‘ड्रयागन फ्रुट’ खेतीमा रमाएका राना

विक्रम बुढा क्षेत्री ।
कृषिमा क्रान्ति गर्न सकिन्छ भन्ने उदाहरण नेपालका धेरै स्थानमा देखिन्छ । यस्तै एउटा उदाहरण छ, बाँकेको जानकी गाउँपालिका–४, खजुराखुर्दमा । खजुराखुर्दमा स्थानीय कमल रानाले गरेको ड्रयागन फ्रुट खेती लोभलाग्दो देखिन्छ । उनले गरेको मेहेनत पनि ड्रयागन फ्रुट खेतीमा देखिन्छ ।

देशमा एकातिर कमाउन भनेर खाडीलगायतका मुलुकमा देशको क्षमतावान जनशक्ति विदेशिन बाध्य भइरहेका बेला रानाले गरेको ड्रयागन फ्रुट खेतीले त्यस्ता युवालाई लोभ्याउन मद्यत पु¥याउने देखिन्छ । फलफूलको खपत भारतबाट हुने र स्थानीय उत्पादन सकिँदै गएकाले आफूले केही गर्नुपर्छ भनेर ड्रयागन फ्रुट खेती सुरु गरेको रानाको भनाइ छ ।

रानाले ‘स्मृति ड्राइगन फ्रुट तथा कृषि फर्म’का नामबाट ड्रयागन फ्रुट खेती सुरु गरेको तीन वर्ष भयो । सुरुमा १० कट्ठामा व्यवसायीक रुपमा नै ड्रयागन खेती गर्ने भनेर रानाले ५ सय पिलरसहितको खेतको चारैतिर बाउण्डरी लगाए । प्रति बिरुवा ३ सय रुपैया लिरेर रानाले ड्रयागन फ्रुट खेती सुरु गरेका हुन् । रानाका अनुसार करिब २२ लाख रुपैयाँ उनले ड्रयागन फ्रुट खेती सुरु गरेका हुन् । ड्रयागन फल्न थालेपछि हालसम्म २० क्वीन्टलभन्दा बढी ड्रयागन फ्रुट बिक्री गरिसकेको राना बताउँछन् ।

रानाले गत वर्ष करिब ५ क्वीन्टल ड्रयागन फ्रुट बिक्री गरेका थिए भने यो वर्ष १५ क्वीन्टलभन्दा बढी ड्रयागन फ्रुट बिक्री भई सकेको छ । राना आफ्नो उत्पादन बिचौलीलाई बिक्री गर्दैनन् । उनी आफ्नै खेतबाट खुर्दा ४ सय रुपैयाँ प्रतिकिलो ड्रयागन फ्रुट बिक्री गर्ने गर्छन् ।

‘यति दुःख गरेर ड्रयागन फ्रुट फलाउनु परेको छ । अनी यहिँ ड्रयागन फ्रुट बिचौलीहरुले हामीसँग ४ सयमा किनेर बजारमा ६ सय, ७ सय रुपैयाँमा बिक्री गर्छन् । त्यसैले सबैलाई मै खुद्रामा नै बिक्री गर्छु तर बिचौलीलाई भने बिक्री गर्दिन्,’ राना भन्छन् ।

नेपालको परिवेशमा बिदेशी फलफुलले नै बजार कब्जा गरेको देखिन्छ । भारतीय फल नेपालका बजारमा सस्तोमा पाइने बाधाका बीच रानाले चुनौती मोल्दै ड्रयागन खेती गरेको सुनाउँछन् । त्यसैले स्वदेशी उत्पादन बिक्रीमा समस्या छ, त्यसकारण बाहिरको उत्पादन रोक्नुपर्ने रानाको तर्क छ ।

रानाको अनुभवमा ड्रयागन फ्रुटको खेती एकपटक लगाएपछि १५ देखि २० वर्षसम्म फल दिने गर्छ । बैशाखदेखि कार्तिक अन्तिमसम्म फल लाग्छ । चिसो सुरु हुने बेला भने हुँदैन ।

