ओझलमा पश्चिम नेपालका ऐतिहाँसिक पञ्चदेवल


धार्मिक, ऐतिहाँसिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिएका पश्चिम नेपालका अछाम, कालिकोट, जुम्ला र दैलेखलगायत जिल्लामा रहेका विभिन्न पञ्चलदेवल अहिले ओझेलमा परेका छन् । अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–१, विनायक, कालीकोटको खाँडाचक्र नगरपालिका–२, मान्म, सान्नी त्रिवेणी गाउँपालिका–६, को मेहलुमडी र दैलेख नारायण नगरपालिकामा रहेका पञ्चदेवल संरक्षण र प्रचार–प्रसारको अभावले ओझेलमा परेका छन् ।
ऐतिहाँसिक कालमा निर्माण भएका यी पञ्चदेवलहरु संरक्षणमा कसैले चासो दिन सकेका छैनन् । अछाम, कालिकोट, जुम्ला र दैलेख जिल्लामा रहेका देवलहरु पाँच भाई पाण्डवले महाभारत युद्धका बेला निर्माण गरेको जनविश्वास छ । द्वापर युगमा पञ्चदेवल महाभारत युद्धकालिन समयमा कौरवहरुसँग सबै राज्य हारेपछि १३ वर्ष वनबास र एक वर्ष गुप्तबास रहेको बेला पाण्डवहरु विभिन्न ठाँउमा लुकेर एक रात मात्र बस्थे । त्यसै क्रममा आफूहरु बस्नका लागि पञ्चदेवल निर्माण गरिएको पौराणिक भनाइ रहेको मान्यता छ ।
कसले बनायो ?
यी पञ्चदेवलहरु पाँच भाइ पाण्डवका नभई ऐतिहाँसिककाल सिंजाका मल्ल राजाहरुले बनाउन लगाएको विभिन्न शिलालेखहरुमा इतिहाँस रहेको पाइन्छ । ऐतिहाँसिक कालमा सिंजाका खस राजाहरुको शितकालिन राजधानी सिंजा र अछाम जिल्लाको पञ्ंचदेव विनायक नगरपालिका–६, को विनायकमा रहेको पञ्चदेवलमा शाके १२०२ वि.स. १३३७ मा खस राज्यका राजकुमार अक्षय मल्लले पञ्चदेवल निर्माण गरेको इतिहास पाइन्छ ।
यो ५ वटा देवल रहेको पञ्चदेवलको प्रवेशद्वारको तोरणशिलामा लेखिएको अभिलेखअनुसार इतिहासविद् योगी नरहरिनाथले आफ्नो पुस्तकमा यो प्रमाणित गरेको स्थानीय अछामको पञ्चदेवलन नगरपालिका–६, का वडा अध्यक्ष कमल रावल बताउछन् । करिब ८ सय वर्ष पुरानो पञ्चदेवलको संरक्षणमा कुनै पनि निकायले ध्यान दिन नसकेको स्थानीयबासीको गुनासो छ ।
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको मान्म, सान्नी त्रिवेणी गाउँपालिकाको मेहलमुडी, कालिका गाउँपालिकाको सुककाटियामा रहेका ऐतिहाँसिक पञ्चदेवल तत्कालीन सिंजा राज्यका मल्ल राजाहरुले निर्माण गरेको खाँडाचक्र नगरपालिका–२ मान्म (तत्कालीन मान्म गाविस) का पूर्व अध्यक्ष अजबहादुर शाहीले बताए ।
‘यी पञ्चदेवलहरु बाईसे राज्यमा सान्नी राज्यको विशेष इतिहाँस बोकेको थलो हो । योगी नरहरिनाथका अनुसार यो १३१४ मा निर्माण भएको हो’, उनले भने, ‘त्यसबेला यहाँ मल्ल राजाहरुले आफ्नो उपस्थिति जनाउनका लागि निर्माण गरेका हुन् ।’
त्यस्तै, संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले नौ सय वर्षअघि साके सम्वत १३२१ मा निर्माण गरिएको भन्दै विश्व सम्पदा सूचिमा सूचीकृत गर्न नेपालको पुरातत्व विभागलाई सिफारिसको आधारमा यसको निर्माण पनि जुम्ला सिंजाका खस राजाहरुले नै गरेको प्रमाणित हुन्छ । त्यसबेला जुम्ला सिंजाका खस राजाहरुको शितकालिन राज्य दैलेखको दुल्लुमा रहेको थियो ।
रहस्यमै इतिहाँस

देवलहरू सबै स्थानमा समान संख्यामा निर्माण नभए पनि आकार प्रकार वा शैली भने सबै ठाउँमा समान रहेको स्व.इतिहाँसविद् नरहरिनाथले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । ‘कहिं एउटा मात्र, कहिं दुईवटा वा भोग मण्डप जोडेर जोडा देवलको रूपमा, कतै पाँचवटाको समूहमा, कतै आठ वटा वा दश वटाको समूहमा कतै पच्चिसौं समूहमा समेत निर्माण गरिएका छन् । पञ्चदेवल, एकलदेवल अथवा समूह देवल भनेर संख्यात्मक समूहकै आधारमा तीनको नामकरण गरिएको छ,’ उनले पुस्तकमा लेखेका छन्, ‘यी देवलहरू किन र के प्रयोजनको लागि निर्माण गरिएका थिए भन्ने स्पष्ट प्रमाण कहिं कतै उल्लेख गरिएको छैन ।’
योगीले पुस्तकमा लेखेका छन्, ‘सबै ठाउँमा निर्माण गरिएका समान प्रकारका देवलहरू हेर्दा देवलहरू निर्माण गर्नको उद्देश्य फरक फरक हुन सक्दैन, न त देवललाई तत्कालिन दरबार नै भन्न सकिएला, यी देवलहरूलाई मठकै रूपमा व्याख्या गर्ने हो भने पनि देवलहरूमा मठ रहेको कुनै संङ्केतसम्म पाइएको छैन, अर्को सम्भावना भनेको देवलहरू महायानी बौद्धमार्गीहरूको ध्यानकेन्द्र हुन सक्छन् भन्ने हो ।’
उनले पुस्तकमा अर्को तर्क पनि दिएका छन्, ‘तर नुवाकोटदेखि कुमाउ गढवालसम्म नै यती धेरै ध्यानकेन्द्रहरू एकै ठाउँमा हुन पनि सम्भव छैन । तसर्थ देवलहरू जीवनको अन्तिम कालमा मृत्युवरण गर्नका लागि आफ्नो जीवनकालमै निर्माण गरिएका आश्रम अथवा समाधी स्थल हुन सक्ने सम्भावना देखिन्छ ।’
संरक्षणमा स्थानीय सरकार
यी ऐतिहाँसिक देवलहरुको मर्मतमा स्थानीय सरकारहरु लागेको भएपनि पुरातत्वका ऐतिहाँसिक संरचनाहरु पुरातत्व विभागले लिनुपर्ने उनीहरुको माग छ । इतिहाँसको साँक्षीका रुपमा रहेको रहेको पञ्चदेवललाई उचित संरक्षणको अभावमा जीर्ण बन्दै गएकोले यसलाई संरक्षण गर्नका लागि नगरपालिकाले तयारी थालेको पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले बताइन् ।
‘संरक्षणको अभावमा जीर्ण बन्दै जान थालेको छ । संरक्षणका लागि नगरपालिकाले लगानी गरेको छ ।’, उनले भनिन्, ‘ऐतिहासिक र पर्यटकीय हिसाबले पञ्चदेवलको राम्रो सम्भावना रहेको भएपनि संरक्षण नहुदाँ समस्या भएको छ । यसको प्रचारप्रसार र संरचनाको संरक्षण गर्ने जिम्मा पुरातत्व विभागले लिनुपर्छ ।’
सान्नी त्रिवेणी गाउँपालिका–६ को मेहलमुडीमा रहेको पञ्चदेवल अर्थात पाँच वटा देवल पुरै कलात्मक र आकर्षक भए पनि संरक्षणमा ध्यान नजानुले माटो र झारपातमा पुरिने अवस्थामा रहेको गाउँपालिका अध्यक्ष मोहन केसीले बताए । ‘मेहलमुडीमा रहेका देवलहरु पुरिन थालेका छन्,’ उनले भने, ‘संरक्षणका लागि पुरातत्व विभागलाई लिन आवश्यक छ ।’
कालिकोटको मान्ममा रहेको देवलहरुका विषयमा जिल्ला बाहिर प्रचार–प्रसारका लागि आफूहरुले देवललाई झनै आर्कषक बनाउन आवश्यक रहेको स्थानीय अलिबहादुर शाहीले बताए ।
‘कालिकोटमा रहेका पञ्चदेवलको संरक्षण र प्रचार–प्रसार हुन सकेको छैन’, उनले भने, ‘यसको संरक्षण र प्रचार प्रचारको आवश्यकता छ ।’दैलेखको नारायाण नगरपालिकामा रहेको पञ्चदेवल क्षेत्रको संरक्षणका लागि डिपिआर तयार गरिएको र त्यस अनुसार यसको संरक्षण गरिँदै लगिने नारायण नगरपालिका–६, का श्रीराम न्यौपानेले बताए ।






