सम्पादकीय: गुणस्तरिय स्वास्थ्य सेवाबाट नागरिक बञ्चित नहुन्

कर्णाली प्रदेशको स्वास्थ्य सेवा अझै पनि अन्य प्रदेशमा निर्भर छ । दक्ष जनशक्ति र पूर्वाधार अभावसँगै अत्याधुनिक प्रविधिसहितको स्वास्थ्य सेवा अभाव कर्णालीले झेली रहेको छ । कर्णालीका ग्रामीण बस्तीहरुमा अझै पनि एक ट्याब्लेट सिटामोल पाउन मुस्किल जस्तै छ । जेनतेन धानिएको कर्णालीको स्वास्थ्य सेवा १० वटै जिल्लामा सुविधासम्पन्न अस्पताल विस्तार हुन नसके पनि प्रदेशको मुकाम सुर्खेतमा भने आश लाग्दा सुधारहरु भइरहेका छन् । सामान्य स्वास्थ्य चौकीबाट सुरु भएको कर्णाली प्रदेश अस्पताल आजका दिनसम्म आइपुग्दा सुविधा सम्पन्न बन्ने लयमा पुगेको छ ।
विशेष गरी संघीयता कार्यान्वयन पश्चात प्रदेशकोे मातहतमा आएको अस्पतालले समग्र कर्णालीको घाउमा मलम लगाउने प्रयास गरिरहेको छ । स्वास्थ्य सेवालाई थप विशिष्टिकृत गर्ने लक्ष्यका साथ अस्पताललाई प्रविधियूक्त बनाउन संघ, प्रदेश र स्वयंम अस्पतालले मेहनत गरिहरको छ । छाप्रोबाट सुरु भएको प्रदेश अस्पतालले देशमै नाम आउने गरी उपचार सेवा प्रवाह गरिरहेको पनि बेलाबेलामा दाबी गरिँदै आएको छ । यो कर्णालीका लागि उत्साहको विषय पनि हो । सामान्य बिरामी हुँदा ठुलो धनराशी खर्च गरेर नेपालगञ्जदेखि संघीय राजधानी काठमाण्डौं धाउनुपर्ने बाध्यतामा कर्णालीवासी छन् ।
संविधानले स्वास्थ्यलाई मौलिक हक अन्तर्गत राखेको छ । संविधानले व्यवस्था गरे अनुरुप राज्यले आफ्ना नागरिकलाई स्वस्थ राख्न विभिन्न संरचनागत सुधार गर्नुपर्ने हुन्छ । सोही बमोजिम संघीय सरकारको सहयोगमा अस्पतालले हालसालै अत्याधुनिक प्रविधिको म्याग्नेटिक रेजोनेन्स इमेजिङ्ग (एमआरआई) मेसिन सञ्चालनमा ल्याएको छ । ठुलो क्षमता र अत्याधुनिक प्रविधिसहितको एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि कर्णालीबासीलाई महँगो खर्च गरेर प्रदेश बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने अस्पतालको दाबी छ । प्रदेश अस्पतालमा यो प्रविधिबाट उपचार सेवा सुरु भएसँगै मानव शरीरमा रहेका पदार्थ एवं तत्वहरुको चुम्बकीय गुण प्रयोगमार्फत शरीरका विभिन्न अंग र भागहरुको चित्रण गरी विभिन्न रोग एवं अवस्थाहरुको यथेष्ट पहिचान गर्न सहज हुनेछ । हाल अस्पतालमा जडान गरिएका मेसिनभन्दा यो मेसिन तीन गुणा बढी क्षमताको छ ।
ठुलो क्षमता भएकाले यसबाट बिरामीको जाँच गर्न छिटो र स्तरिय हुन्छ । सामान्यतया एमआरआई गर्दा ३० मिनेट हाराहारी समय लाग्छ । तर अन्य मेसिनले ३० मिनेट लगाउँने बिरामीलाई यो मेसिनबाट झण्डै पाँच मिनेटमै एमआरआई गर्न सकिन्छ । त्यस्तै, यो अत्याधुनिक एमआरआई भएकाले बिरामीको रोग वा समस्या सजिलै र प्रष्टसँग पत्ता लगाउनसमेत सजिलो हुने अस्पतालले जनाएको छ । अत्याधुनिक एमआरआई प्रयोगमा आएसँगै सस्तो दरमा सेवा नागरिकले सेवा पाउने छन् । देशका अन्य अस्पतालमा एमआरआई सेवा लिएका बिरामीको रिपोर्ट आउन करिब एक हप्ता लाग्छ । तर प्रदेश अस्पतालमा जडान गरिएको यो मेसिनबाट एकै दिनमा रिपोर्ट दिन सकिन्छ । एमआरआई मुख्य रुपमा चिकित्सा विज्ञानमा विभिन्न रोग र अवस्थाहरुको निदान र चित्रणका लागि प्रयोग हुन्छ । मस्तिष्क, मेरुदण्ड, हाड जोर्नी तथा मांसपेशी, रक्तनलीहरु लगायत नरम तन्तुहरुको परिक्षण र चित्रणका लागि एमआरआई पहिलो रोजाईको प्रविधि हो । यसलाई विभिन्न खोज अनुसन्धानहरुमा पनि एमआरआई प्रयोग गरिन्छ ।
यसका अलवा अस्पतालले मृर्गौला प्रत्यारोपण सेवा पनि सुरु गरेको छ भने प्राणघातक रोग क्यान्सरको उपचार पनि विस्तार गर्ने प्रयास गरिरहेको छ । कर्णालीमा अव्यवस्थित खानपान र जीवनशैलीका कारण नसर्ने रोगका बिरामीहरु बढ्दै गइरहेका छन् । मृर्गौला प्रत्यारोपण सेवा सुरु भएसँगै यहाँका नागरिकलाई अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । क्यान्सर निदान र उपचार सेवा सञ्चालन भएको खण्डमा उपचारको अभावले ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य हुनेछ । यस्तो उपचार सेवालाई पनि प्रविधियूक्त बनाउन आवश्यक छ ।
जसले नागरिकमा अस्पतालको सेवाप्रति विश्वास बढोस् । अस्पतालमा सुविधा थपिँदै जाँदा नागरिकमा भने अझै अस्पतालप्रति पूर्ण विश्वस्त हुने अवस्था छैन । जसको पुष्टि बेलाबेलामा अस्पतालमा हुने बिरामीको मृत्युले निम्त्याउने विरोध तथा आन्दोलनले गर्दछन् । यसो हुन नदिन अस्पातले आफ्नो ध्यान केन्द्रित गर्न आवश्यक छ । अर्को कुरा नागरिकमा अस्पतालबाट पहँुचवालाले मात्रै उपचार पाउँछन् भन्ने गलत भाष्य परेको छ । अतः अस्पतालले यस्ता गलत भाष्यलाई चिर्न अग्रसर भई नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरिय उपचार सेवा प्राप्त हुनेमा विश्वस्ततर्फ अस्पतालले ध्यान पु¥याउन जरुरी छ ।






