जुनिचाँदेबासी अझै तुइनको भरमा


सरकारले तुइनमुक्त गर्ने भन्दै उदघोष गरेको लामै समय भयो । जाजरकोटको पश्चिम क्षेत्रमा भने अझै तुइनकै भरमा यात्रा गर्न बाध्य भएको अवस्था छ । जुनिचाँदे गाउँपालिका–४ र छेडागाड नगरपालिका–६ को बीचमा रहेको लोडनी नजिकै कालेखोलामा पुल निर्माण नहुँदा यहाँका स्थानीयबासी तुइनकै भरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

छेडाचाँदे–जुम्ला सडक खण्डमा पक्की पुल निर्माण नभएपछि यस क्षेत्रका स्थानीयबासीको तुइन यात्रा अझै रोकिएको छैन । सडक डिभिजन चौरजहारीले चार वर्षअघि लगाएको पुलको ठेक्काको काम सुरु नै नहुँदा यस क्षेत्रका स्थानीयबासी अझै कति समयसम्म तुइन यात्रा गर्नुपर्ने हो थाहा नभएको जुनिचाँदे गाउँपालिका–४ लुहादहका रेशमबहादुर खडकाले जानकारी दिए ।

कालेखोलामा (नरमरा) वारपार गर्न स्थानीयले दैनिक एक सय रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । पुल निर्माण गर्ने जिम्मेवारी लिएको निर्माण व्यवसायीले समयमै काम नगर्दा जाजरकोटको छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–४ को बीचमा रहेको कालेखोलामा तुइनको यात्रा अझै कति लम्बिने हो कसैलाई थाहा हुन नसकेको खडकाले बताए ।

२०७८ मा पुल निर्माणका लागि जय वागेश्वरी कन्स्ट्रक्सन बाँकेसँग सडक डिभिजन चौरजहारीले पुल निर्माणका लागि सम्झौता गरेको थियो । निर्माण व्यवसायी यज्ञ खत्रीले ६ जना सहायक निर्माण व्यवसायीलाई उक्त पुल निर्माणको जिम्मा लगाई हालसम्म कामको प्रगति शून्य रहँदा यहाँका स्थानीयबासी समस्या खेप्दै आएका छन् । २४ महिनाभित्र पुल निर्माण गरेर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्लेख छ । पेश्की स्वरुप एक करोड ३५ लाख रुपैयाँ लिएका निर्माण व्यवसायीले काम भने अगाडि बढाएका छैनन् ।

भेरी करिडोरबाट छेडा–चाँदे हुँदै जुम्ला जोडने सडकको बीचमा रहेको यो खोलामा वर्षेनी खोलाले बगाएर स्थानीयबासीको ज्यान जाने गरेको छ । पुल निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायीले तोकिएको समयमा काम नगर्दा हैरानी खेप्नुपरेको आरोप लाग्दै आएको छ । छेडागाड नगरपालिका–६ का मानबहादुर थापाले तुइन निर्माण गरेर अहिले यो खोलामा दैनिक सेवा दिइरहेका छन् । वर्षायाममा यो तुइनमार्फत् यहाँका सर्वसाधारण खोला तर्ने र दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन् ।

हिउँदयाममा खोलामा पानीको मात्रा कम भएपछि खोलामै जबरजस्त सवारीसाधन चलाएर खोला पार हुने गरेको छ । तुइनबाट खोला तरेर प्रतिव्यक्ति एक सय रुपैयाँ तिर्नुपर्ने बाध्यता रहको स्थानीयबासी खड्काले बताए । यत्ता सडक डिभिजन चौरजहारीले भने ताकेता गरिरहेको बताएको छ । झोलुंगे पुलसमेत नहुँदा यहाँका सर्वसाधारण समस्यामा पर्दै आएका छन् । पश्चिम क्षेत्रबाट निर्वाचित राजीवविक्रम शाहले पुल निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई काम गर्न दबाब नदिएको आरोप लाग्दै आएको छ ।

पुलको विषयमा प्रतिक्रिया लिन खोज्दा निर्माण व्यवसायीसँग पटकपटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेको छैन । आफूहरूले निर्माण व्यवसायीसँग छलफल गरेर धेरै काम अगाडि बढिसकेको सडक डिभिजन चौरजहारीका प्रमुख इन्जिनियर तेजस्वी शर्माले बताए । ‘अहिले कामको प्रगति भएको छ, एकातर्फको पिल्लर नै उठाइसकेको छ,’ उनले भने । उनले थपे छेडा–चाँदे सडक निर्माण गर्नका लागि पहलकदमी भइरहेको अवस्था छ ।

पश्चिममा रहेका छेडा बडावन, सानाखोला चाँदे टोप्ला सडक र चङखिला सानाखोला हुँदै जुनि सडकको स्तरोन्नति गर्नका लागि अघिल्लो वर्ष भारी पहल गरे पनि बजेट अभावमा काम हुन सकेको थिएन । यो वर्ष सोही सडक निर्माणका लागि प्रयास भइरहेको छ । अहिले यही निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्य राजीवविक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री भए पनि सडकका विषयमा कुनै चाँसो नदिएको स्थानीयबासीको आरोप लाग्दै आएको छ । चुनावको समयमा राजनीतिक एजेण्डा भएका यी सडक हाल आएर तिरस्कृत भएको पाइएको छ ।

जुनिचाँदे गाउँपालिकामा सबै ठाउँमा जान र आउ सबैभन्दा समस्या भएको पाइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर परियारले आन्तरिक सडक अधिकांश खुले पनि नरमारामा समयमा पुल निर्माण नहुँदा लुहादह अर्थात् खोला पारिको भागमा सडक मर्मत गर्न नसकिएको बताए । पुल निर्माण गर्ने निर्माण व्यवसायीले काममा तीव्रता दिनका लागि पहल सुरु गरिएको बताए । आफू आएको महिना दिन पनि नपुगेका कारण सबै काम लयमा ल्याउने प्रयास भइरहेको उनले दाबी गरे ।

जुनिचाँदेबासी अझै तुइनको भरमा

फुकोट हाइड्रोको काम रोकियो

जुनिचाँदेबासी अझै तुइनको भरमा

जुम्लाका २५ वडामा पुग्यो राष्ट्रिय प्रसारण लाइन