स्थानीयका लागि धराप बन्योः लुमको काठे पुल


बुधबार जुम्लाको सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिका–२ तल्फीगाउँतिर जाँदै गरेको मोटरसाइकल लुमस्थित काठको पुलबाट खस्दा बेपत्ता भएका हरिकृष्ण बुढालाई खोजीकार्य तिव्र पारिएको छ ।

तर, अहिलेसम्म भेटिएका छैनन् । बिहानै साढे ८ बजे क १ प १८२० नम्बरको मोटरसाइकल काठको पुलबाट जवा नदीमा खसेको थियो । अत्यधिक वर्षाका कारण नदी बढेकोले खोजीकार्यमा समस्या देखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । काठको पुल नजिकै भेल आएकाले मोटरसाइकल पुलबाट चिप्लिएको थियो ।

कहिले पुलमै भेल आउनेदेखि काठ कुहिएर प्वाल परेर पनि आवतजातवमा समस्या देखिने गरेको स्थानीयहरु गुनासो गर्छन् । बेपत्ता २८ वर्षका हरिकृष्ण बुढा पातारासी गाउँपालिका–७ रिनी गाउँका हुन् । उनीसँगै मोटरसाइकलमा बसेका रिनीकै जयबहादुर खड्काको उद्धार गरिएको छ । बेपत्ता हरिकृष्णको खोजीकार्यको लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक उमेश चन्दलेले बताए ।

उनका आफन्तहरु समेत जवा र तिला नदीका किनाराहरुमा खटिएका छन् । तर न शव भेटिएको छ, न त नदीको बहाव नै घटेको छ । पुलबाट मोटरसाइकल खसेर मान्छे बेपत्ता भएको पहिलो घटना हो । तर पुलबाट खस्ने र नदीबाट निस्केर बाँचेका धेरै घटनाहरु ताजै छन् । आँखै अगाडि चारभन्दा बढी दुर्घटना देखेका पातारासी गाउँपालिका–४ का कमानसिंह नेपाली अहिले पुलमा सवारीसाधन आइरहेको समेत हेर्न चाहदैनन्।हरेक दिन सवारीसाधनहरु पुलमा ओहोरदोहोर गरिरहँदा निकै टोलाइरहन्छन् ।

पुलमा सवारीसाधन आउजाउ गर्दा पुल हल्लिन्छ । काठका फड्केहरु च्यातिन्छन् । अधिकांश सवारी साधनका टायरहरु प्वालहरुमा पस्दा उकास्न कठिन हुने गरेको उनले देखेका छन् । उनी भन्छन्, ‘यो काठको पुल होइन । यो सरासर मानवीय त्रुटीका कारण पातारासीका बासिन्दाका लागि बनाइएको धराप हो । कुन दिन ठूलो दुर्घटनाको सामाना गर्नुपर्ने हो भन्ने चिन्ता छ ।’

पुलको वारीपारीका बारहरु समेत छैनन् । अचम्म त के छ भने छेउतिर बनाइनुपर्ने ब्रेकरहरु बीचमा बनाइएको छ । जसले स्पीडमा आएका सवारीसाधन ब्रेकरमा ठोक्किएर दुर्घटना भइरहेका छन् । उनका अनुसार लुमको यो काठेपुल हरेक वर्ष फेरिन्छ । एकै बर्षमा काठहरु काम नलाग्ने भइसक्छन् । यो पुल हुँदै पातारासी हिमालको आधारशिवर जाने पर्यटकहरु, संसारकै अग्लो स्थानमा फल्ने कालीमार्सीको फाँटहरु अवलोकन गर्नेहरु देखि शंकर झरनाको मनोरम दृश्यहरु नियाल्न जाने आन्तरिक तथा बाहृयपर्यटकहरु आउजाउ गर्छन् । उनीहरु जीप, बसहरुदेखि बाइकहरु लैजाने गर्छन् । कतिपय पर्यटकहरु त पुलको वारीपारीदेखि नै सवारीसाधनबाट बाहिर निस्केर हिडिरहेका हुन्छन् ।

किनकि लोड गाडीले जतिबेला पनि पुल भाँचिने खतरा छ । कमानसिंहका अनुसार पुल नजिकै हरेक वर्ष पहिरो आउनु र माथितिरबाट सधैँभरि भेल आइरहनुले सधैँजसो त्रासैत्रासको यात्रा गर्न विवश गराउँछ । अहिलेसम्म तीनवटा ठूला दुर्घटना भइसकेका छन् । पहिलेका दुई घटनामा सबै मानिसहरु सकुशल निस्किए । उनले भने, ‘यो पटक न मान्छेको उद्धार हुन सक्यो, नत शव नै भेटिएको छ ।’ धेरै मन्त्रीहरु, सांसदहरुदेखि जिल्लाका सरकारी अधिकारीहरु समेत यही पुल भएर यात्रा गरिहन्छन् । पक्की पुल बनाउनुपर्ने माग पनि स्थानीयले राखिरहन्छन् ।’ फुलमाला लगाइरहँदासम्म उनीहरुले पुल बनाउने प्रतिबद्धता जनाइरहेका हुन्छन्,’ स्थानीय छविराज खड्काले भने, ‘जब गाउँ छाड्छन् । तब मन्त्री र सांसदको प्राथमिकतामा यो पुल पर्दैन । जनताको सास्ती जस्ताको तस्तै ।’

पातारासी मानवशास्त्री डोरबहादु बिष्ट बसेको क्षेत्र समेत भएकोले पनि जुम्लामा पाइला टेक्ने अधिकांशको रोजाइ पातारासी नै बन्छ । छबिराजले भने,‘तर सरकारले चासो नदिँदा जोखिममा यात्रा गर्नु परिरहेको छ ।’ हरेक निर्वाचनमा लुममा पक्की पुल बनाउने दलका उम्मेदवारहरुको घोषणापत्र सार्वजनिक हुन्छ । स्थानीयहरु पनि पुल जसले बनाइने प्रतिबद्धता जनाएको हुन्छ । उसलाई मतदान गर्ने गरिरहेका छन् । अहिलेसम्म यही पुल बनाउने भनेकै कारण मत खसालेको बिराजको अनुभव छ । उनले भने, ‘न पुल बन्ने अहिलेसम्म बजेट नै आयो । न त जिताएका प्रतिनिधिहरु नै फर्के । यो बिडम्वना हरेक चुनावमा खेपिरहनु परिरहेको छ ।’

यता झपातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोरा वर्षौंदेखि पक्की पुलको माग भइरहेपनि बजेट नपरेका कारण पुल बनाउन नसकिएको बताउँछन् । उनले भने, ‘भेट्दा पुल बनाउन बजेट हालिदिने भन्छन्, छुट्दा बिर्सन्छन्न् । यो धेरैअघि देखिको रोग हो ।’ स्थानीय सरकारले पक्की पुल बनाउने बजेट व्यवस्थापन गर्न नसक्ने भएकोले समस्या छ ।

स्थानीयका लागि धराप बन्योः लुमको काठे पुल

एक वर्षमा ८ सय २१ घरमा खानेपानीको

स्थानीयका लागि धराप बन्योः लुमको काठे पुल

नेप्से र कारोबार रकम दुबै घट्यो