मौसमी फेरबदलको चपेटामा किसान : उत्पादन घट्न थालेपछि मर्न थाल्यो जाँगर

पाँच वर्ष अघि सुर्खेतको गुर्भाकोट नगरपालिका–४, का कृषक जितबहादुर ओलीको बारिमा लटरम्म टमाटर फल्थ्यो । दुई वटा प्लाष्टिक टनेलबाट एक सिजनमा २३ क्वीन्टलसम्म टमाटर फलाउँथे ओली । सुरुका तीन÷चार वर्ष टमाटर खेतीबाट राम्रै आम्दानी गरेका ओलीको परिवार कृषि पेशामा आश्रित छ ।
‘पाँच वर्ष अघि दुई वटा प्लाष्टिक टनेलबाट मैले एक सिजनमा २३ क्वीन्टल टमाटर उत्पादन गरेर बजार पठाएको थिए’ कृषक ओली भन्छन्, ‘साउन महिनाको अन्तिम तिरबाट उत्पादन सुरु भएर फल दिन नछोडुन्जेल एक दाना ६ सय ग्रामसम्म फल्थ्यो ।’ तर, अहिले पहिलेको तुलनामा लगानी र मेहनत अनुसार उत्पादन हुन छाडेपछि ओलीले गत वर्षबाट टमाटर खेति नै बन्द गर्न बाध्य बनेका छन् ।
उती बेला सिंचाईको राम्रो प्रबन्ध थियो, स्थानीय जातको टमाटरले उत्पादन पनि राम्रो दिन थालेपछि ओली तरकारी खेतीप्रति उत्साहित थिए । ओलीको त्यो खुशी भने धेरै बर्ष टिक्न सकेन । ओलीको टमाटर खेती बन्द हुनुको प्रमुख कारण थियो टमाटरमा लाग्ने टुटा जातको किरा ।
‘सुरुमा रामै्र उत्पादन दिएको टमाटर अहिले मुस्किलले दुई तीन क्वीन्टल फल्न थाल्यो,’ उनी भन्छन्, ‘विभिन्न खाले नयाँ रोग तथा किराका कारणले अहिले मेहनत र लगानी अनुसार उत्पादन कम हुन छाडेपछि खेती नै गर्न छाडिदिएँ ।’ उक्त जातको किरा टमाटरमा देखा पर्न थालेपछि उनले उपचारका धेरै उपायहरु अपनाए तर, सफल हुन नसकेपछि खेति नै बन्द गरेको गुनासो गरे ।

उनको टमाटर खेती बन्द हुनुको अर्को कारण थियो सिंचाई । झण्डै एक सय बढी घरपरिवारको बसोबास रहेको बाघखोरमा सिंचाई मात्र होइन खानेपानीको पनि चरम अभाव छ । १० वर्ष अघि स्थानीय बगमारे खोलाको पानीबाट झण्डै ८० हेक्टर जग्गा सिंचित हुन्थ्यो । तर, अहिले खोलामा पानी सुकेपछि समयमै धानको बीउ राख्न नपाउने स्थिति रहेको ओलीले बताए । उक्त वडामा भएका अधिकांश खानेपानीका स्रोतहरु घट्दै गएका छन् तर, स्थानीयलाई के कारणले यसो भइरहेको छ भन्ने बारेमा केही जानकारी छैन ।
त्यस्तै, गुर्भाकोट नगरपालिका–१३, का किसान कुमिकला नेपालीले पनि ओली कै नियति भोगिरहेकी छन् । सिंचाईको अभावले खेतीबालीमा असर त परकै छ, स्वच्छ खानेपानीको उचित व्यवस्था नहुँदा महिनावारीका बेलामा उनले उत्तिकै समस्या झेलिरहेकी छन् । झण्डै ३५ बर्ष अघि निर्माण भएको गुमी खानेपानीबाट पाँच बर्षअघिसम्म २४ सै घण्टा धारामा पानी भरेकी नेपाली अहिले भने अभाव झेलिरहेको गुनासो गर्छिन ।
यति मात्रै होइन पानी कै अभावका कारण स्थानीय स्वास्थ्य संस्थामा प्रसुति सेवा लिन गएका महिलाहरुलाई मेहेलकुना अस्पताल लैजानु पर्ने बाध्यतासमेत झेल्नु परेको उनले बताइन् । वडामा विकासका नाममा जथाभावी खनिएका सडकले खानेपानीका स्रोतहरु सुक्दा समस्या भएको बताउँछिन नेपाली । उल्लेखित पात्रहरु पछिल्लो समय मौसममा आइरहेको फेरबदलको असरले पानीको अभाव भान्सादेखि खेतबारीसम्म झेलिरहेका किसानका प्रतिनिधि हुन् ।
पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिका कृषि उत्पादनका हिसाव राम्रो सम्भावना बोकेको क्षेत्र हो । यहाँका अधिकांश मानिसहरु कुनै न कुनै कृषि पेशामा आवद्ध छन् । कृषिमा आत्मनिर्भर रहेको यो क्षेत्रका किसान भने केही दशक यता लामो खडेरीका कारण समस्यामा पर्न थालेका छन् । लामो समयको खडेरीले बालीमा फल नलाग्ने, जंगली जनावरको आतङ्क, जलवायु अनुकल खेती प्रविधिको ज्ञान अभाव, नयाँ प्रजातिका रोग तथा किराको प्रकोपले अधिकांश किसानले खेतीपातीमा जागर नै मार्न थालेका छन् ।
