सोचेअनुसार प्रदर्शन हुन नसक्दा बाहिरियौँ : कर्णालीका प्रशिक्षक बस्न्यात

काठमाडौँ, १८ मङ्सिर ।
कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिने पहिलो टोली बनेको छ । बुधबार पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै लिग चरणको कर्णाली एक खेल अगावै बाहिरिएको हो । कर्णालीका प्रशिक्षक राजु बस्न्यातले टिममा सन्तुलन नमिल्दा बाहिरिनुपरेको बताए । उनले भने, “सुरूको खेल हार्दादेखि नै टिमको बनोबल खस्किएको थियो, त्यसपछिका खेलहरूमा पनि सोचेअनुसार प्रदर्शन गर्न सकेनौँ ।”
बलिङ, ब्याटिङ र फिल्डिङ सबै कुरामा चुक्दा यस्तो नतिजा आएको उनको भनाइ थियो । उनले भने, “कागजमा हेर्दा हाम्रो टिम बलियो नै थियो तर मैदान उत्रिदा फितलो प्रदर्शन भयो, जसका कारण बाहिरिन बाध्य भयौँ ।”
कर्णालीमाथि जीत निकाल्दै पोखराले प्लेअफको सम्भावना जीवितै राखेको छ । पोखराले भने पाँच खेलबाट चार अङ्क पुर्याएको छ । पोखराको जीतमा शतकीय पारी खेल्दै प्लेयर अफ म्याचसमेत भएका एडम रोसिङ्टनले प्लेअफ पुग्ने लक्ष्यका साथ अघि बढेका बताए । उनले भने, “प्लेअफ पुग्ने लक्ष्यका साथ खेल्दै छौँ, बाँकी रहेका खेलमा राम्रो प्रदर्शन गर्नुपर्नेछ ।”





