सम्पादकीय: उर्जा विकासमा सकारात्मक सन्देश

कर्णाली उर्जा उत्पादनका हिसावले देशमै अग्रणी भुमिकामा छ । यहाँका साना ठुला नदी तथा खोलहरुबाट १८ हजार मेगावाट बढी विजुली निकाल्न सकिने सम्भावना रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । प्राकृतिक स्रोत साधनले भरिपूर्ण कर्णाली आफैमा वैभवशाली भुमि हो । राज्यको हेपाहा दृष्टिकोणले प्रकृतिले दिएको स्रोतको उचित फाइदा कर्णालीले अझै पनि लिन सकेको छन् । कर्णालीका नदी नालामा सदाबहार बगिरहेको पानीको सदुपयोग मात्र गर्न सके कर्णालीलाई विकासको मुलधारमा ल्याउन राज्यले धेर सारो मेहनत गर्नुपर्ने छैन् । मात्र आवश्यकता कर्णालीमा उर्जा विकासका लागि अध्ययन भएका आयोजनाहरु समयमै समन्न गराउँनतर्फ ध्यान केन्द्रित गरिदिए मात्रै पुग्छ ।

कर्णाली प्रदेशमा हालसम्म कुनै पनि ठूला जलविद्युत आयोजनाहरु सञ्चालनमा छैनन् । केही ठूला र महत्वपूर्ण जलविद्युत आयोजना भने निर्माणाधीन अवस्थामा छन् । निर्माणको चरणमा प्रवेश गरेका यी आयोजनाले कर्णालीमा विस्तारै उर्जा विकासको युग सुरु हुँदैछ भन्ने सकारात्मक सन्देश दिइरहेका छन् भन्दा फरक नपर्ला । आयोजना कार्यान्वयनको चरणमा जाँदा स्थानीय स्तरमा रोजगारी सिर्जना, स्थानीय बासिन्दाहरुको दक्षता तथा क्षमतामा वृद्धि, स्थानीय स्तरमा उत्पादन हुने उपजहरुको बजराीकरण विस्तारै सुरु हुँदैछ । यी आयोजना सम्पन्न भएमा यसको पहिलो लाभ कर्णालीले लिनेछ । यसका साथै यसको समर्ग लाभ राज्यलाई प्राप्त हुनेमा दुई मत छैन । यी आयोजनाबाट उर्जाको उत्पादन, ग्रामीण विद्युतिकरणका अवसरहरु, ग्रामीण अर्थतन्त्रमा सुधार, स्थानीय पर्यटन विकासका अवसर तथा स्थानीयलाई शेयर लगानीको अवसर खुल्ने निश्चि छ । जलविद्युतको उत्पादन बृद्धि गरी उर्जाको निरन्तर बढ्दो माग पूरा गर्न र विदेशबाट आयात गरिने विद्युतलाई प्रतिस्थापनमा गर्न कर्णालीले सघाउने छ । आयोजना निर्माण भई सञ्चालनमा आएमा कर्णालीको आन्तरिक विद्युतको माग परिपूर्ति हुनुका साथै बाँकी बिजुली छिमेकी देशहरुमा बिक्री गरी समष्टिगत रुपमा समग्र देशको आर्थिक उन्नतिमा टेवा पुग्नेछ ।

कर्णालीको उर्जा विकासमा छिमेकी देश भारत तथा अन्य मित्र राष्ट्रहरुले लगानी गर्न उत्सुकता देखाइरहेको छन् । यो हाम्रा लागि सकारात्मक विषय पनि हो । नेपाल एक्लैले कर्णालीका ठुला जलविद्युत आयोजनाहरु अगाडि बढाउन सक्ने अवस्था छैन । विदेशी लगानी बिना अगाडि बढाउन सम्भव नभएको अवस्थामा मित्र राष्ट्रहरुलाई लगानी गर्ने वातवरण मिलाउन सके लगानीका हिसावले ठुला भनिएका आयोजनाहरु सहजै सम्पन्न गर्न सकिन्छ । कुनै पनि आयोजनामा लगानी गर्नअघि लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा खोेजेको हुन्छ ।

कर्णालीमा दशकौं अघिदेखि निर्माणको चर्चा चलेका केही आयोजनामा स्वार्थ केन्द्रित व्यक्तिका गलत गतिविधिले लगानीकर्ता आवश्वस्त हुन नसकेको अवस्था छ । उर्जामा लगानी नगरेसम्म कर्णालीलाई विकासको मुलधारमा ल्याउन कठिन छ । लगानी सुनिश्चिता भएका आयोजनाहरु अगाडि बढाउनेक्रममा स्थानीयस्तरमा देखिने समस्या हल गर्न राज्यले विशेष ध्यान दिनुपर्छ । कतिपय आयोजनामा नीतिगत अल्झनका कारण समस्या छ । वर्षौअघि सुरु भएका कतिपय आयोजनाहरु जग्गा भोगाधिकार, रुख कटानको अनुमति लगायतका नीतिगत अल्झनका कारण देखिनेगरी प्रगति गर्न सकेका छैनन् ।

कर्णालीको उर्जामा लगानी गरेका र गर्न चाहने निर्माण कम्पनीहरुलाई जवाफदेही बनाउँदै समयमै आयोजना सम्पन्न गर्ने वातावरण राज्यले सिर्जना गरिदिनु पर्दछ । यसमा प्रदेश र स्थानीय सरकार तथा स्थानीयवासीको भुमिका पनि उत्तिकै छ । वास्तवमै भन्नु पर्दा सुनको सिरानी हालेर नुनको खोजिमा हिँडेको कर्णालीले प्राप्त गरेको प्राकृतिक स्रोत साधनबाट उचित लाभ लिन खोजिरहेको छ । कर्णालीको यही अपेक्षा र सपना पुरा गर्नतर्फ राज्यले सानो मात्रै प्रयास गरिदिएको खण्डमा कर्णालीले समर्ग देशको आर्थिक समृद्धिमा ठुलो टेवा पु¥याउने छ । यसतर्फ राज्यले सोच्न ढिला गरिरहेको छ ।

सम्पादकीय: उर्जा विकासमा सकारात्मक सन्देश

कर्णालीमा बढ्दै अख्तियार दुरुपयोगका मुद्दा, चालू आर्थिक

सम्पादकीय: उर्जा विकासमा सकारात्मक सन्देश

‘शी लिड्स आईकन’ मा अघि बढ्न सनसिल्तालाई