नेपालमा विकास र सम्बृद्धिका चुनौती


नेपालमा आर्थिक विकास र समृद्धिको प्रमुख बाधक राजतन्त्रलाई ठानियो । करिब २४० वर्षे शाहवंशीय इतिहासलाई अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गरियो । गणतन्त्र घोषणा सँगसँगै लोकतन्त्र र समावेशी विकासको अभ्यास सुरु भयो ।
संविधान सभाबाट नेपालको संविधान जारी गरियो । संविधानले दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई मुख्य लक्ष्य राखेर समाजवादउन्मुख लोकतान्त्रिक व्यवस्थालाई अवलम्बन गरेको छ । सरकारको कार्यशैलीले जनतामा सकरात्मक सन्देश प्रवाह गर्न सकेको देखिँदैन । हामीसँगै विकासको लय समातेको चीनले विश्वकै सबैभन्दा लामो पुल बनाएर विश्वलाई चकित बनायो ।
हामी भने अझै खुला दिशामुक्त क्षेत्र घोषणा गर्दै हिँडिरहेका छौँ । नेपालको संविधानले समाजवाद उन्मुख राज्यको निर्माण गर्ने सङ्कल्प गरेको छ । राज्यका नीतिहरूको माध्यमबाट विकास र समृद्धिकाका सम्भावनाहरू तय गरेको छ । यिनै कुरालाई मुख्य आधार बनाएर विकासको मार्गचित्र तय गरिनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । चुनाव ताका समुन्द्रमा पानी जहाज चलाउने, घरघरमा ग्यासँ पाइपलाइन जोड्ने, देशलाई रेल सञ्जालले जोड्ने लगायताका मीठा भाषण सुनियो ।
तर त्यसका लागि पुँजी कसरी जुटाउने र कुन मोडलका विकास गर्ने भन्ने विषयमा चर्चै हुँदैन । तर एक दशकमा देशलाई कुन स्तरसम्मको विकास गर्ने भन्ने विषयमा गहन छलफल र रणनीति बनाउन आवश्यक छ । स्थिर सरकार भयो र कम्तीमा पनि ३० वर्षको सोच बनाएर काम गर्न सकियो भने केही उपलब्धि हाँसिल गर्न सकिन्छ । सम्बृद्धिका चुनौतीहरु:
१० भिजन भएको नेतृत्वको अभाव:
जसरी मलेसियालाको नेतृत्व ९२ वर्षीय महाथिरले गरिरहेका छन् । भिजन हुने हो र काम गर्ने दृढ सङ्कल्प हुने हो भने उमेरको बार लाग्दैन तर नेता हुन खोज्ने तर नेतृत्व प्रदान गर्न नसक्ने हो भने देश उँभो लाग्दैन ।२० ऐन कानुन पनि विकासको अवरोधक हुनु:
हाम्रो शैली अत्यन्त प्रक्रियामुखी र परम्परागत छ । हाम्रा ऐन कानुनले पनि नतिजालाई भन्दा प्रक्रियालाई जोड दिएका छन् ।
प्रक्रियामुखी कानुनको कार्यान्वयन झन्झटिलो त रहन्छ नै अलिकति प्रक्रिया मिचेर राम्रै काम गर्दा पनि अनियमितताको आरोप लागिहाल्छ । संसदले कानुन बनाउँदा के–के प्रक्रिया पूरा गर्नुपर्छभन्दा पनि कति समयमा कस्तो नतिजा दिन्छ र जिम्मेवारी लिने व्यक्ति को हो भन्ने विषयलाई जोड दिनुपर्ने देखिन्छ । नतिजालाई आधार बनाएर कामको मूल्याङ्कन गर्ने खालको कानुन बनाउने हो भने विकासको गतिलाई अगाडि बढाउन सकिन्छ ।
३० मानव पुँजी व्यवस्थापन प्रभावकारी नहुनु:
विकासको अन्तिम लक्ष्य मानव नै हो भने विकासको मुख्य स्रोत र आधार पनि मानव नै हो । मानव पुँजीको सही व्यवस्थापनविना विकास असम्भव नै हुन्छ । देशमा उपलब्ध श्रमशक्तिको समुचित परिचालन गरी विकासको गतीलाई अगाडि बढाउन आवश्यक छ । त्यसका लागि मानव क्षमता अभिवृद्धि गरिनुपर्छ । शिक्षा र स्वास्थ्यमा लगानी गरी मानव क्षमता अभिवृद्धि गर्न सकिन्छ ।