खानेपानी कै कारण सरयो बस्ती
गुर्भाकोट नगरपालिका–२, ओर्दी कि डिलकुमारी थापा आफूले खाइपाई आएको पुरानै थलोमा फर्कन चाहन्छिन् । उनको वडा नम्बर १ मा उर्वर खेतियोग्य जग्गा छ । तर, उनलाई गाउँ फर्किन खानेपानीले रोकेको छ । खानेपानीका स्रोतहरु कम भएपनि जसोतसो जोहो गर्ने वडा नम्बर १ को राम्रीकाँडा, दह र फलाटेका स्थानीयहरु भने पानीको चरम संकटकै कारण पूर्ण विस्थापित हुने चरणमा पुगेका छन् ।
सुरुमा झण्डै तीन सय ४५ बढी घरपरिवारको बसोबास रहेको उक्त क्षेत्रमा हाल करिव दुई सय जतिको मात्र बसोबास रहेको छ । अधिकांश स्थानीय वडा नम्बर २ को ओर्दी सरेका छन् भने कतिपय तराई झरेका छन् । अधिकांश जग्गामा माओवादी झार उम्रिएको छ ।
पानीको संकट चुलिएपछि बसाई सरेका अर्का स्थानीय खगेन्द्र भण्डारीको ४५ रोपनी जग्गा बाँझै छ । पानीको अभावसँगै जंगली जनावर बाँदर, बदेल, खरायो, दुम्सीले बालीनाली भित्र्याउनै नदिने भएपछि उर्वर जमिन छाडेर विस्थापित हुनु परेको भण्डारी बताउँछन् । पानीको वैकल्पिक व्यवस्थापन र वन्यजन्तुको आतङक रोक्ने संयत्र बने पुनः आफू गाउँ फर्कन चाहेको उनले बताए ।
बालीमा देखिन थाले नयाँ रोग र किरा
मौसममा परिवर्तन आएसँगै स्थानीय कृषि बालीहरुमा विभिन्न खाले नयाँ रोग तथा किराहरुको प्रकोप बढ्दै जान थालको छ । प्रमुख खाद्यबाली धान, गहुँ, मकै लगायतका बालीहरुमा नयाँ प्रजातिका रोग तथा किराहरुका कारण उत्पादनमा समस्या देखा पर्न थालेको गुर्भाकोट नगरपालिकाको कृषि शाखाका अधिकृत नवराज थापा बताउँछन् ।
समयमा पानी नपर्ने, परे पनि अत्याधिक वर्षा हुने, खेतिबालीमा नयाँ खालका रोग तथा किराहरु देखा पर्न थालेपछि चुनौति थपिदै गएको थापा बताउँछन् । जसले कृषि उत्पादन घटन् थालेको छ भने, बाढी, पहिरो र भुक्षय लगायतका विपद्का घटनामा बृद्धि हुँदै जान थालेको उनले बताए ।
विशेष गरी मकैमा फौजि किरा, धान र गहुँमा कालो रोग देखिने गरेको थापाले बताए । धानमा उन्नत जातको भन्दा पनि हाइब्रिडमा बढी रोग देखिने गरेको छ भने, तरकारीमा टुटा जातको किरा बढी देखिने गरेको उनले बताए ।
नगर क्षेत्रमा मौसमी बदलाव अनुसारका कृषि बालीहरु लगाउन अनुरोध गरिएको भए पनि सिंचाई नहुनुले उत्पादनमा असर पर्दै जान थालेको उनले बताए । कृषकहरुलाई जलवायु अनुकुलन हुने खालका बालीहरु लगाउन नगरपालिकाले अनुरोध गर्दै आएको उनको भनाई छ । कुल ६ हजार हेक्टर कृषियूक्त जमिन रहेको गुर्भाकोटमा झण्डै पाँच हजार चार हेक्टर क्षेत्रफमा खेति हुँदै आएको थापाको भनाई छ ।
‘जलवायु अनुकुलनका बालीमा जोड दिएका छौं’
गुर्भाकोट नगरपालिकाका कार्यवहाक नगर प्रमुख बासुदेव शर्माले किसानलाई जलवायु अनुकुलन अनुसारका बाली लगाउनतर्फ प्रेरित गरिरहेको बताए । शनिबार मित्र समाज काठमाण्डौंको आयोजनामा गुर्भाकोट नगरपालिकामा आयोजित जैविक विविधता र वातावरण विषयक सरोकारवाला निकायसँगको छलफलमा शर्माले मौसममा आएको बदलावको असरसँग लड्ने खालका बीउहरु छनौट गर्नुपर्ने बताए ।
लामो खडेरीका कारण सिंचाईको असुविधा बढ्दै गएको उल्लेख गर्दै उनले नगरपालिका यसमा सजग रहेको बताए । सिंचाई योजना सञ्चालन गर्न ठुलो लगानी आवश्यक रहेको भन्दै नगरपालिकासँग स्रोत अभाव ठुलो चुनौती रहेको उनले बताए । स्रोत अनुसार नगरपालिकाले कृषिमा लगानी बढाउन नसकेको उल्लेख गर्दै थोरै भएपनि कृषि क्षेत्रको प्रवद्र्धनमा नगरपालिकाले विशेष ध्यान दिएर अघि बढेको शर्माले बताए ।






