लुम्बिनी प्रदेशमा रहेका प्रहरी संरचना कर्णालीमा फर्किदै


कर्णाली प्रदेशवासीलाई नेपाल प्रहरीको भर्ना प्रक्रियामा सहभागी हुन नेपालगञ्ज धाउन पर्ने बाध्यताको अन्त्य भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार सूचना जारी गर्दै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) को परीक्षा केन्द्र परिवर्तन गरेसँगै प्रहरीमा भर्ना हुन चाहने कर्णालीवासीलाई नेपालगन्ज धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । अब उप्रान्त प्रहरीमा भर्ना हुन नेपालगन्ज धाउनुपर्ने छैन ।
‘नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको मिति २०८१/०८/२१ गते प्रकाशित विज्ञापनमा नयाँ भर्ना सम्बन्धी सूचनाको बुँदा नम्बर ९ को (६) मा परीक्षा सञ्चालन हुने स्थान कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) तोकिएकोमा उक्त पदहरूको छनौंट चरण अन्तर्गतका परीक्षा कार्यक्रम कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगञ्जले सुर्खेतको वीरेन्द्रनगरबाट सञ्चालन गर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ प्रहरी प्रधान कार्यालय नक्साले जारी गरेको सूचनामा भनिएको छ ।
गत महिना सम्पन्न कर्णाली प्रदेश स्तरिय सुरक्षा समन्वय समितिको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गृहमन्त्री रमेश लेखकसामु कर्णालीका प्रहरी संरचना स्थानान्तरण गर्न यथाशिघ्र प्रक्रिया सुरु गर्न अनुरोध गरेका थिए । सोही बमोजिम गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई तत्काल भर्ना छनौंटका प्रक्रिया कर्णालीबाट थाल्न निर्देशन दिएपछि परीक्षा केन्द्र परिवर्तन भएको जनाइएको छ ।
‘भर्खरै सम्पन्न प्रदेशस्तरिय सुरक्षा समितिको बैठकमा यो विषय हामीले प्राथमिकताका साथ संघीय सरकार समक्ष उठाएका थियौं,’ मुख्यमन्त्री कँडेलले भने, ‘भखरै प्रहरीको भर्ना छनांैट परीक्षा केन्द्र सुर्खेतबाट सञ्चालन गर्ने निर्णय भएको छ । यो लुम्बिनीमा अवस्थित कर्णालीका प्रहरी संरचना स्थानान्तरण अन्तरगतकै काम हो ।’ अन्य संरचना पनि जग्गा प्राप्ति तथा भौतिक संरचना निर्माणलगायतका कामहरु अघि बढिसकेकाले क्रमिकरुपमा स्थानान्तरणको प्रक्रिया जारी रहने मुख्यमन्त्री कँडेलको दावी छ ।
संघीयता कार्यान्वयनमा आएको झण्डै दशक पुग्न लाग्दासमेत कर्णाली प्रदेशका महत्वपूर्ण प्रहरी संरचना लुम्बिनी प्रदेशबाट स्थानान्तरण हुन सकेका छैनन् । हाल कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, डग शाखा, दंगा नियन्त्रण गण लुम्बिनी प्रदेशको नेपालगन्जबाट सञ्चालन हुँदै आएका छन् । जसले अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा थप जटिलता सिर्जना भइरहेको अवस्था छ ।
कर्णालीमा कुनै हिंसात्मक गतिविधि, आन्दोलनमा हुने अवान्छित क्रियाकलाप लगायत नियन्त्रण गर्न अन्य जिल्लाहरूबाट थप प्रहरी बल ल्याउनु पर्ने बाध्ययता मात्रै होइन गम्भीर प्रकृतिका अपराधिक घटनाको अनुसन्धानमा प्रयोग हुने तालिम प्राप्त कुकुर परिचालनमा समेत ढिलाई हुने गरेको छ । जसले अपराधी फरार हुने, प्रमाण मेटिने लगायतका जोखिम प्रहरीले भोग्दै आएको छ । यस्तै, प्रहरी तालिम केन्द्रसमेत नहुँदा तालिमकै लागि पनि नेपालगन्ज धाउनुपर्ने अवस्था छ ।
गुर्भाकोटमा बन्यो दंगा प्रहरी गण
यसअघि लुम्बिनीमा रहेका कर्णालीका प्रहरी संरचना स्थानान्तरण अन्तर्गत दंगा नियन्त्रण प्रहरी गणको मुख्य कार्यालय सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ र १४ मा रहेको साढे चार विघा जमिनमा स्थापना भएको छ ।
