृत्वको अर्थ बुझायो ।
अधिकार होइन, जिम्मेवारी हो । उनको बोलाइमा नम्रता छ, व्यवहारमा आत्मविश्वास। गाउँका मानिसहरू भन्छन्, हाम्रो वडा अब शिक्षित व्यक्तिको हातमा परेको छ ।
वडाबाटै सुरु भयो विकासको नयाँ यात्रा :
वडाको आफ्नै कार्यालय नहुँदा वडाले वर्षाै देखि भाडाकाे घरमा काम गरिरहेकाे थियाे । उनी वडा अध्यक्षमा निर्वाचित भए पछि त्यसलाई प्राथमिकता बनाए ।
उनले आफ्नै पहलमा जग्गा क्याबिनेट बाट पास गराएर वडा कार्यालय निर्माणको प्रक्रिया अघि बढाए र सम्पन्न पनि गरे ।
त्यस अघि नै उनले स्वास्थ्य सेवा गाउँमै ल्याउने सोच बनाए । उनले वडा आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरे ।
जसबाट गाउँलेहरू नियमित स्वास्थ्य परामर्श र उपचार सेवा पाउने छज् । पहिले वडामा आधारभुत स्वास्थ्य चाैकी पनि भाडाकाे घरमा संचालन भएको थियाे ।
तर अहिले आफ्नै भवन निर्माण भएको छ । अब वडाका नागरिकले आफ्नै आधारभुत स्वास्थ्य चाैकी बाट सेवा पाउने छन् ।
युवाका लागि प्रेरणा, खेलमै नेतृत्व :
इन्द्र बुढा केवल राजनीतिमा होइन, खेलकुदमा पनि युवाका साथी हुन् । उनी भन्छन्, “स्वस्थ युवक नै समृद्ध गाउँको आधार हो।”
गाउँमा राजनीतिका कुरा थकाइदिने लाग्थे, तर इन्द्र बुढा वडा अध्यक्ष भए पछि गाउँका युवामा नयाँ ऊर्जा मिसिएको छ । कारण हो उनी राजनीतिलाई कुर्सी होइन, परिवर्तनको मैदान ठान्छन् । सबै लाई लाग्छ इन्द्र बुढाको भनाइ सधैं प्रेरक हुन्छ ।
“स्वस्थ युवक नै समृद्ध गाउँको आधार हो । “
त्यो भनाइ उनले केवल भाषणमा होइन, व्यवहारमै उतारेका छन्। युवालाई खेलकुद तर्फ आकर्षित गर्न उनले आफ्नो जग्गा नै दान गरेर वडामा आधुनिक ब्याडमिन्टन कवर्ड हल निर्माण गराए ।
गाउँका धेरैले यो कुरा सुन्दा अचम्म मान्थे । वडाअध्यक्षले आफ्नै जग्गा दिएर ब्याडमिन्टन कवर्ड हल बनाउने ? तर आज त्यो हल गाउँको गौरव बनेको छ।
बिहान र साँझ परेपछि ब्याडमिन्टन हल उज्यालो हुन्छ। गाउँका युवाहरू,विद्यार्थी, र कामबाट फर्केका युवा ब्याडमिन्टन हलमा जम्मा हुन्छन् । खेल्दै,खेल्दै उनीहरू कुरा गर्छन् ।
त्यो हल अहिले केवल खेलको ठाउँ होइन, सपनाहरू जोड्ने केन्द्र बनेको छ। इन्द्र बुढाको दृष्टि फरक छ। उनी भन्छन् ,
“युवा निष्क्रिय भए गाउँ अँध्यारो हुन्छ, उनीहरू सक्रिय भए गाउँ आफैं उज्यालो हुन्छ।”
उनका अनुसार, खेलले युवामा अनुशासन, आत्मविश्वास र नेतृत्वको गुण विकास गर्छ। त्यसैले उनले राजनीतिभन्दा पनि बढी ध्यान युवाको सोच र सम्भावनामा दिएका छन्।
अहिले गुठिचौर–३ मा परिवर्तन महसुस गर्न सकिन्छ। बिहान विद्यालयतिर हिँड्ने बालबालिका देखिन्छन्, बेलुका ब्याडमिन्टन खेल्दै हाँस्ने युवाहरू। गाउँमा अब राजनीतिक भाषणभन्दा बढी खेलको हर्ष र युवाको उत्साहको आवाज सुनिन्छ।
