‘आँखा शिविर पछि बल्ल आँखा खुल्यो’


जुम्लाको पातारासी गाउँपालिका –७ रिनी गाउँका ७१ वर्षिय वृद्ध कालिबहादुर खड्का भन्छन्,‘एक वर्ष भयो आखाँ देख्न छोडेको’ लठ्ठीको सहारामा भित्र बाहिर गर्ने गरेको छु ।’ बल्ल आज घरदैलोमै आएको शिविरबाट राहत पाएँ ।

खड्कालाई आँखाले समेत साथ छोडेपछि नरकीय जीवन जिउनु परेको थियोे । बृद्धले घर आगनमा आँखाको शल्यक्रिया गरेपछि संसार देख्न सक्छौं भन्ने कुरामा ढुक्क भएको बताउँछन् ।

आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन समस्या हुने गरेको छ । गाउँघरमा नै सञ्चालन हुने शिविर उनीहरूका लागि वरदान सावित हुने गरेको छ । जुम्लाको सदरमुकाम खलंगामा अवस्थित नेपाल नेत्र ज्योति सङ्घ आँखा चन्दननाथ आँखा अस्पतालले तिन दिने आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन ग¥यो । सो शिविरमा एक सय जनाले आँखाको शल्यक्रिया गराए ।

पहिलो दिन ३७, दोस्रो दिन ३८ र अन्तिममा दिन २५ जनाको शल्यक्रिया गरिएको थियोे । उनीहरूले वर्षौँदेखिको समस्या गाउँमै समाधान भएकामा खुसीसमेत व्यक्त गरे । ७७ वर्षीया तिला –४ का वीर बहादुर शाहीले आँखामा देखिएको समस्या समाधानका लागि शल्यक्रिया गराए । सदरमुकाममै उपचार पाएपछि उनले भने, ‘धेरै वर्ष भएको थियो आँखामा समस्या देखिएको, आर्थिक अवस्थाका कारण बाहिर गएर उपचार गराउन पनि पाएको थिइन, तर अहिले आफ्नो नजिकैको बजारमै उपचार पाएर स्पष्ट आँखा देख्ने भएको छु ।’

उनी मात्र होइन सोही शिविरमा –६१ वर्षका लालसिंह बोहोराले पनि शल्यक्रिया गराए । उनी पनि वृद्ध उमेरमा आँखा स्पष्ट देख्न पाएकामा खुसी छन् । ग्रामीण भेगमा बसोबास गर्ने नागरिक सामान्य आँखा जाँच गर्ने सुविधासमेत नहुँदा वर्षौँदेखि सास्ती खेप्न बाध्य छन् । आँखामा समस्या आए पनि कतिपयले त अन्यत्र अस्पतालमा जान झन्झट र आर्थिक समस्याले रोगसँग लडिरहने गरेको नेपाल नेत्र ज्योति संघ जुम्लाका सभापति जगदीश चौलागाईले बताए ।

यस्तै छिमेकी जिल्ला कालिकोटका– ८२ वर्षीय मीन बहादुर शाही आँखामा समस्या हुँदाहुँदै पनि अस्पताल आउनजान र आर्थिक अभावले समस्यासँग जुँधिरहेका थिए, तर शिविरमा शल्यक्रिया गरापछि स्पष्ट आँखा देख्ने भए । तीन दिने सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, बालबालिकालाई ठूलो राहत मिलेको छ । ‘गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, विपन्नको बसोबास हुन्छ, उनीहरूलाई स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्, यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुगेको छ’, उनले भने ।

नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै जुम्ला बेलाबखतका सरोकोरावालासँग समन्वय गरी आँखा शिविर सञ्चालन हुँदै आएको सभापति जगदीशले बताए । जुम्लाको कनाकासुन्दरी गाउँपालिकाको मन्जाउमा,सिंजा नराकोट,हिमाको कालिखेतु र पातारासी गाउँपालिकाको लासीमा आँखा उपचार उप केन्द्र संचालित छन् । भने तिला र तातोपानी गाउँपालिका बाकी छन्।नेपाल नेत्र ज्योति संघ जुम्लाको आयोजना,रिडले आई फाउन्डेसन नेपालको आयोजना र नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोगमा सञ्चालन भएको तिनदिने आँखा शिविरमा ६ सय ११ जनाले उपचार गराएको आई वर्कर दलबहादुर महताराले बताए ।

शिविरमा नेत्र विशेषज्ञ डा डाक्टर हेमचन्द्र झा लगायतको टोलीले शल्यक्र्रिया गरेको थियो । गत चैत संचालन गरिएको शिविरमा १ सय २८ जनाको शल्यक्रिया गरिएको थियो ।

‘आँखा शिविर पछि बल्ल आँखा खुल्यो’

सिम्तामा प्रारम्भिक कक्षा शिक्षकलाई पाँच दिनेको तालिम

‘आँखा शिविर पछि बल्ल आँखा खुल्यो’

‘खर्क’ व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली