६ अर्ब लागतमा कोहलपुर–सुर्खेत सडक स्तरोन्नति हुँदै
कर्णाली राजमार्गको बाँकेको कोहलपुर–सुर्खेत–बाङ्गेसिमल सडक खण्ड स्तरोन्नति हुने भएको छ । स्तरोन्नतिका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन उपर राय सुझावका लागि सार्वजनिक सुनुवाई आह्वान भएसँगै सडक स्तरोन्ती हुनेमा आशा जागेको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाख प्रस्तावक रहेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ । मन्त्रालयले सोहीअनुसार सात दिनभित्र राय सुझावका लागि भन्दै रिपोर्ट सार्वजनिक गरेको छ । यो सडकको चौडाइ औसत ५.५ मिटर रहेको र सडकको विभिन्न खण्डवाट भत्किँदा दुई तर्फी गाडी सञ्चालन हुन अहिले गाह्रो हुने र दुर्घटना निम्तने खतरा रहेको छ । यस सडकलाई स्तरोन्नति गरी ७ मिटर बनाइने र सम्भावित दुर्घटना न्यून हुने सरकारी लक्ष्य रहेको छ ।
आर्थिक अवस्थालाई माथि उकास्न, राज्यले अपनाएको यस्ता महत्वाकांक्षी योजनाहरुलाई हासिल गर्न सामरिक महत्वको सडक संजाल अन्तर्गत साविकको रत्न राजमार्गको कोहलपुर–सुर्खेत सडक खण्डको स्तरोन्नति गर्न जरुरी, प्रभावकारी, सुरक्षित र भरपर्दो सडक संजालको माध्यमवाट नागरिकको टेवा पु¥याउने उद्देश्य विभागको रहेको छ । कोहलपुर–सुर्खेत (बाङ्गेसिमल) सडक खण्ड (रत्न राजमार्ग) लुम्बिनी प्रदेश र कर्णाली प्रदेश जोड्छ । यस सडक आयोजनाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई लुम्बिनी प्रदेशको मुख्य सहर कोहलपुर (नेपालगञ्ज) र अन्य प्रमुख सहरहरुलाई जोड्ने काम गर्दछ । मध्य पहाडी जिल्लासँग जोड्ने भएकोले आर्थिक, सामाजिक, सांस्कृतिक, व्यापारिक दृष्टिकोणबाट ज्यादै नै महत्वपूर्ण देखिन्छ ।
कोहलपुर–सुर्खेत राजमार्ग (रत्न राजमार्ग) मा रहेका मुख्य बजारहरुमा बाँके जिल्लाको कोहलपुर चोक बजार, बैजनाथ, चिसापानी, बबई, देउराली, हरे, छिन्चु, भेरी नदी पुल, सुब्बाकुना, बुलबुल ताल चोक बजार, वीरेन्द्रनगर बजार, रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र चोक बजार हुँदै बाङ्गेसिमल बजार रहेका छन् । यस सडकको विद्यमान चौडाइ औसत ५.५ मिटर रहेको छ । यो सडक आयोजना सार्वजनिक सडक ऐन, २०३१ र जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम तत्कालिन श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालयले मिति २०३४÷३÷२० गते राजपत्रमा सूचना प्रकाशित गरि मूलुकमा निर्माणाधिन तथा निर्माण सम्पन्न भएको हो ।
दश हजार रुख कटान हुने
आयोजना प्रभावित बाँके जिल्लामा बाँके राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन तथा राष्ट्रिय वन पर्दछ भने, बर्दिया जिल्लामा बर्दिया राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन (सानो हरें र ठुलो हर्रे) पर्दछ भने सुर्खेत जिल्लामा महिला सामुदायिक वन, प्रसान्ति धार्मिक वन, भेरी सामुदायिक वन, शिवशक्ती सामुदायिक वन, कालिका सामुदायिक वन, धर्मापानी सामुदायिक वन, फुर्के सल्ली सामुदायिक वन, कृष्णा सामुदायिक वन, उज्ज्वल सामुदायिक वन, राम जानकी सामुदायिक वन, साज गठेरी सामुदायिक वन तथा राष्ट्रिय वन पर्दछ । राष्ट्रिय वन तथा डिभिजन वन कार्यालय अन्तर्गतका सामुदायिक वनमा काटिने ४ हजार ३ सय ४८ वटा रुखहरु रहेका छन् भने राष्ट्रिय निकुञ्जमा काटिने ६ हजार ५ सय ३८ वटा रुख गरि जम्मा १० दश हजार ८ सय ८६ रुखहरु कटान हुनेछन् । यस सडक क्षेत्रमा पाइने मुख्यतः साल, साज, खयर, सिन्दुरे, सिसौ इत्यादिका प्रजातिहरु पाइन्छन, जस मध्ये नेपाल सरकारले साललाई संरक्षित प्रजातिको रुपमा राखेको छ ।
