पहुँचवाला अभियूक्त नदेखे झै गर्छ प्रहरी

१५ बर्षअघि कालीकोटका १७ बर्षिय युवक राजबहादुर मल्लको हत्यामा संलग्न भएको भन्दै माओवादी पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा दोस्रोपटक पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका सबै तत्कालिन अवस्थामा माओवादीका नेता कार्यकर्ता थिए ।

प्रहरीका अनुसार २६ फागुन २०६५ के बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा राजबहादुर मल्लमाथी खुकुरी प्रहार भएको थियो । त्यसबाट गम्भीर घाइते भएका राजबहादुरको उपचारकै क्रममा मृत्यु भएको थियो । त्यही घटनालाई लिएर अहिले सुर्खेत जिल्ला अदालतले सिंहलगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ । तर, सिंहलाई पक्राउ गर्न अदालतले अनुमती दिएको एक सातासम्म पनि प्रहरीले पक्राउ गरेको छैन । सिंहलाई सुर्खेत प्रहरीले फरारको सूचीमा राखेको छ । जबकी उनी दैनिक सार्वजनिक कार्यक्रममा सहभागी हुने गर्छिन् ।

यति मात्रै होइन सिंहमाथी अनुसन्धान गर्न १५ वर्षको अवधिमा प्रहरीका ३१ अनुसन्धान अधिकृत तोएिका छन् । तर, राजनीतिक पहँुचका कारण सिंह खुलमखुला हिँडिरहदा पीडितहरु भने थप पिडा बोकेर बाँचिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार छ । फरार सूचीमा रहेकी सिंह खुल्ला रूपमा राजनीति गरिरहेको भएपनि सरकारको दबाबका कारण पक्राउ नगरेको मृतकका आफन्तले आरोप लगाउँदै आएका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले उक्त घटनाको मुख्य अभियूक्त भनिएका व्यक्तिलाई पक्राउ नगरिएसम्म सिंहलाई पक्राउ गर्न नमिल्ने बताउछन् । अदालतको आदेशपछि सिंह माथीको अनुसन्धान कता पुग्यो भन्ने प्रश्नमा प्रवक्ता शाहीले भने, ‘अनुसन्धान कतै पुगेको छैन, अदालतले पक्राउ पुर्जि दियो, सुरुमा जसको नाममा जाहेरी आएको थियो त्यसको मुख्य प्रतिवादी भारतमा छ, उसलाई हामी खोज्दै छौं, घटनामा संलग्न मुख्य व्यक्ति नै नआएपछि अनुसन्धान अगाडि बढ्ने कुरा पनि त भएन ।’

पीडितले घटनामा खुकुरी प्रहार गरेको भनि किटानी गरेको मुख्य आरोपीमाथी अनुसन्धान गरी सत्यतथ्य बाहिर नआई पक्राउ गरिनु अनर्थ हुने शाहीले बताए । भुटानी सरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलाई पक्राउ गरेर चर्चा कमाएका प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिंहलाई संरक्षण दिएका छन् ।

चर्चित सुन काण्डमा जोडिएपछि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बचाउमा लागेको सरकारले सिंहलाई पनि संरक्षण गरेपछि प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस रुष्ट देखिन्छ । विभिन्न आरोप लागेका आफ्ना माथिल्ला ओहोदाका नेताहरुलाई भटाभट पक्राउ गर्ने तर, आफ्नालाई बचाउने माओवादी परिपाटीले कांग्रेसको ठुलो पंक्ति प्रचण्ड सरकारसँग सन्तुष्ट छैन ।

प्रचण्ड र गृहमन्त्रीको कार्यशैलीलाई लिएर कांग्रेसभित्रको शक्ति संघर्षका कारण प्रचण्ड नेतृत्वको सरकार कै दिनगन्ती सुरु भई सकेको चर्चा हुन थालेको छ । सुरुदेखि नै प्रचण्ड सरकारको खिलाफमा रहेको कांग्रेसको संस्थापनइतर समूहमा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने बालकृष्ण खाँण पनि मिसिएपछि त्यसले देउवालाई नै अफ्ठेरो पारेको छ ।

खासगरी, भुटानी शरणार्थी प्रकरणमा केही समय जेल बसेर निस्किएपछि खाँण सरकार र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति सकारात्मक छैनन् । खाँणले सके सरकारै ढाल्ने नसके पनि गृहमन्त्री फेर्ने लबिङ देउवासँग गरिरहेका छन् । तर, देउवाबाट ग्रिन सिग्नल नपाएपछि खाँण अहिले संस्थापनइतर समूहमा पुगेका छन् ।

पहँुचमा हुनेलाई पक्राउ गर्न डराउछ प्रहरी
कुनै पनि अपराधमा संलग्न व्यक्तिमाथी परेको किटानी जाहेरीका आधारमा अदालतबाट पक्राउ पूर्जि जारी भएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्नुपर्ने हुन्छ । तर, राजनीतिक पहुँच भएका ठुलाबडालाई प्रहरीले सहजै पक्राउ गर्दैन । प्रहरीले नेपालमा नै रहेकाहरूलाई खोजी गरेर पक्राउ गर्छ भने अपराध गरेर विदेश भागेकाहरूको हकमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गर्छ । तर, ठूला अपराधमा संलग्न भएर पनि राजनीतिक पहुँचमा रहेकाहरूलाई पक्राउ गर्न भने प्रहरी तर्किने गरेको छ ।

राजनीतिक पहुँचमा भएका व्यक्तिहरू सार्वजनिक कार्यक्रममा देखिइरहे पनि प्रहरीले भने उनीहरूलाई फरार सूचीमा राख्ने गरेको छ । अझ कतिपय आरोपीहरू भने प्रधानमन्त्री, मन्त्रीसँग देखिन्छन् तर प्रहरी उनीहरूलाई पक्राउ गर्न सक्दैन । जसका केही उदाहरणहरु हेरौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्व गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक थापालाई प्रहरीले हालसम्म पनि पक्राउ गर्न सकेको छैन । तत्कालिन गृहमन्त्री थापाका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतिक पनि उक्त घटनामा संलग्न रहेको प्रमाण भेटिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

इन्द्रजित राईका छोरा निरज राई पनि यही प्रकरणमा फरार छन् । उनीविरुद्ध पनि वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो । तर, १० महिना बित्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । त्यस्तै, ६० किलो सुन तस्करी प्रकरणमा २९ जनामध्ये जीवन चलाउने, अमला रोका र भोला साह सोनारगरी ३ जनालाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग विवाह गरेकी अमलाको सम्बन्ध माओवादीका शीर्ष नेतासँग जोडिएपछि प्रहरी निरिह बनिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन तस्करीमा संलग्न १२ जनालाई प्रहरीले अहिलेसम्म पनि भेट्न सकेको छैन ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई) लगायतले बचतकर्ताको एक अर्ब ३५ करोड ५३ लाखभन्दा बढी रकम खाएर बेपत्ता भएका छन् । पूर्वअध्यक्ष भूपेन्द्र राई र हालका अध्यक्ष एवं व्यवस्थापक थानबहादुर बुढामगर कास्की प्रहरीले फरार सुचिमा राखेको छ । राईले देशका विभिन्न शहरमा सहकारीको नेटवर्क बनाइ लाखौँ बचतकर्तालाई बिचल्लीमा पारेका छन् ।

पहुँचवाला अभियूक्त नदेखे झै गर्छ प्रहरी

YUGAAWHAN NATIONAL DAILY (2080-10-13)

पहुँचवाला अभियूक्त नदेखे झै गर्छ प्रहरी

सम्पादकीय :महावीरको महाअभियानलाई सलाम !