स्याउका परिकार बनाउन सीप सिक्दै जुम्ली महिला


जुम्लालाई स्याउको उर्वर जिल्ला भनेर चिनिन्छ । हरेक वर्ष स्याउबाट किसानले मुनाफा गरिरहेका हुन्छन् । भदौ दोस्रो हप्तामा खान मिल्ने जुम्ली स्याउ नपाक्दै टिप्ने र बाहिर निर्यात हुँदा कयौं किसानको स्याउ खेर गइरहेको हुन्छ ।

यही विषयलाई मध्यनजर गरी स्याउबाट बन्ने जुस, जाम, सस,जेली,अचार र चाना उत्पादनमा जुम्लाका किसानहरु अहिलेबाट तयारी अवस्थामा रहेका छन् । स्याउ बेच्ने मात्र नभई यसबाट बन्ने विभिन्न परिकार बनाई दोहोरो फाइदा लिन सकिन्छ । यही ध्येयलाई आत्मसात् गरी स्याउबाट बन्ने परिकारलाई बजारसम्म ल्याउनको लागि महिलाहरुले सीप सिकेका छन् ।

जुम्लाको सिंजा गाउँपालिका –६ वडाभित्रका महिलाहरुले स्याउबाट बन्ने विभिन्न परिकार बनाउने सीप आर्जन गरेका छन् । बजारमा बिक्री नहुने र खेर जाने स्याउलाई सदुपयोग गर्नको लागि महिलाहरुले विभिन्न परिकार बनाउन सिकेका हुन । सीप सिकेकी मध्येकी एक हुन् सिंजा–६ रुघा गाउँकी सुवा रोकाया। उनले स्याउको आचार, जाम, जुस, चाना, जेली,ससर साईटर लगायतका विभिन्न परिकार बनाउन सिकेको बताइन् ।

उनले भनिन् ‘मेरो घरमा स्याउ बगैंचा छ । पहिले यस्तो सीप नपाउँदा बिक्री नभएर घरमा रहेको स्याउ गाईवस्तुलाई खुवाउनेबाहेक विकल्प थिएन,’ उनले भनिन्,‘यो सीप सिकेपछि अहिले विभिन्न स्याउका परिकार बनाई स्याउ सदुपयोग हुनेछ ।’ उनका अनुसार ४ दिनसम्म स्याउका विभिन्न परिकार बनाउने तालिम पाएको हुनाले यसबाट घरमा उत्पादन हुने र बजारमा बिक्री नभएको स्याउबाट विभिन्न परिकार बनाउने काम हुनेछ ।

सीप विकास तालिम, प्रविधि सहयोग र बजारीकरणमार्फत सम्बन्धित जिल्लामा स्थानीय कच्चा पदार्थमा आधारित नमुना उद्योग स्थापना गर्नु तालिमको प्रमुख उद्देश्य रहेको छ । स्याउको परिकार बनाउन किसान उत्साहित छन् । गुणस्तरीय वस्तु उत्पादन गर्न सके बजारको खासै समस्या हुँदैन । किसान आत्मनिर्भर हुन्छन् ।

सहभागीले उद्योग सञ्चालन गरेर स्याउका परिकार बनाई बिक्री गरी आत्मनिर्भर हुने प्रतिबद्धता जनाएका छन् । स्याउबाट बन्ने परिकारलाई बजारसम्म ल्याउनका लागि सीप सिक्न अपरिहार्य छ । तिर्खाएको बेला पानी पाएजस्तै खेर जान लागेको स्याउ सदुपयोग हुने हुनाले खुसी छिन्, अर्की लालसरी रोकाया । ‘घरमा उत्पादन भएको स्याउलाई अब खेर जान दिने छैन। स्याउका विभिन्न परिकार बनाउने सीप पाएको छु,’ उनले भनिन्, ‘औजार आफै किनेर भएपनि तालीमबाट प्राप्त भएको सीपलाई भरपुर रुपमा प्रयोग गर्नेछु ।’

सीप सिकेर किसानहरु उद्यमी बनेपछि व्यवायिकताको महत्त्व बड्ने सिंजा –६ का वडा अध्यक्ष लालबहादुर बुढाले बताए । ‘सीप प्राप्त गरेका किसानहरु उद्यमी बन्नु पर्छ । सीप सिकेर प्रमाण पत्र लिएर मात्रै हुँदैन,’ उनले भने, ‘आफ्नो सीपको दायरा बढाउनलाई भएपनि सीपको जीवनमा प्रयोग गर्नुपर्छ ।’ उनले उद्यमी बन्न चाहने र गरी खाने किसानको साथमा स्थानीय सरकार रहेको भन्दै अनुदानका लागि मात्रै उद्योग दर्ता गर्नु राम्रो पक्ष नभएको बताए । बजारमा बिक्री नभएको स्याउबाट विभिन्न परिकार बनाइ खेर जाने स्याउको सदुपयोग गरी आम्दानी लिन सकिने भएको हुनाले भविष्यमा यसको बजारको सम्भावना छ । किसानको उत्पादनलाई स्थानीय सरकारले बजारीकरणका लागि पनि सहयोग गर्नेछ, उनले भने, ‘महिलाहरुले सामान्य खर्चका लागि पुरुषसँग रकम माग्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सीप अति आवश्यक छ ।’

महिलाहरुले उद्योग दर्ता गरी वैधानिक रुपमा सफल उद्यमी बन्नुपर्ने अगुवा नरबहादुर बुढाले बताए । स्याउका परिकार बनाउन सिकेर मात्रै हुँदैन । उनले भने, ‘वैधानिक रुपमा बिक्री गर्नको लागि उद्योग दर्ता गर्नुपर्छ ।’

सिंजा –६ महिलालाई स्याउका परिकार बनाउन सिंजा गाउँपालिका सहयोग, उद्योग विकास शाखा जुम्लाको आयोजनामा तालिम दिइएको थियो । यता जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्यबराबरको स्याउ जुम्लाले बेचेको हो । तथ्यांकअनुसार कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा रोपिएका स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो ।

जुम्लामा रेड,रोयल,गोल्डेनसँगै उच्च घनत्वको स्याउ समेत उत्पादन भइरहेको छ । जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीका सुर्खेत बाहेक ९ जिल्लाको ९ हजार ३ सय ७७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । जसमध्ये ३ हजार ४ सय १९ हेक्टर जमिनलाई उत्पादनशील क्षेत्र मानिन्छ । उत्पादनशील क्षेत्रमा प्रतिहेक्टर ९.१० मेट्रिक टन स्याउ औसतमा उत्पादन हुन्छ ।

मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को तथ्यांक अनुसार २ वर्षअघि कर्णालीमा ३१ हजार १ सय २ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

स्याउका परिकार बनाउन सीप सिक्दै जुम्ली महिला

मध्यपहाडी लोकमार्ग : जाजरकोट सडकखण्ड अझै पूरा

स्याउका परिकार बनाउन सीप सिक्दै जुम्ली महिला

हल्जी गाउँका भिक्षुको स्वास्थ्य परीक्षण