६ अर्ब ५० करोड लागत लाग्ने अनुमान
९०.७५ किलोमिटर सडक स्तरोन्नतिका लागि छ अर्ब ५० करोड ९५ लाख ९४ हजार ५८ रुपैयाँ लागत अनुमान गरिएको छ । स्तरोन्नतिका लागि प्रस्तावित सडक बाँके, बर्दिया र सुर्खेत जिल्लाका विभिन्न स्थानीय तह भएर जाने सडक हो । सडक स्तरोन्नतिका लागि थप जग्गा अधिकरण गर्नु नपर्ने रिपोर्टमा उल्लेख छ । आयोजनाको ५० मिटर क्षेत्राधिकारभित्र पर्ने कुल सडकको क्षेत्रफल ४५४.७० हेक्टर रहेको छ । प्रस्तावित आयोजनाको सडक खण्डलाई दुई लेन कालोपत्रे सडकमा स्तरोन्नति गरिने छ । ५.५ मिटर चौडाइ औसत रहेको सडकलाई ७ मिटर बनाइने रिपोर्टमा उल्लेख छ । ३८ वटा जिर्ण पुल पनि स्तरोन्नति हुने रिपोर्टमा उल्लेख छ ।
स्थानीयस्तरमा रोजगारी सिर्जना हुने
आयोजनाको लागि लागि कुल एक लाख ७८ हजार दुई सय कार्य दिन बराबरको जनशक्ति आवश्यक पर्ने देखिन्छ । जसमा दक्ष जनशक्ति हजार दुई सय मानवदिन, अर्धदक्ष जनशक्ति ७२ हजार मानवदिन र अदक्ष जनशक्ति एक लाख १५ हजार दुई सय कार्य दिन बरावरको आवश्यक पर्ने देखिन्छ ।
आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाहरुलाई रोजगारीमा उनीहरुको सिप, दक्षता र योग्यताको आधारमा उच्च प्राथमिकता दिने आयोजनाको लक्ष्य रहेको छ । यस क्षेत्रका सक्षम जनशक्तिलाइ आयोजनाले रोजगारीका अवसरहरु प्रदान गर्ने हुँदा यस आयोजनाबाट स्थानीय जनतालाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ । साथै आयोजनामा काम गर्न इच्छुक स्थानीय कामदारको प्रभावित स्थानीय तहसँग समन्वय गरि प्रस्तावक÷निर्माण व्यबसायीले सुची बनाई दक्षताका आधारमा वर्गिकरण गरी रोजगारीका अवसर सिर्जना गर्ने आयोजनाको लक्ष्य रहेको छ ।
स्थानीय अर्थतन्त्रमा सुधार हुने अपेक्षा
आयोजनामा काम गर्ने कामदारहरुलाई ताजा तरकारीहरु, फलफूलहरु, दुध, र दुग्ध उत्पादनहरुको उच्च माग रहने हुनाले स्थानीय उत्पादनको बजार वृद्धि हुने, स्थानीय किसानहरु त्यस्ता अवसरहरुबाट लाभान्वित हुने, यसवाहेक अन्य व्यापारिक अवसरहरु रेष्टुरेन्टहरु लगायतका सेवाहरुवाट स्थानीय बासिन्दाहरु लाभान्वित आयोजना लक्ष्य रहेको छ ।
कामको अभिबृृद्धि गर्नको लागि स्थानीय जनतालाई कामदारलाई आवश्यक पर्ने तरकारी, फलफुल, मासु, दुध तथा दुधजन्य पदार्थ इत्यादि उत्पादन गर्नको लागि प्रोत्साहन गरिने, साथै स्थानीय विक्रेताहरुलाई चिया पसल र खाद्यान्न पसल खोल्न जोड दिइने र यसले स्थानीय जनतालाई पैसा कमाउन अवसर प्रदान गर्ने आयोजनाको लक्ष्य रहेको छ । जसले गर्दा आयोजना स्थल वरपरका कोहलपुर, बबई, हर्रे, छिन्चु तथा विरेन्द्रनगरमा सम्बन्धित कामले प्रस्तावित क्षेत्रको आर्थिक गतिविधि बढाउने लक्ष्य राखिएको छ ।