कर्णालीका महिला तथा बालबालिका हिंसा भोग्न बाध्य

घटना १
गत असोज ०४ गते पश्चिम सुर्खेतकी १३ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार बनिन् । घटनामा संलग्न एक १९ युवक, तीन १५ वर्षीय बालक र एक १६ वर्षीय बालकलाई प्रहरीले ०५ गते पक्राउ गर्यो ।

घटनामा संलग्नता नभएको भन्दै सरकारी साक्षीका रुपमा दुइदिपछि एक १५ वर्षीय बालकलाई साधारण तारेखमा छोडियो । असोज १९ गते जबरजस्ती करणी उद्योगको प्रयास गरेका १९ वर्षीय युवकलाई जिल्ला अदालत सुर्खेतले एक लाख रुपैयाँ धरौटी माग गरेर तारेखमा छोडिदियो । दुई जना १५ वर्षीय बालक र एक जना १६ वर्षीय बालकलाई अदालतले असोज १९ गते पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दियो ।

छिमेकीको घरमा जन्मदिन मनाएर घर फर्किने क्रममा ती बालिकामाथि उनीहरुले बलात्कार र बलात्कारको प्रयास गरेका थिए ।
घटना २
त्यस्तै अर्की १३ वर्षीया बालिकालाई पनि गत भदौ ३० गते काक्रेबिहारको जङ्गलमा लिएर दैलेखका २५ वर्षीय भक्तिराम कँडेलले बलात्कार गरे ।

असोज ०५ गते प्रहरीले उनलाई पक्राउ गरेर अनसन्धान गर्यो । उनी विरूद्ध असोज १५ गते सुर्खेत जिल्ला अदालतमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरियो । असोज २२ गते उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठायो ।
घटना ३
वीरेन्द्रनगर–१० की ३० वर्षीया अनिता चौधरीलाई उनका श्रीमान् महेन्द्र चौधरीले गत वैशाख १६ गते कुटपिट गरी घर निकाला गरे । श्रीमान्ले सोही ठाउँकी ३६ वर्षीया युवतीसँग दोस्रो विवाह गर्ने योजना अनुसार आफुलाई घर निकालका गरिएको अनिताले बताइन् ।

उनले वैशाख२४ गते जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा घरेलु हिंसा र बहुविवाहमा मुद्दा दायर गरिन् । जिल्ला अदालत सुर्खेतले साउन १२ गते बहुविवाहको दावी नपुगेको भन्दै मुद्दा रद्ध गरिदियो । अहिले उनको सम्बन्ध विच्छेदमा मुद्दा चलिरहेको छ ।
घटना ४
दाइजो दिन नसक्नेकी छोरी भन्दै वीरेन्द्रनगर न.पा.–१० की २४ वर्षीया मनिषा घर्तीलाई उनका श्रीमान् प्रकाश कुमारले भदौ १६ गते मदिरा खाई ढोका थुनेर मरणासन्न हुनेगरी कुटपिट गरे । मनिषाले भदौ १७ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला, बालबालिका तथा जेष्ठनागरिक सहायता केन्द्रमा उजुरी दिइन् ।

त्यहाँ दुबै जनाबिच मिलापत्र नभएपछि भदौ २९ गते उनले जिल्ला अदालत सुर्खेतमा खानाखर्च र सम्बन्ध बिच्छेदको मुद्दा दायर गरिन् । अहिले उनको मुद्दा चालु अवस्थामा नै छ । यी त प्रतिनिधि पात्र मात्रै हुन् । विगत केही वर्षको प्रहरीमा आएको तथ्याङ्क हेर्ने हो भने कर्णालीमा छोरीबुहारी सुरक्षित छैनन् भन्ने कुरा सहजै अड्कल गर्न सकिन्छ ।
घरेलु हिंसाका घटना पनि उस्तै