पूर्व माओवादी लडाकुको ब्रिगेड कार्यालय रहेको स्थानमा प्रहरीको गणका लागि संरचना तयार भएर भण्डै एक सय ३५ प्रहरी जनशक्ति स्थानान्तरण भइसकेको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताए ।
गणका लागि आवश्यक संचरना बनाउन कर्णाली प्रदेश सरकारले निकासा गरेको एक करोड ९३ लाख रूपैयाँ लागतमा गणका संरचना तयार भएको उनले बताए । बाँकी रहेका संरचना पनि निर्माणको चरणमा रहेको नगर प्रमुख पुनको भनाई छ ।
कर्णालीको ठूलो भूगोलका कारण एउटै ठाउँमा गण राखेर सबैतिर खटाउन नसकिने भएकाले सुर्खेत, दैलेख र रुकुम पश्चिम गरी तीन क्षेत्रमा गणलाई विभाजन गरिएको जनाइएको छ । जसमा गुर्भाकोटमा रहने गणले प्रदेशभर हुने दंगा, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा समन्वय र सहकार्य गर्नेछ । रुकुम पश्चिममा रहने गणले सल्यान, जाजरकोट र डोल्पासम्म हुने दंगा, विपद्लगायतका क्षेत्रमा काम गर्नेछ भने दैलेखको राकममा स्थापना हुने गणले साविकको कर्णालीका कालीकोट, जुम्ला, मुगु र हुम्ला हेर्ने जनाइएको छ ।
त्यस्तै, बहालवाला प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारीहरू र अमर प्रहरीका बालबालिकालाई पठनपाठनका लागि स्थापना गरिएको नेपाल पुलिस स्कुल लुम्बिनीबाट सुर्खेतमा आइसकेको भए पनि भाडाको भवनमा पठनपाठन भइरहेको छ । कर्णाली प्रदेश प्रहरी गणको नाममा रहेको वीरेन्द्रनगर–५ चिसापानीस्थित जग्गामा प्रहरी स्कुलका लागि भवन निर्माणको काम सुरु भएको छ ।
कारागार कार्यालयनजिकैको चार बिघा जमिन मध्ये दुई विघा जमिनमा प्रहरी स्कुल निर्माण हुँदैछ छ भने, सोही ठाउँको एक बिघा जमिनमा नेपाल प्रहरी प्रदेश कार्यालय र बाँकी रहेको जमिनमा प्रहरीको केनाइन शाखाको संरचना निर्माण गरिने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
लुम्बिनीमा रहेका कर्णालीका प्रहरी संरचनाहरु कर्णालीमा स्थानान्तरण गर्ने कार्य जारी रहेको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) जनक भट्टराईले जानकारी दिए । ‘लुम्बनीमा रहेका कर्णालीका प्रहरी संरचना स्थानान्तरण हुनेक्रम जारी छ,’ भट्टराईले भने, ‘जग्गा तथा संरचनाको सुनिश्चिता भएका स्थानहरुमा प्रहरी स्थानान्तरण भइसकेको छ, भने बाँकी संरचनाहरु पनि स्थानान्तरणकै प्रक्रियामा छन् । जग्गा प्राप्ति र आवश्यक भौतिक संरचना तयार हुने वित्तिकै सबै संरचनाहरु स्थानान्तरण हुन्छन् ।’
पञ्चपुरीमा जग्गा प्राप्तिको प्रक्रिया अघि बढ्यो
लुम्बिनीमै रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका लागि आवश्य पर्ने जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तालिम केन्द्र स्थापनाका लागि पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८, दुलालथाईमा रहेको २३ बिघा जग्गा प्रस्ताव गरिएको छ ।
पञ्चपुरी नगरपालिकाका प्रमुख लालविर भण्डारीले जग्गा प्राप्तिका लागि वातावरणीय प्रभाव मूल्यांकन (आइई) को प्रक्रिया अघि बढि सकेको बताए । ‘आइई, सार्वजनिक सुनवाई लगायतका प्रक्रिया अघि बढिसकेका छन्,’ उनले भने, ‘नगरपालिकालाई पत्र प्राप्त हुना साथ डिआइजी कार्यालयमार्फत जग्गा प्राप्तिको फाइल अघि बढ्छ । हामीले तालिम केन्द्र स्थापनाका लागि दु्रतमार्गबाट काम थालिरहेका छौं । यसै बर्ष भित्र सबै प्रक्रिया टुङ्गोमा पुग्छ ।’ गत वर्षबाट जग्गा प्राप्तिको प्रक्रिया सुरु भएको उल्लेख गर्दै नगरप्रमुख भण्डारीले आइई प्रक्रियामा प्राविधिक ढिलाईले समय लागेको बताए ।






