मुख्यमन्त्री आचार्यको चीन भ्रमण, कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भूमिश्वर ढकाललाई


सरला सुवेदी ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीन भ्रमणको क्रममा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिएका छन् । कार्तिक २५ गते आईतवारदेखि लागू हुनेगरी मुख्यमन्त्री आचार्यले आफु फर्किन नभ्याएसम्मका लागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको हो ।
प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७४ को पछिल्लो संशोधनअनुसार नियम १४ को उपनियम ३ बमोजिम ढकाललाई जिम्मेवारी दिइएको हो । यसअन्तर्गत नेपालको संविधान र प्रचलित कानूनको अधीनमा रही उनले कार्यसम्पादन गर्नु पर्नेछ ।
मुख्यमन्त्री आचार्यको नेतृत्वमा ७ सदस्यीय प्रतिनिधिमण्डल चीनको सिचुआन प्रान्तमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् । कार्तिक २६ देखि २८ गतेसम्म (नोभेम्बर ११ देखि १३) हुने यो सम्मेलनमा समन्वय र विकासका विविध विषयमा छलफल हुने बताइएको छ । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीचको पारस्परिक सहयोग र सद्भावलाई थप अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।
भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकास योजनालाई अगाडि बढाउन चीनसँग दुईपक्षीय सहयोग र सहकार्यका विषयमा उच्चस्तरीय भेटघाट र छलफल हुनेछ । लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीचको भगिनी सम्बन्ध २०७६ सालमा तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको नेतृत्वमा स्थापित भएको थियो । यसअन्तर्गत कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा आपसी सहयोग आदानप्रदान गर्ने सहमति समेत भएको थियो ।






