पातारासीका पूर्व जनप्रतिनिधि–कर्मचारीले फिर्ता गरेनन् ल्यापटप र मोबाइल


जुम्लाको पातारासी गाउँपालिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीले १० लाख बढी मुल्यका ल्यापटप र मोबाइल पचाएका छन् । पातारासीका पूर्व जनप्रतिनिधि र कर्मचारीले कार्यालय प्रयोजनका लागि भन्दै लिएको १० लाख १२ हजार ८५ रुपैंया बराबरका ल्यापटप र मोबाइल फिर्ता नगरेका हुन् ।
सरकारी बजेटबाट खरिद गरिएका ल्यापटप र मोबाइल पचाएका पूर्व जनप्रतिनिधि र कर्मचारीले सामाग्रीको मुल्य बराबर रकम फिर्ता गर्नुपर्ने समेत महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । तर पूर्व जनप्रतिनिधि र कर्मचारीले नत सामाग्रीको मुल्य बराबर रकम फिर्ता गरेका छन् । नत सामाग्री नै फिर्ता । बरु उल्टै अटेरी गरी नियम विपरित महंगो मुल्यका सरकारी सामाग्री जपत गरेको देखिन्छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ९९ (५) मा कार्यालयले आवश्यकता भन्दा बढी जिन्सी सामग्री खरिद गर्न नहुने व्यवस्था छ । तर गाउँपालिकाले आवश्यकता भन्दा वढी जिन्सी सामग्री खरिद गरेर पूर्व जनप्रतिनिधि र कर्मचारीलाई हस्तान्त्रण गरेको पाइएको छ ।
एउटै कर्मचारीलाई एक भन्दा बढी जिन्सी सामग्री हस्तान्तरण गर्न नमिलने हो । तर एउटै व्यक्तिले एकभन्दा बढि एउटै प्रकृतिका जिन्सी सामाग्री लिएका छन् । ल्यापटप र मोबाइल लिएर फिर्ता नगर्नेमा पूर्व जनप्रतिनिधिदेखि अवकाश सरुवा ताथ अन्य कार्यालयका कर्मचारी समेत रहेका छन् ।
कर्मचारीको कार्य प्रकृति अनुसार जिन्सी सामग्रीको आवश्यकता पहिचान गरेर सामग्री हस्तान्तरण गर्ने तर्फ गाउँपालिका चुकेको हो । यता पातारासी गाउँपालिकाको कार्यालयले पूर्व जन प्रतिनिधि तथा कर्मचारीले लिएका ल्यापटप र मोबाइलको अभिलेख हेर्दा उक्त सामाग्रीहरु आर्थिक वर्ष २०७४/०७५ तिर खरिद गरि वितरण गरिएको जनाएको छ ।
गाउँपालिकाका सूचना अधिकारी दानबहादुर बिष्टका अनुसार तत्कालिन वडा अध्यक्षहरुले वडा कार्यालयको प्रयोजनको लागि ल्यापटप बुझेका थिए । तर वडाध्यक्षहरुले वडा कार्यालयमा ल्यापटप बुझाएका छैनन् । त्यस्तै तत्कालिन कार्यपालिकाका महिला सदस्यहरुलाई वितरण गरिएका मोबाइल समेत फिर्ता बुझाएका छैनन् ।
त्यस्तै गरी कतिपय कर्मचारीहरुले पनि कार्यालयले उपलब्ध गराएका सामान फिर्ता नरेको पाइएको छ । कार्यपालिका सदस्यहरुलाई सञ्चारको लागि र वडाध्यक्षहरुले वडा कार्यालयको प्रयोजनको लागि भन्दै ल्यापटप र मोबाइल हस्तान्त्रण गरिएको उल्लेख छ ।
कसले के–के सामान लिए ?