त्यस्तै महिलाहरूमाथि हुने घरेलु र पारिवारिक हिंसाको अवस्था पनि उस्तै छ ।प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार कर्णालीका १० जिल्लामा आर्थिक वर्ष २०७७÷०७८ मा ८७५, २०७८÷०७९ मा ८८३ र २०७९÷०८० मा ८५८ गरी २६ सय १६ महिलामाथि परिवार, श्रीमान् र छिमेकीबाट घरेलु हिंसा भएका छन् ।महिलामाथि हुने हिंसामा प्रदेशका १० जिल्ला मध्ये राजधानी समेत रहेको सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम छ ।

यस्तो छ अधिकारकर्मीको सुझाव
कर्णालीमा छोरीबुहारी सुरक्षित नहुनु गरिबी र अशिक्षा रहेको महलिा तथा बालबालिकाका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था आवाजकी निर्देशक पवित्रा शाही बताउँछिन् ।

‘भौगोलिक रुपमा पनि विकट छ । त्यसैमाथि उच्च शिक्षाको पहुँचमा छोरीबुहारी छैनन् । समाजमा पनि मानवीय चेतनाको स्तर कमजोर नै छ,’उनले भनिन्, ‘अपारध न्यूकिरण गर्न शिक्षा र चेतना नै आवश्यक पर्दछ ।’

सरकारले शिक्षामा प्रभावकारी सहभागिता बनाई विभिन्न गैरसरकारी संघ संस्थाको समन्वयमा सचेतना जगाउनुपर्ने अधिकारकर्मी शाहीको सुझाव छ ।सचेतना र स्वरोजगारमूलक कार्यक्रम ल्याइ महिलाहरूलाई आर्थिक रूपमा बलियो बनाउन सके हिंसा न्यूनीकरण हुने उनले बताइन् ।

त्यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले गरिबी र कानुनी अज्ञानताका कारण यस्ता घटनाहरु बढिरहेको बताए ।महिला तथा बालबालिकामाथि हिंसा गर्नेलाई कानुनी दायरामा ल्याइ समुदायमा कानुनी सचेतना फैलाउन सके हिंसा न्यूनिकरण गर्न सकिने उनको सुझाव छ ।

सबैभन्दा बढी जबरजस्ती करणीका घटना
प्रहरीमा आएको मुद्दाको तथ्याङ्क हेर्दा प्रहरीले सबैभन्दा धेरै संख्यामा जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ । त्यसैगरी घरेलु हिंसा, बहुविवाह र बालविवाहको संख्यासमेत उस्तै छ । बाल यौन दुराचार, यौन दुर्व्यवहार तथा बोक्सीको आरोपसम्बन्धीका मुद्दाहरू समेत प्रहरीकोमा बर्सेनी पर्ने गरेका छन् ।

नचिनेकादेखि आफन्त र आफ्नै परिवारबाटै छोरीबुहारी सुरक्षित छैनन् भन्ने विषय प्रहरी तथ्याङ्कले देखाएको छ ।
विगत चार वर्ष बढीको अवधिभित्र कर्णालीमा प्रहरीले सात सय ४८ वटा जवरजस्ती करणीका मुद्दा दर्ता गरेको कर्णाली प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता बीरबहादुर ओलीले जानकारी दिए । उनका अनुसार यो संख्या २०७६÷०७७ यता हाल २०८०÷०८१ को मंसिर मसान्तसम्मको हो ।

२०७६÷०७७ मा प्रहरीले जवरजस्ती करणी आरोपसहित एक सय ४१ वटा मुद्दा दर्ता गरेको २०७७÷०७८ मा एक सय ५४ मुद्दा, २०७८÷०७९ मा समेत एक सय ५४, २०७९÷०८० मा दुई सय पाँच र चालु आर्थिक वर्ष २०८०÷०८१ को मंसिर मसान्तसम्ममा ९४ वटा मुद्दा प्रहरीकोमा दर्ता भइसकेका छन् ।

