एमाले सुर्खेतमा बिवाद, अध्यक्षद्धारा एक्लै नवौँ अधिवेशन स्थगित

यही २०८० फाल्गुन ४, ५ र ६ गते तोकिएको नेकपा एमाले सुर्खेतको नवौँ जिल्ला अधिवेशन स्थगित भएको छ । जिल्ला अध्यक्ष अमृत बहादुर बिसीले पत्रकार सम्मेलन गरी जिल्ला अधिवेशन स्थगित भएको जानकारी दिएका हुन् । जिल्ला अधिवेशन स्थगित गर्दै अधिवेशनको तयारीका लागि गठित सम्पूर्ण समिति र उपसमिति विगठन गरिएको जनाइएको छ ।
अध्यक्ष बिसीले आठौँ जिल्ला अधिवेशनबाट आजसम्म आइपुग्दा पार्टी जसरी चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको बताए । जिल्ला अविधेशनको सिमा आगामी २०८१ जेष्ठसम्म तोकिएको छ । जिल्लाको वस्तुगत राजनीतिक परिस्थिति सहमति र सहकार्यमा अधिवेशन सम्पन्न गर्ने अवस्था नदेखिएको हुँदा आगामी दिनमा अधिवेशनलाई आम नेता कार्यकर्ता, पार्टी सदस्यहरुको साझा अधिवेशन बनाइने बताए ।
समस्याहरुको घनिभूत छलफल गरी निराकरण र समाधान पश्चात गरिने अधिवेशनबाट मात्रै ठोस उपलब्धी प्राप्त हुने बताइएको छ । अधिवेशन स्थगितका सम्बन्धमा एमाले केन्द्रीय कमिटी, प्रदेश कमिटी तथा मातहतका स्थानीय कमिटी र जनवर्गिय संगठनहरुको ध्यानाकर्षण गराउँदै अधिवेशन स्थगित भएको घोषणा गरिएको छ ।
त्यस्तै अध्यक्ष विसीले आफूमाथी अपमान भएको कुरा पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘अध्यक्षलाई अवमूल्यन तथा अपमान गर्दै केही व्यक्तिको इसारामा पार्टीलाई नचाउने प्रयत्नहरू भए, पार्टी जिल्ला कमिटीको बैठक हलमा तालाबन्दी गरी सदस्यहरुलाई बन्धक बनाएर निर्णय गर्न थालियो,’ उनले भने, ‘विभिन्न निर्वाचनमा खुलेआम घात–अन्तर्घात गरिए, अधिवेशनबाट बाहिरिएका जिम्मेवार कमरेडहरूलाई आग्रहपूर्ण तरिकाले बाहिर राखियो, केही जिम्मेवारीमा रहेका नेताहरुलले नै चरम अराजकता प्रदर्शन गर्ने क्रम बढ्दै गयो ।
एमालेको प्रथम कर्णाली अधिवेशनपछि सुर्खेतको पार्टी संगठनमा असहजता, झुलाघाट–चिवाभन्ज्याङ्ग, समृद्धिको सङ्कल्प यात्रा अभियान अन्तरगत सुर्खेतमा हुने आमसभाको तयारी बैठक बहिस्कार गरिनु, हरेक जिल्ला सचिवालय बैठकमा बैठकको मर्यादा उलंघन गर्दै प्रस्तुत हुनु जस्ता समस्याहरुको ठोस निराकरण नगरी गरिएको अधिवेशनले सार्थकता प्राप्त नगर्ने र सुर्खेतको पार्टी निर्माण पनि हुँदैन ।’
बिसीले आठौँ जिल्ला अधिवेशन पश्चात् आन्तरिक प्रतिस्पर्धालाई व्ययस्थित तथा वैज्ञानिक तवरले सञ्चालन गर्न नसकिएको पनि बताए । यो क्रम अझ बढी पेचिलो बन्ने उनको भनाइ छ । नवीकरणको समय हुँदाहुँदै दुरदराजका पार्टी सदस्यहरु नवीकरणबाट वञ्चित भएको पनि उनले बताएका छन् ।
यता, अधिवेशन अन्त्यको विषयमा आफुहरुलाई कुनै जानकारी नभएको जिल्ला पदाधीकारीहरुले प्रतिक्रिया दिएका छन् । एमाले जिल्ला सचिव कविन्द्र कुमार केसीले आफुलाई माघ १९ गतेको लागि बैठक बोलाउन लगाइएको भन्दै त्यस बाहेक अरु कुनै जानकारी नरहेको प्रतिक्रिया दिए ।
‘अध्यक्ष ज्युले मलाई माघ १९ गतेको लागि जिल्ला कमिटीको बैठक बोलाउन भन्नुभएको थियो’ उनले भने, ‘त्यही अनुसार मैले बैठक बोलाएँ, नवौँ अधिवेशन फागुन ४ गतेदेखि भन्ने छ, स्थगित भएको मलाई थाहा छैन् ।’






