जयन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप


बाँकेस्थित जयन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप भएको छ । डडुवा गाउँपालिका–६ स्थित सुधार गृहमा खाना खाने विषयमा कैदीबन्दीबीच झडप भएको थियो । झडपपछि ६० जना कैदीबन्दीहरू सुधार गृहबाट निस्किएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

तीमध्ये ५८ जनालाई नियन्त्रणमा लिइसकेको उनले बताए । २ जना कैदीबन्दीको अझै खोजी जारी रहेको एसपी कार्कीले बताए । जयन्दु बालसुधार गृहको प्रमुख बिमला काउचामगरका अनुसार अहिलेसम्म फरार दुई बालकैदी भारतीय नागरिक हुन् । उनीहरू डेढ वर्षदेखि सोही बाल सुधार गृहमा बस्दै आएका थिए ।

लामो समयदेखि सुधार गृहमा बस्दै आएका बालबालिकाहरूले आ–आफ्नो समूह बनाएका छन् । तीमध्ये चार जनाको समूहले चौकीदारलाई कुटपिट गर्ने क्रममा झडपले बृहत् रूप लिएको हो । कैदीबन्दीहरूबीच असल चालचलन भएको एक जनालाई चौकीदार तोक्ने गरिएको छ । उनीहरूको आ–आफ्नै समूह हुन्छ । चौकीदारले त्यहाँभित्रका बालकैदीहरूलाई दैनिकीबारे जानकारी दिने र रेखदेख गर्ने काम गर्ने प्रमुख काउचामगर बताउँछिन् ।

‘ती समूहले चौकीदारलाई रूचाएका थिएनन्, त्यही कारण उनीमाथि हातपात भएको हो,’ उनले भनिन्, ‘ती समूह एकदमै रिसाहा छन् ।’ उनीहरूले चौकीदारसहित अन्य चार जनालाई घाइते बनाएका छन् ।

झडप गर्ने चार जना मुख्य व्यक्ति हुन् । झगडाले बृहत् रूप लिएर ताला फोडेपछि अन्य व्यक्तिहरू पनि भागेको उनले बताइन् । अहिले ती मुख्य चार जना व्यक्ति नै नियन्त्रणमा आइसकेका छन् । मुख्य चार जनामध्ये दुई जना पटकपटक चोरी मुद्दामा सजाय काटिरहेका छन् भने एक व्यक्ति कर्तव्य ज्यानको मुद्दा खेपिरहेका छन् ।

त्यस्तै अर्का व्यक्तिको किर्ते कागजातको मुद्दा भोगिरहेका छन् । उनीहरूलाई चौकीदारको व्यवहार मन नपरेपछि योजना बनाएरै कुटपिट गरेको उनको भनाइ छ । उक्त चौकीदार गत असोजदेखि राखिएको हो ।

गत असोजमा पनि झगडा परेर ताला तोडफोड गरेर भागेपछि नयाँ चौकीदारलाई राखिएको थियो । नयाँ चौकीदारले गृहभित्र लागुऔषध सेवन तथा औसारपसारमा शून्य बनाएका थिए । सायद त्यसैको रिस साँधेको हुनसक्ने उनको अनुमान छ ।

जयन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप

पहिरोको जोखिम भएपछि च्याउपानीका ११ परिवारलाई अन्यत्र

जयन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप

बाढीले ४१ पुल बगायो, १० करोड बढीको