गाउँका एक वृद्ध लालसिंह बुढा भन्छन्,पहिले हाम्रो गाउँमा खेलको नामै थिएन, अब हरेक साँझ यहाँ हाँसो र जोश मिसिन्छ। त्यो सम्भव बनाउने वडा अध्यक्ष इन्द्र बुढा हुन् ।
इन्द्र बुढा युवाका लागि प्रेरणा र नेतृत्वको नमूना बनेका छन्। उनले देखाएका छन् । विकास सडक र भवनमा मात्रै होइन, युवाको सोचमा पनि हुनुपर्छ । र, त्यो सोच जब खेलकुद जस्तो सकारात्मक दिशामा अघि बढ्छ, तब गाउँ आफैं रूपान्तरण हुन्छ।
शिक्षा र सामाजिक उत्तरदायित्वमा जोड :
गाउँमा विद्यालय केही टाढा भएकाले उनले मन्थेश्वरी भवन निर्माणको पहल गरे। भवन अहिले पर्खालसहित तयार भइसकेको छ । अब शौचालय बनेपछि औपचारिक रूपमा सञ्चालनमा आउने तयारीमा छ।
त्यसका अलावा, उनले वडाभित्रका शाखा सडक निर्माण, मृतक परिवारलाई काजकिरिया खर्च सहायता, एसईई विद्यार्थीका लागि बेसिक कम्प्युटर कोर्स र विपन्न वर्गका नागरिकका लागि उपचार खर्च सहयोग जस्ता सामाजिक कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएका छन्।
‘हामी गाउँमै परिवर्तन ल्याउन सक्छौं’ वडा अध्यक्ष बुढा प्रष्ट भन्छन् हामी गाउँमै बसेर गाउँको रूप फेर्न सक्छौं। विकासका लागि ठूल्ठूला पद होइन, सानो जिम्मेवारी पनि ठूलो परिणाम ल्याउन सक्छ। त्यो सोचका कारण अहिले गाउँलेहरू उनलाई ‘वडा अध्यक्ष मात्र होइन, प्रेरणाका स्रोत’का रूपमा हेर्न थालेका छन् ।
परिवारमै सेवाको जोडी :
वडा अध्यक्ष बुढाको जीवनको अर्को रोचक पक्ष पनि छ । उनी वडा अध्यक्ष छन् र उनकी श्रीमती वडा सचिव। एउटै वडामा दुवै पति–पत्नीले गाउँका लागि काम गर्नु, नेतृत्व र प्रशासन दुवैको सन्तुलन कायम गर्नु, सम्भवतः देशकै पहिलो उदाहरण हुन सक्छ ।
दुवै एउटै कोठामा, एउटै गाउँका लागि, एउटै उद्देश्य लिएर काम गरिरहेका छन् । यो दृश्य नेपालको अन्य गाउँपालिकामा प्रायः देखिँदैन। नेतृत्व र प्रशासन सामान्यतया फरक व्यक्तिहरूले सम्हाल्ने जिम्मेवारी हो। तर गुठिचौर–३ मा यो भूमिकाको सन्तुलन एउटै परिवारभित्रै कायम गरिएको छ ।
वडा अध्यक्ष बुढा राजनीतिक नेतृत्वको भूमिकामा छन् । श्रीमती प्रशासनिक संयोजनमा । कामको जिम्मेवारी फरक भए पनि दुवैको लक्ष्य एउटै हो । गाउँलाई सुशासन र पारदर्शिताको नमूना बनाउने ।
वडा अध्यक्ष इन्द्र भन्छन्, हामी दुवै गाउँकै सन्तान हौँ । पद र जिम्मेवारी फरक हुन सक्छ, तर सेवा गर्ने भावना एउटै हो ।
अध्यक्षले नीतिगत निर्णय गर्छन्, सचिवले त्यसलाई प्रशासनिक कार्यान्वयनमा रूपान्तरण गर्छिन् । यसरी निर्णय र कार्यान्वयन एउटै तालमा हिँड्दा वडामा छिटो सेवा, स्पष्ट जवाफ र कम विवाद देखिन थालेको छ।
नेपालका धेरै ठाउँमा राजनीति उमेरका साथ बुढिँदै गएको छ, तर वडा अध्यक्ष बुढा जस्ता युवा नेताले देखाइरहेका छन् । नेतृत्व उमेरले होइन, दृष्टिले तय हुन्छ।
गुठिचौर–३ आज परिवर्तनको बाटोमा छ । अनि त्यसको मुटुमा छन् वडा अध्यक्ष बुढा ।