४० नागरिकमा सकरात्मक सोच र चिन्तन अभाव हुनु
देश बनाउने र विकास गर्ने मूल दायित्व सरकारको हो तर जनताको पनि देश विकासमा उत्तिकै भूमिका रहन्छ । देश विकासका लागि देशप्रति माया गर्ने र सकरात्मक सोच राख्ने नागरिकको खाँचो छ । देश बन्दै छ, देशलाई हामी सबै मिलेर बनाउनु पर्छ, देश बनाउने जिम्मा हाम्रो पनि हो । हामीले राज्यलाई सक्दो सहयोग गर्नुपर्छ । उचित कर तिर्नु पर्छ र राज्यका नीतिनियमलाई पालन गर्नुपर्छ । त्यसैले देश विकासको लागि प्रत्येक नागरिकले सोच बदलौ । त्यसको सुरुवात आफैँबाट गरौ ।
५० सरकार भन्दा बलियो पुजीँपती र दलाल वर्ग हुनु:
सरकार सीमित हुनुपर्छ तर स्थिर र शक्तिशाली हुनुपर्छ भन्ने मान्यता लोकतन्त्रले राख्छ । सरकार आफ्ना नीतिनियम कार्यान्वयन गर्न सक्ने गरी बलियो हुनुपर्छ ।
६० कर्मचारीतन्त्र र भ्रष्टाचार व्याप्त रहनुः
विकास व्यवस्थानपनको नेतृत्वकर्ता कर्मचारीतन्त्र सक्षम र इमानदार हुनुपर्छ । भ्रष्टाचार शून्यमा हुनुपर्छ । तर नेपालमा न विकास व्यवस्थापन सबल छ, न कर्मचारीतन्त्र सक्षम र इमानदार छ, न भ्रष्टाचार कम छ ।तिनवटै कुरामा नेपाल कमजोर हुँदा देशको विकासले गति लिन सकेको छैन । यसै सन्दर्भमा जापानको एउटा उदाहरण दिन सकिन्छ– जापानको व्यवस्थापन शैली संसारभर प्रख्यात छ । जापानको कुनै ठूलो कम्पनीको व्यवस्थापक वा सञ्चालकले आफ्नो गल्तीले सो कम्पनीलाई ठूलो घाटा लागेको खन्डमा आत्महत्याको बाटो रोज्छ । हामीकहाँ त आफ्नो गल्तीलाई स्विकार्नु कहाँ हो कहाँ अरूलाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने प्रचलन छ ।
अन्त्यमा ,विकास व्यवस्थापनको शैली पनि हामीकहाँ अत्यन्त कमजोर छ । विकास व्यवस्थापनको नेतृत्वकर्ता कर्मचारीतन्त्रले प्रभावकारी ढङ्गले काम गर्न सकिरहेको छैन । कर्मचारीलाई उत्प्रेरित गर्न सरकारले सकिरहेको छैन । कर्मचारीतन्त्रले पनि आफूलाई समय र परिस्थिति अनुरूप परिवर्तन गर्न सकेको छैन । कर्मचारीतन्त्रमा भ्रष्टचार र अनियमितता व्यापक छ ।देशलाई विकसित तुल्याउनका लागि राज्यले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नैपर्छ । काम गर्न सक्ने ऊर्जावान तथा क्षमतावान कर्मचारीहरूलाई ठाउँ दिनुपर्छ र तिनीहरूलाई राम्रो तलब सुविधा दिनुपर्छ । हामी कहाँ भष्ट्राचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको छ तर भ्रष्टाचार रोकिएको छैन। अब पनि हामी विकासलाई अगाडि बढाउन सकेनौ भने भावी पुस्ताले हामी सबैलाई सराप्ने छ ।
छिमेकी मुलुक विकासको चरम उत्कर्षमा पुग्दासमेत हामी भने विकासको बहस मात्रै गरेर समय खेर फालिरहेका छौँ । त्यसैले अब विकासको बहस मात्र होइन गुणात्मक ढङ्गले काम गर्ने बेला आएको छ । सरकारले मात्र होइन, हामी सबैले विकास र समृद्धिलाई सार्थकता प्रदान गर्न आआफ्नो ठाउँबाट सक्दो सहयोग र योगदान दिनु आवश्यक छ । तब मात्र समृद्ध राष्ट्रको सपना साकार हुनेछ ।






