अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

दाङ ,१७ मंसिर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले प्रादेशिक तहमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माण प्रक्रियालाई तीव्रता दिइएको जानकारी दिनुभयो। यसले एकीकृत तथा सहज सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उहाँको भनाइ छ।
सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा मनाइँदै आएको अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस यस वर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्दन, सामाजिक विकासको संवर्दन’ नाराका साथ मनाइँदैछ। मुख्यमन्त्री आचार्यले नेपालको संविधानले सबै नागरिकलाई मर्यादित र आत्मसम्मानपूर्ण जीवन, सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको उल्लेख गर्दै प्रदेश सरकारले यसलाई व्यवहारमै उतार्न निरन्तर काम गरिरहेको बताउनुभयो।
प्रदेशभर अपाङ्गमैत्री पूर्वाधार निर्माण, अपाङ्गता समन्वय समिति गठन तथा सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न विभिन्न संरचनागत सुधार गरिरहेको पनि उहाँले जानकारी दिनुभयो। पुराना संरचनामा आवश्यक परिमार्जन तथा नयाँ संरचनालाई पूर्ण रूपमा अपाङ्गमैत्री बनाउन कार्य अघि बढिरहेको मुख्यमन्त्री आचार्यको भनाइ छ।
शिक्षा, स्वास्थ्य, रोजगारीसहित राज्यबाट प्रदान गरिने सेवामा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच सुनिश्चित गर्दै राज्यका नीति तथा निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता बढाउन कानुनी आधार निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।
दिवसको अवसरमा मुख्यमन्त्री आचार्यले अपाङ्गता अधिकार प्रवर्दन अभियानमा संलग्न सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दै दिवसको सफलताको कामना गर्नुभएको छ।