जवरजस्ती करणी उद्योगतर्फ समेत अवस्था उस्तै छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को मंसिर मसान्तसम्ममा प्रहरीले कुल १९ वटा जवरजस्ती करणी उद्योगतर्फ मुद्दा अघि बढाइसकेको छ । यससम्बन्धी मुद्दाहरूमा २०७७÷०७८ मा ५६ मुद्दा, २०७८÷०७९ मा ४६, २०७९÷०८० मा ४५ वटा मुद्दा प्रहरीकोमा दर्ता भइसकेका छन् ।

मुद्दाको संख्या हेर्दा कर्णालीमा बहुविवाह र बालविवाहको अवस्थासमेत भयाभव देखिन्छ । २०७६÷०७७ यता प्रहरीले तीन सय ६२ वटा बहुविवाह सम्बन्धीका मुद्दा दर्ता गरेको छ । त्यसैगरी २०७६÷०७७ यता कर्णालीमा ६० वटा बालविवाहका मुद्दा दर्ता भएका छन् ।

२०७६÷०७७ मा प्रहरीले ७९ वटा बहुविवाहका मुद्दा दर्ता गरेको थियो । २०७७÷०७८ मा ९६ वटा, २०७८÷०७९ मा ८१ वटा, २०७९÷०८० मा ७४ वटा र २०८०÷०८१ को मंसिर मसान्तसम्ममा ३२ वटा मुद्दा प्रहरीले दर्ता गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ ।

बालविवाहतर्फ समेत कर्णालीमा बर्सेनी दर्जनौं संख्यामा बालविवाहका मुद्दा दर्ता भएका छन् । २०७६÷०७७ मा १२ वटा बालविवाहका मुद्दा प्रहरीले दर्ता गरेको थियो । २०७७÷०७८ मा यो संख्या बढेर २० वटा मुद्दामा पुगेको छ । त्यसैगरी २०७८÷०७९ मा ११ वटा र २०७९÷०८० मा १६ वटा बालविवाहको मुद्दा प्रहरीले दर्ता गरेको प्रवक्ता ओलीले बताए ।

महिला तथा बालबालिमाथि भएका यौन दुर्व्यवहार र दुराचारका मुद्दाको संख्या समेत उस्तै देखिन्छ । २०७६÷०७७ यता प्रहरीले कर्णालीमा कुल १२ वटा यौन दुव्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको छ ।

यी मुद्दाहरूमा २०७७÷०७८ मा तीन वटा, २०७८÷०७९ मा ६ वटा र २०७९÷०८० मा तीनवटा मुद्दा प्रहरीले दर्ता गरेको हो । बाल यौन दुराचारतर्फ पनि २०७६÷०७७ यता २० वटा मुद्दा दर्ता गरिएका छन् । २०७६÷०७७ मा ६ वटा, २०७८÷०७९ मा पाँचवटा, २०७९÷०८० मा समेत पाँचवटा मुद्दा प्रहरीले दर्ता गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को मंसिर मसान्तसम्ममा प्रहरीले चारवटा बाल यौन दुराचार सम्बन्धीका मुद्दा प्रहरीले दर्ता गरिसकेको छ ।

२०७६÷०७७ मा प्रहरीले दुईवटा मुद्दा बोक्सीको आरोप विषयमा अघि बढाएको थियो । त्यसयता कर्णालीमा यस विषयसँग सम्बन्धित मुद्दाहरूको संख्या समेत न्यूनीकरण भएको अवस्था छैन ।२०७७÷०७८ मा चार वटा, २०७८÷०७९ मा दुई र २०७९÷०८० मा समेत दुईवटा मुद्दा बोक्सीसम्बन्धी थिए ।

कर्णालीका महिला तथा बालबालिका हिंसा भोग्न बाध्य

सम्पादकीय: विमानस्थल विस्तारको सार्थक बहस