खानेकुरामा घातक विषादीको प्रयोग गरी चोरी गर्ने दुई पक्राउ


गत असोज १६ गते कोहलपुर नगरपालिका–११ स्थित नयाँ बसपार्कबाट खानेकुरामा घातक विषादीको प्रयोग गरी चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विषेश अनुसन्धानपश्चात उनीहरूलाई पोखरा र तनहुँबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ अमलाचौरकी सञ्जु कोइराला र देवघाट गाउँपालिका–५ तनहुँका कालु परियार रहेका छन् । उनीहरूलाई स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । परियारलाई असोज ३० गते देवघाटस्थित क्षेत्री टोलबाट र कोइरालालाई उनकै घर पोखराबाट कात्तिक १ गते पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार गत असोज १६ गते कोइराला र परियारले कोहलपुर नयाँ बसपार्कस्थित न्यु रारा कर्णाली होटलबाट होटल सञ्चालककी आमा पार्वती उपाध्याय र उनका दुई नातिनीलाई विश्वासमा पारी फ्रुटीमा घातक विषादी मिसाएर खुवाएका थिए । विषादीयुक्त जुस पिएपछि उनीहरू बेहोस भएका थिए ।
त्यही मौकामा कोइराला र परियार उनीहरूले नाक, कान र घाँटीमा लगाएको तीन तोला एक आना सुन, नगद ३० हजार र जिन्सी सामान चोरेर फरार भएका थिए । बास बस्ने बहानामा उनीहरूले होटल सञ्चालककी आमालाई प्रभावमा पारी सो चोरी गर्न सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको परियारको साथबाट बेहोस पार्न प्रयोग गरिने १७ थान लोराजिपाम आईंपी २ एमजी ट्याब्लेटसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउपश्चात दुवैजनालाई कोहलपुर ल्याएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
ज्यानमार्ने र चोरी कसुरमा जिल्ला अदालत बाँकेबाट परियारलाई ७ दिन र कोइरालालाई ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक नवीनप्रकाश चापागाईंले जानकारी दिए ।






