जाजरकोटको त्रिभुवन माविमा रकम हिनामिना


जाजरकोटको एक सामुदायिक विद्यालयमा करोडौं रकम हिनामिना भएको उजुरीपछि छानबिन थालिएको छ । नलगाड नगरपालिका–७, दल्लीमा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालयका नाममा जम्मा गरिएको रकम हिनामिना भएको उजुरीपछि छानबिन थालिएको हो ।
जिल्ला प्रशासन कार्यालयको पत्रअनुसार नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबनि समिति बनेको थियो । उक्त समितिमा भट्टराईसँगै आर्थिक प्रशासन शाखा प्रमुख यामलाल ढकाल र योजना शाखा प्रमुख लालबहादुर खत्री सदस्य थिए ।
उक्त समितिले तयार गरेको छानबिन प्रतिवेदनअनुसार उक्त विद्यालयमा ठूलो मात्रामा रकम हिनामिना भएकाले अनुसन्धान गर्न आवाश्यक देखिएको निष्कर्ष निकालेको छ । समितिले तयार पारेको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई बुझाइसकेको पाइएको छ । त्रिभुवन मावि २०३८ सालबाट सञ्चालित विद्यालय हो । यही ठाउँमा चर्चित नलसिंहगाड जलविद्युत आयोजना बनिरहेको छ ।
उक्त आयोजनाले विद्यालयको नाममा रहेको जग्गा लिएको छ । आयोजनाले ०७१ साल माघ २१ गते दक्षिणतर्फको ९०–२–१–० जग्गा प्रतिरोपनी चार लाखका दरले तीन करोड ६० लाख रुपैयाँ विद्यालयको नाममा भुक्तानी गरेर जमिन अधिग्रहण गरेको थियो । विद्यालयको नाममा बैंकमा जम्मा भएको रकम अहिले हिनामिना भएको आशंका गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको टोलीले सात दिनमा गरेको अनुसन्धानले रकम हिनामिना भएको र थप आवश्यक छानबिन गर्नुपर्ने देखाएको छ ।
प्राप्त विवरणअनुसार उक्त रकम नेपाल बैंकको चल्ती खातामा रहेको कोटेसनमार्फत् सबैभन्दा बढी ब्याज दिने सिटिजन्स बैंकको जाजरकोट शाखाबाट वार्षिक ६ प्रतिशत ब्याज प्राप्त हुने गरी उक्त बैँकको मुद्दती खातमा जम्मा गरिएको थियो । रकम जलविद्युत आयोजनाले दिएको भन्दा तीन लाख ५० हजार कम अर्थात् तीन करोड ५७ लाख रुपैयाँ मात्र ०७३ साल असार २२ गते पाँच वर्षका लागि भनेर उक्त बैँकको मुद्दती खातमा जम्मा गरिएको देखिन्छ ।
बाँकी तीन लाख ५० हजार रकम नेपाल बैंक लिमिटेडको जाजरकोट शाखामा रहेको उक्त विद्यालयका निवर्तमान प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर सिंहले अध्ययन समितिलाई जानकारी गराएका छन् । यद्यपि उक्त तथ्य विद्यालयको बैँक स्टेटमेन्ट छैन । सिटिजन्स बैँक शाखा जाजरकोटबाट प्राप्त ब्याज ९८ लाख ६६ हजार प्राप्त भएको छ । सिटिजन्स बैँकमा जम्मा भएको रकममध्ये एक करोड ५० लाख ०७८ साउन १० गते साँग्रिला विकास बैँकमा चेक क्लियरिङमार्फत् रकमान्तर गरिएको छ ।
प्रतिवेदनअनुसार सिटिजन्स बैंकबाट प्राप्त ब्याज तथा साँवा रकम विभिन्न व्यक्तिको नाममा निकासा भएको छ भने अहिले बैँकमा कुनै पनि रकम मौज्दात छैन । साथै सिटिजन्स इन्टरनेसनलमा रहेको मुद्दती खाताबाट विद्यालयले ०७६ कात्तिक १६ गते मौज्दातमध्ये मुद्दती रसिदको धितो ५० लाख कर्जासमेत उपभोग गरेको र सो कर्जा उपभोग गरेवापत विद्यालयले नौ लाख रुपैयाँ उक्त बैँकलाई ब्याजवापत बुझाएको देखिएको छ ।
५० लाख रकम लिन ०७६ कात्तिक २५ गते विद्यालय व्यवस्थापन समितिको निर्णय गरेको देखिए पनि ब्याज भुक्तानीसम्बन्धी निर्णय उपलब्ध हुन नसकेको अध्ययन समितिले जनाएको छ । स्रोतका अनुसार उक्त विषयप्रति अख्तियारले पनि चासोका साथ हेरिरहेको छ । त्रिभुवन माविका प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर सिंहले सबै कुरा छानबिन समितिलाई बुझाइसकिएको बताए ।
सिंहले भने, ‘हामीले सबै डकुमेन्ट समितिलाई बुझाएका छौँ । प्रतिवेदनमा भनेजस्तो छैन होला ।’ व्यक्तिका नाममा रकम भुक्तानीको विषयमा सिंहले काम गरेपछि व्यक्तिको नाममा भुक्तानी हुन स्वाभाविक नै रहेको बताए । ‘सबै नगरपालिकाको भर परेर बस्न सकिँदैन, केही काम गर्नलाई ऋण सापट गरेर आफ्नै तरिकाले काम गर्नैपर्ने हुन्छ,’ उनले भने, ‘मुद्दतीकै पैसा ल्याएर निर्माण सामग्रीको काम चाहिँ भएको छैन ।’






