छाउ गोठ मुक्त वडा घोषणाः गोठमा नभई घरमा बस्ने भनी साझा प्रतिवद्धता


जुम्लाको पातारासी गाउँपालिका–४ तिर्खु गाउँका ६७ वर्षका जगबहादुर बोहोरा महादेब देवताका धामी हुन् । उनले छाउपडी नमान्ने प्रतिबद्धता जनाए । छाउपडी प्रथाका मुख्य गडका रूपमा मानिने देवताका धामीझाँक्री डाङ्गी(पुजारी)ले नै छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरे ।

उनीहरूको एउटै स्वर थियो, ‘देवता मान्छौं, छाउ मान्दैनौं। महिनावारी भएकी छोरी, बुहारीलाई घरमै राख्छौँ । पहिले विभेद गरियो। अब गर्दैनौं ।’ यस्तै उक्त वडाकी महिला सुकु बोहोरा पनि धामी हुन् । उनले भनिन्, ‘छाउपडी विरुद्धको वकालत गर्ने बताउँछिन् । छाउपडी प्रथा मान्नु हुँदैन भनेर गाउँमा अठोटका साथ लाग्छौ ।

छाउ नबार्दैमा कसैलाई केही भए आफूले जिम्मा लिने दाबी गरिन्।उनले थपिन्, ‘म आफैं देवताको धामी छु । तर,म घरमै बस्छु, तपाईंंहरू कसैलाई घरमै छाउपडी बसालेकै भरमा देवता लाग्यो भने त्यसको जिम्मेवारी स्वयं म आफैं लिन्छु । बुधवार पातारासी गाउँपालिका–४ वडालाई छाउ गोठ मुक्त वडा घोषणासँगै समाजिक कुरीति र कुसस्कारको अन्त्यका लागि साझा प्रतिवद्वता पत्रमा हस्ताक्षर गरी यस्तो साझा प्रतिवद्वता जाहेर गरेका हुन् ।

पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजनामा छाउ गोठ मुक्त वडा घोषणा गरिएको हो । महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले उनले भनिन्,‘छाउपडी हुनु अभिसाप होइन् ।

कुनै पापको प्रतिफल पनि होइन् । यो त नियमित प्रक्रिया हो । फल लाग्नको लागि फुलेको एक प्रकारको फूल हो । महिलामा छाउपडी हुँदा न देउता रिसाउँछन्, नत उनीहरुलाइ देउताले नै छुट्टै राख्न भन्छन्, यो त समाजमा महिलालाइ दबाइ राख्न बनाइएको संस्कार मात्र हो ।’ गिरीले भनिन् । मानवअधिकारका दृष्टिले छाउपडी र नछुनेका नाममा महिलााथि हुने भेदभाव, वञ्चिती वा निषेध एक प्रकारको ज्यादती हो ।

शाखाले गाउँपालिका भित्र रहेका महिला समुह, किशोरी समुह, बालसमुह,गाउँ गाउँ र विद्यालयमा,प्रहरी,धामीझाँक्री र जनप्रतिधिनिहरूको सहभागितामा पैरवी गर्दै आइरहेको उनको भनाइ छ । यता डिल्लीचौर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक पदमराज जैशीले मुलुकी अपराध संहितामा कसैले पनि महिनावारी भएकी महिलालाई छुवाछुत गर्ने वा छाउगोठमा राख्ने गरेमा तीन महिनासम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको बताए ।
उनले भने, ‘सरकारले २०६४ सालमा छाउपडी प्रथा उन्मूलन निर्देशिका जारी गरेको छ । हामी पातारासी गाउँपालिका–४ का ५ सय घरधुरीले आजदेखि कोही कसैले छुई भएको अवस्थामा गोठमा नभई घरमा बस्ने भनी साझा प्रतिवद्धताका साथ छाउ गोठमुक्त गाउँ घोषणा गर्दछौँ । यदि कोही कसैले छाउ भएको अवस्थामा पुनः छाउगोठ प्रयोग गरेको भेटिएको खण्डमा कानूनबमोजिम सजायको भागेदार हुने छौँ’, प्रतिबद्धतामा भनिएको छ ।

उक्त वडाभित्र डिल्ली चौर,लाम्री, तिर्खु, बैसेनी र डोलकाटी बस्ती पर्छन् । पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले महिनावारी हुने उमेरका सबै किशोरी तथा महिला महिनावारी हुँदा घरमै बस्दै आएपछि ४ नम्बर वडालाई छुइगोठ मुक्त घोषणा गरिएको बताए ।

समाजमा सकारात्मक परिवर्तन आएको बताउँदै छाउ गोठ अन्त्यसँगै समाजमा रहेका कुरीति र विभेदलाई अन्त्य गर्न सक्रियताका साथ अगाडी बढन सबैमा अनुरोध गरे । यस्तै–४ नम्बर वडा अध्यक्ष कालिबहादुर ऐडीका अनुसार गाउँमा अहिले छुईप्रथा मान्ने कुनै घर छैन् ।

घोषणा कार्यान्वयनमा फितलो देखिए कारबाहि गरिने छ । छाउ गोठ मुक्त घोषण कार्यक्रममा देउडा,लगायत छाउपडी कुप्रथा मान्दैनौ, घरमै बस्छौ, पोषिला खानेकुरा दही,दुध जस्ता खाने कुरा खान्छु भन्ने सन्देशमूलक प्रस्तृति गरिएको थियो ।
वडालाई छुईगोठ मुक्त वडा घोषणा गर्न मुलधारमा रहि काम गर्ने महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरी लगायतका अन्य व्यक्ति र निकायलाइ सम्मान गरिएको छ ।

छाउ गोठ मुक्त वडा घोषणाः गोठमा नभई घरमा बस्ने भनी साझा प्रतिवद्धता

YUGAAWHAN NATIONAL DAILY (2080-09-26)