पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


अविरल वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन चल्न सकेका छैनन् । आइतबार राति परेको वर्षाले कर्णाली राजमार्गको टाकुल्ला, बिर्तामोड, हुल्म र गगनेखोलामा पहिरो गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी अर्जुन केसीले जानकारी दिए ।
पहिरो गएको थाहा पाउनेवित्तिकै पहिरो पन्छाउनको लागि डोजर, स्काभेटरहरू परिचालन गरिसकिएको छ,’ डीएसपी केसीले भने,‘पानी परेन भने राजमार्ग दुईचार घण्टामै खुल्न सक्छ । पानी परेर पहिरो थपियो भने नखुल्न पनि सक्छ ।’ राजमार्गका विभिन्न खण्डमा पहिरो गएकोले यात्रा गर्दा सडकको बारेमा बुझेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय कालिकोटले सूचित गरेको छ ।
सुर्खेत नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आउने र जुम्ला, कालिकोटदेखि सुर्खेत र नेपालगन्ज जाने सवारीसाधन बिहानैदेखि रोकिएका छन् । लेदोसहितको पहिरो झरेकोले पन्छाउन कठिन भइरहेको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कालिकोट खण्डको गगनेखोला, एसमोड, बिर्तामोड, झाम्ला मोड,मोल्फालगायतका स्थानमा लेदोसहित ठूल्ठूला ढुंगाहरू झरेर सडक अवरुद्ध भएको हो ।
सडक खुलाउन डिभिजन सडक कार्यालयमा भएका सबै उपकरण र मानवीय शक्ति खटिएका छन् । यसअघि पनि सडकमा पहिरो खस्दा झण्डै चार दिन सवारीसाधन रोकिएका थिए । तत्काल सडक खुलाएर सवारीआवागमन सञ्चालनमा ल्याउन यात्रुहरूले माग गरेका छन् । साँघुरो सडकमा पहिरो आएर झनै साँघुरो हुने भएकोले जोखिम पनि निकै बढेको यात्रुहरूले बताएका छन् ।






