हवाई मार्गको खाद्यान्न ढुवानी अन्तिम चरणमा


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको यस वर्षको निर्धारित कोटाको खाद्यान्न ढुवानी कार्य अन्तिम चरणका पुगेको छ । ढुवानीको जिम्मा पाएको सिम्रिक एयरको हेलिकोप्टरले नियमित रुपमा ढुवानी गरेका कारण चाँडै ढुवानी भएको हो ।
लिमिटेड हुम्ला शाखाका नायव सुब्बा नविन आचार्यले कुल यस वर्षको निर्धारित कोटाको सात हजार ८ सय २९ दशमलव ५० क्वीन्टल खाद्यान्न हालसम्म डुवानी भएको बताए ।
यसमा सुर्खेतबाट निर्धारित कोटाको खाद्यान्न छ हजारमा पाँच हजार १ सय ९४ दशमलव २५ क्वीन्टल ढुवानी भई सकेको छ भने नेपालगंजबाट चार हजार क्वीन्टलमा दुई हजार ६ सय ३७ दशमलव २५ क्वीन्टल ढुवानी भइसकेको छ ।
अब दुवै स्थानमा गरी दुई हजार १ सय ७० दशमलव पाँच क्वीन्टल खाद्यान्न ढुवानी हुन बाँकी रहेको छ। बाँकी खाद्यान्न पच्चीस दिनभित्र ढुवानी हुनेछ । सो खाद्यान्न नेपालगंज र सुर्खेतबाट ट्रकमा स्थलमार्गबाट सर्केगार्ड गाउँपालिका–६ को खडिखेटसम्म ढुवानी हुने गरेको छ भने त्यसयता भने सिम्रीक एयरको हेलिकोप्टरले ढुवानी गर्ने गरेको छ । हेलिकोप्टरले दैनिक बीसदेखि पच्चीस उडान भर्ने गरेको छ । हेलिकोप्टरले नेपालगंजबाट प्रतिकेजी १ सय ४३ रुपैयाँ र सुर्खेतबाट प्रतिकेजी १ सय ३७ रुपियाँमा ढुवानी गरि रहेको हो। खाद्यान्न ढुवानी गत पुस ८ गतेबाट सुरु भएको थियो ।
त्यसैगरी लिमिटेडका पैदल मार्गको खाद्यान्न हालसम्म् सुर्खेतबाट ८ सय ७५ क्वीन्टल, नेपालगंजबाट एक हजार क्वीन्टल, राजापुरबाट १ सय ८० क्वीन्टल र धनगढीबाट ५ सय ९० क्वीन्टल ढुवानी भइसकेको छ । यसवर्ष भने पैदल मार्गको खाद्यान्न राम्रोसँग ढुवानी भएको हो । यसअघि भने निर्धारित कोटाको ५० प्रतिशत मात्र ढुवानी गरेको थियो ।






