दसैँका लागि सल्यानबाट ६ करोडका खसीबोका निकासी


दसैँका लागि सल्यानबाट ६ करोडका तीन हजार खसीबोका निकासी भएका छन् । कपुरकोट, कालीमाटी र सल्लीबजार नाकाबाट दसैँका लागि ६ करोडका तीन हजार वटाभन्दा धेरै खसीबोका निकासी भएका हुन् ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयले दिएको जानकारी अनुसार त्रिवेणी गाउँपालिकाबाट तीन सय, कपुरकोटबाट एक हजार, कालीमाटी गाउँपालिकाबाट पाँच सय, बन्गाड कुपिण्डे नगरपालिकाबाट तीन सय र अन्य पालिकाबाट ६ सय वटा खसीबोका निकासी भएका हुन् ।

निकासी भएका खसीबोका काठमाडौँ नेपालगन्ज, दाङ लगायतका शहरमा गएका पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका सुचना अधिकारी बिरेन्द्र केसीले बताए ।

सबैभन्दा बढी खसीबोका काठमाडौँ गएका उनले जानकारी दिए । उनका अनुसार जिल्लामा किसानले उत्पादन गरेका खसीबोका केही ब्यक्ति, फर्मवाला र सहकारीले बाहिर पठाएका थिए । जिल्लाका किसानले पालेका खसीबोकाको माग बढ्दै गएको र पछिल्लो समय राम्रोसँग बजार समेत पाइएको उनले बताए ।

जिल्लाका अधिकांश किसान नुन, तेलको गर्जो टार्न सहज हुने मात्र नभई आयआर्जनका लागि भन्दै बाख्रापालन ब्यवसायमा लागेका छन् । दस स्थानीय तहबाट वार्षिक ८० करोडभन्दा बढीको खसीबोका निकासी हुने गरेको कार्यालयले जनायो ।

बाख्रापालन ब्यवसायमा लागेपछि आर्थिक अवस्था कमजोर भएका धेरै किसानको जीवनस्तरमा सुधार आएको र विगतमा रोजगारीको लागि भारतका विभिन्न स्थानमा जान बाध्य हुँदै आएका अहिले धेरैले छाडेका उनको भनाइ छ ।

प्रत्येक वर्ष दुई करोड बढीको खसीबोका निकासी हुने त्रिबेणी गाउँपालिकाबाट यो वर्ष दसैँको लागि भनेर तीन सय निकासी भएका पालिकाका पशु स्वास्थ्य शाखा प्रमुख बसन्त रावतले बताए । किसानले उत्पादन गरेका खसीबोका स्थानीयले सहकारी र एक फर्मले खरिद गरेर बाहिर पठाएको उनले बताए ।

उनका अनुसार दसैँको लागि सहकारीले आउँदो २२ गतेसम्म खसीबोका बाहिर पठाउने भएकाले निर्यात संख्या बढ्न सक्ने अवस्था छ । स्थानीय सहकारी तथा एक फर्मले धमाधम खसीबोका खरिद गरेर बाहिर पठाउन थालेपछि विगतमा बिक्री गर्न विभिन्न कष्ट उठाउँदै आएका पालिका भित्रका किसानलाई अहिले धेरै राहत भएको छ ।

‘पछिल्लो समयमा पालिकाभित्रका किसान बाख्रापालन ब्यवसायमा उत्साहित भएका छन् । प्रत्येक घरले १० देखि २५ वटासम्म र फर्मवालाले ५० देखि सय वटासम्म खसीबोका पालेका छन् । यसले किसानको आर्थिक अवस्थामा धेरै सुधार आएको छ,’ उनले भने, ‘विगतमा दसैँ मनाउन साहुसँग ऋण सापटी लिँदै आएका किसानहरु अहिले खसीबोका बिक्री गरेको पैसाले धुमधामका साथ पर्व मनाउने मात्र नभई वर्षभरिको खर्च टार्दै आएका छन् ।’

नजिकिँदै गरेको दसैँको लागि कपुरकोट गाउँपालिका भित्रबाट भदौको तेस्रो सातादेखि अहिलेसम्म झन्डै दुई करोडका एक हजार खसीबोका बाहिर निकासी भएको लोकराज बीसीले बताए । किसानले उत्पादन गरेका सबै खसीबोका स्थानीय ब्यापारीले खरिद गरेर तुलसीपुर र काठमाडौँ पठाएका उनले बताए ।

बाख्रापालनको लागि पकेट क्षेत्रको रुपमा चिनिने कालीमाटी गाउँपालिकाबाट पनि दसैँको लागि भन्दै ६÷सात वटा गाडीमा निकासी भएका गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । वर्षभरि नै खसीबोका निकासी भइरहने भएकाले कति गए भन्ने त्यसको यकिन डाटा नभएको उनले बताए ।

दसैँका लागि सल्यानबाट ६ करोडका खसीबोका निकासी

छायाँनाथ ऋणमोक्ष मन्दिरमा ५२ हाते लिंगो फेरियो

दसैँका लागि सल्यानबाट ६ करोडका खसीबोका निकासी

‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता