उद्धारको ३ दिनपछि जंंगलमा छाडियो घोरल


सोमबार जुम्लाको तातोपानी गाउँपालिका –२ बाबिरा नजिकैको आसपासबाट उद्धार गरी डिभिजन वन कार्यालय जुम्लामा राखिएको घोरललाई जंगलमा छाडिएको छ ।
यहीँ फागुन २७ गते (आईतबार)फेला परेको उक्त घोरललाई बुधबार जंगलमा छाडिएको हो । घोरल जातको भाले जंगली जनावर शारीरिक स्वास्थ्य अवस्था सामान्य छ । उद्धार गरेर वन कार्यालयको संरक्षणमा रहेको घोरललाई प्राकृतिक उचित बास स्थानमा नै छोडिएको डिभिजन वन कार्यालय जुम्लाका निमित्त वन डिभिजन अधिकृत खड्क लाल नेपालीले बताए ।
स्थानीय प्रशासनका खरिदार गोविचन्द्र रावल,पशु सेवा कार्यालयका प्राविधिक जीवन आचार्य, चन्दननाथ नगरपालिका जुम्लाका प्रतिनिधि जयशर्मा आचार्य ,जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी जवान तेजबहादुर रावल तर नेपाल पत्रकार महासंघ जुम्लाका सदस्य गोल्डेन बुढा लगायतको रोहबरमा पुनः जुम्लाको स्थानीय जंगलमा छोडिएको हो ।
वन डिभिजन जुम्लाका रेन्जर यमराज कार्कीका अनुसार घोरलको स्वास्थ्य परिक्षण गरेर जंगलमा छाडिएको छ । स्वास्थ्य परिक्षण पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले गरेको हो ।
सजिलैसँग आहारा भेटिने जंगलमा छोडिएको वन कार्यालय जुम्लाले जनाएको छ।संरक्षित जंगली जनावरको सूचीमा रहेको घोरल केही वर्ष पहिले धेरै पाइने गरेकोमा चोरी सिकारी र वनजंगल विनासका कारण पछिल्लो समय लोप हुँदै जान थालेका छन् ।