सरकारी बजेटबाट खरिद गरिएका ल्यापटप र मोबाइल लिएर फिर्ता नगर्नेमा पूर्व अध्यक्ष लछिमन बोहराको नाम सबैभन्दा पहिले उल्लेख छ । उनले ६५ हजार मुल्यको एक थान लेनेभो ल्यापटप र २६ हजार पाँच सय मुल्यको एक थान सामसुङ मोबाइल लिएका थिए । तर दुबै सामाग्री फिर्ता गरेका छैनन् ।
त्यस्तै पूर्व उपाध्यक्ष पुन्नकली महतराले पनि ६७ हजार दुई सय ३५ रुपैंया मुल्यको एक थान डेल ल्यापटप लिएर फिर्ता गरेकी छ्रैनन् । जो कि पूर्व अध्यक्ष र उपाध्यक्ष दुबै जनालाई ल्यापटप राम्रोसँग चलाउन नै आउँदैन् ।
त्यस्तै पूर्व वडाध्यक्षहरुमा दत्तबहादुर बुढा, कर्णबहादुर बोहरा, विर्षराम बोहरा, कालीवहादुर रावल, धनबहादुर थापा र लालबहादुर बुढाले प्रति व्यक्ति एक एक थान ६५ हजार मुल्यका डेल ल्यापटप फिर्ता गरेका छैनन् ।
त्यस्तै पूर्व कार्यपालिका सदस्यहरुमा चैती एडी, पानकली नेपाली, मैना नेपाली, जालकला बुढा, लक्ष्मी बोहरा र मया बुढाले प्रक्ति व्यक्ति एक एक थान १७ हजार पाँच सय मुल्यका जिओनी मोबाईल फिर्ता गर्न बाँकी छ ।
सरुवा भइ गइसकेका गाउँपालिकाका पूर्व लेखापाल महाकृष्ण पाण्डेले पनि एक लाख ३० हजार मुल्यको दुई थान डेल ल्यापटप, १७ हजार पाँच सय मुल्यका जिओनी मोबाईल र १९ हजार आठ सय ५० रुपैंया मुल्यको एक थान हुवाई मोबाईल फिर्ता गरेका छैनन् ।
त्यस्तै सरुवा भइ गइसकेका पूर्व नासुमा कार्यरत अभयराज रेग्मी ३५ हजार मुल्यका दुई थान जिओनी मोबाईल फिर्ता गरेका छैनन् । करार अवधी समाप्त भएका सहायक चौथो रतन सिंह बुढाले एक थान जिओनी मोबाईल, दुई थान पोको मोबाईल र एक थान टेलिभिजन लिएका छन् ।
सरुवा भइ गइसकेका पूर्व लेखापाल केशव प्रसाद न्यौपानेले ९० हजार मुल्यको एक थान डेल ल्यापटप फिर्ता गर्न बाँकी छ । भने सरुवा भइ गइसकेका पजिकरण शाखाका कर्मचारी भक्तिलाल बुढाले ६६ हजार मुल्यको एक थान डेल ल्यापटप बुझेर फिर्ता गरेका छ्र्रैनन् ।
गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगाएत पूर्वाधार विकासमा पछि परेको अवस्थामा जनप्रतिनिधि र कर्मचारीले ठुलो मात्रामा नियम विपरित जिन्सी सामाग्री खरिद गरेर व्यक्तिगत लाख हुने गरी काम गर्नु राम्रो होइन् । ल्यापटप र मोबाइल बुझेर लिएको लामो समय भइसकेकाले अब जिन्सी मासानको सट्टा सामानको मुल्य बराबरको रकम फिर्ता गर्नु जरुरी छ ।
प्रमाणविनै भुक्तानी
पातारासी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा विद्यालयमा आई.टि. ल्याव स्थापनाकाको लागि सरस्वती मा.वि. पातारासी २ र गौरी आधारभूत विद्यालयलाई १२ लाख ९९ हजार नौ सय रुपैंया भुक्तानी दिएको थियो । तर उक्त रकमबाट कम्प्युटर प्रिन्टर लागायतका सामग्री खरिद गरेकोमा सामानहरू विद्यालमा दाखिला गरेको प्रमाणविनै विद्यालयले भुक्तानी गरेको पाइएको छ ।
आई.टि. ल्याव स्थापनाकाको लागि सरस्वती मा.वि. पातारासी २ लाई ६ लाख ४९ हजार नौ सय र गौरी आधारभूत विद्यालयलाई ६ लखा ५० हजार रुपैंया पालिकाले भुक्तानी दिएको थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ९५ (१) बमोजिम कार्यालय प्रमुखले आफ्नो कार्यालयमा रहेको र खरिद गरेको जिन्सी मालसामानको विवरण र मूल्य समेत खुलाई सम्पत्ति तथा जिन्सी कितावमा आम्दानी बाँधी लगत अध्यावधिक गर्नु गराउनु पर्दछ । तर प्रमाण पेश नगरेको जिन्सी सामानको विद्यालयले भुक्तानी गरेका हुन् ।
जसमा सरस्वती मा.वि. पातारासी– २ मा एक थान प्रिन्टर, दुई थान ल्यापटप डेल, ६ थान डेक्सटप कम्प्युटर डेल र गौरी आधारभूत विद्यालयमा ११ थान डेक्सटप कम्प्युटर, एक थान प्रिन्टर, एक थान ल्यापटप एसर, एक थान स्पीकर र एक थान मल्टिप्लक, एक थान सीसीटीभी क्यामरा, मनिटर, कार्टेज र स्टेपलाईजर खरिद गरेको विवरण उल्लेख छ । तर उक्त सामान अनुसारको जिन्सी समान विद्यालयमा दाखिला गरेको प्रमाण छैन ।