रानाले गरेको ड्रयागन फ्रुटको खेतीमा एकवटा फल ७ ग्रामसम्म हुने गरेको छ भने एउटा बिरुवामा करिब १५ किलोसम्म ड्रयागन फ्रुट फलेको उनी सुनाउँछन् । राना भन्छन्,‘पहिलोपटक यसको खेती गर्न चाहने किसानलाई गाह्रो भए पनि पानी धेरै नचाहिने भएकाले सहज तरिकाले यसको खेती गर्न सकिन्छ । तर सधैजसो सफा चाही गर्नु पर्छ ।’ यसलाई आम्दनीको राम्रो स्रोत बनाउन सकिने राना बताउँछन् ।

रानाले ड्रयागन फ्रुट खेतीमार्फत रोजगारी पनि सिर्जना गरेका छन् । उनीसँग मासिकरुपमा काम गर्ने कामदार नभए पनि दैनिक ज्यालादारीका रुपमा ३/४ लाई रोजगारी प्रदान गरेका छन् । ‘हामीले जाडो महिनाबाहेक अरु सबै समयमा काम गर्ने कामदार चाहिन्छ । दैनिक ६ सय र नास्ता दिने गरेको छु । तर पनि कामदार पाउनै मुस्किल छ,’ राना भन्छन्,‘सरकारले तोकेको ज्यालाभन्दा धेरै दिदा पनि कामदार भेट्न गाह्रो छ ।’

ड्रयागन खेती बढाउने योजना तर छैन सरकारको साथ

राना ड्रयागन फ्रुट खेतीसँगै कागतीको पनि खेती सुरु गरेका छन् भने यो वर्षदेखि ड्रयागन फ्रुटको बिरुवा समेत उत्पादन गर्ने योजनामा रहेको उनी बताउँछन् । रानाका अनुसार प्रति ड्रयागन फ्रुटको बिरुवाबाट ५ देखि १५ वटासम्म बिरुवा निकाल्न मिल्छ । तर उनी सकेसम्म कम मूल्यामा ड्रयागन फ्रुटको बिरुवा बिक्री गर्ने बताउँछन् ।

‘अरुले जस्तो धेरै महंगो गर्दिन म । अहिले एउटा बिरुवाको मूल्य १ सय रुपैयाँ राख्ने सोचेको छु । भएसम्म मलाई घाटा नलागे त्योभन्दा पनि कम मूल्यमा बिक्री गर्ने सोच पनि छ,’ राना भन्छन् ।

यसका अलवा राना ड्रयागन फ्रुट खेती बढाउने योजनामा छन् । उनले अघिल्लो वर्ष नै ड्रयागन फ्रुट खेती १ बिघा क्षेत्रफलमा फैलाउने योजना बनाएका थिए । तर उनको योजना अहिले स्थगीत भएको छ । कारण ‘कसैले पनि साथ दिदैनन्,’ राना भन्छन् ।

रानाले हालसम्म वडा कार्यालय, जानकी गाउँपालिकादेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासम्म सहयोग तथा अनुदानका लागि दोडधुप गरिसके तर हालसम्म कतैबाट केही पनि सहयोग तथा अनुदान नपाएको उनी गुनासो गर्छन् ।

‘अरु त कुरै छाडम प्रधानमन्त्री कृषि आधुनिकीकरणमा किसानहरुलाई मोटर पम्प दिने भनेर सूचना निकालेको रहेछ,’ राना भन्छन्, ‘मैले पनि निवेदन दिए । तर मलाई तपाईको व्यक्तिगत फर्म हो भनेर क्यान्सिल गरिदिए । धान लगाउने किसानलाई भने दिए ।’ तर पनि राना हास्दै भन्छन्,‘मलाई ड्रयागन फ्रुट खेती धेरै रमाइलो लाग्यो । अरुलाई पनि ड्रयागन फ्रुट खेती गर्न म सुझाव दिन्छुु ।’

खजुराखुर्दकै स्थानीय पारस सुनार रानाको ड्रयागन खेती देखेर खुशी छन् । उनी पनि रानालाई सरकारले सहयोग गर्नुपर्ने बताउँछन् ।

‘ड्रयागन फ्रुट’ खेतीमा रमाएका राना

‘योजना निर्माण र कार्यान्वयनमा स्वार्थपूर्ण निर्णय र

‘ड्रयागन फ्रुट’ खेतीमा रमाएका राना

बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले