वर्षाले क्षति पुगेका सडक स्थानीय तहद्वारा मर्मत

![]()
गत असारमा वर्षाका कारण क्षतिग्रस्त भएका ग्रामीण सडकहरू स्थानीय तहले मर्मत गरेका छन् । वर्षा रोकिएको र दसैँमा घर फर्किनेलाई सास्ती हुन थालेपछि केही स्थानीय तहले टेन्डर गरेर सडक मर्मत गराइरहेका छन् भने केहीले आफ्नै डोजर र जेसीभी प्रयोग गरेर क्षति पुगेका ग्रामीण सडक मर्मत गरेका हुन् ।
पहिलो चरणमा स्थानीय तहले पालिकाको केन्द्रदेखि वडासम्म जोडिने मुख्य सडक मर्मतलाई प्राथमिकता दिएका छन् भने त्यसपछि घनाबस्ती जोडिने भित्री सडक मर्मतमा प्राथमिकता दिएका छन् ।
धमाधम मर्मत कार्य अगाडि बढाएपछि केही दिनसम्म गाडीमा आउजाउ गर्दा सास्ती हुने र अवरुद्ध हुँदा लामो समय हिड्न बाध्य हुँदै आएका ग्रामीण क्षेत्रका स्थानीय अहिले घर नजिकैसम्म गाडीमा पुग्न थालेका छन् ।
धमाधम मर्मतपछि लामो समयदेखि अवरुद्ध सडकमा गाडी गुड्न थालेपछि अहिले दसैँ, तिहार मनाउन घर फर्किने र उपचारका लागि बाहिर लैजान पर्ने बिरामीलाई धेरै राहत भएको छ ।
स्थानीयले बिरामी भएकालाई समयमै अस्पताल पु¥याउन पाएका छन् । वर्षाले क्षति पुगेको सडक स्थानीय तहलले मर्मत गर्न थालेपछि दुई महिना बढी समयदेखि अवरुद्ध भएको दार्मा गाउँपालिकाको मौलाहाले–फारुला–दार्माकोट सडक बुधबारदेखि सुचारु भएको र अहिले आउजाउ गर्न सहज भएको दार्माकोटका ३८ वर्षीय रत्नबहादुर बस्नेतले बताए ।
घरबाट बाहिर आउजाउ गर्नु पर्दा गाडी चल्ने स्थानसम्म झन्डै दुई घन्टा हिड्नुपर्नेमा अहिले घर नजिकैसम्म गाडीमा जान सकिने उनले जानकारी गराए ।
असार १५ देखि अवरुद्ध भएको कालिमाटी–बालुवा–दम्दवाली सडक पालिकाले मर्मत गर्न थालेपछि छिट्टै खुल्ने कालिमाटी गाउँपालिका ५ दम्दवालीका सुरेश गाहा मगरले बताए । अवरुद्ध सडक खुलेमा कसैले हिड्न पर्ने र विरामीलाई स्टेचरमा बोकेर लैजान नपर्ने उनले जानकारी गराए ।
‘सडक अवरुद्ध हुँदा गाउँघरमा उत्पादित बस्तु, दुध, तरकारी त्यत्तिकै खेर गएका थिए । अबका दिनमा किसानले बजारमा लगेर सहज रुपमा बिक्रि गर्न पाउनेछन्,’ उनले भने ।
मर्मत कार्यले वर्षाको भेलले बगाई ल्याएको ढुंगामाटोका कारण बेलाबेलामा सडक अवरुद्ध हुने र हिलाम्मे सडकमा फसेका गाडी धकेल्नु पर्ने बाध्यताको अन्त्य भएको माझखर्कका पुर्णबहादुर रोकाले बताए । सम्बन्धित निकायले सडक मर्मत गरेपनि अहिले काम चलाउ मात्र भएकाले जोखिम भने उत्तिकै रहेको र पुन वर्षा भएमा सडकको अवस्था पहिलाको जस्तै हुने उनले जानकारी गराए ।
वर्षाले क्षति पुगेका सडक धमाधम मर्मत भइरहेको र अहिले पालिकादेखि वडा पुग्ने सडक सबै सम्पन्न भएर भित्री सडकमा काम भइरहेको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले बताए । आउँदो केही दिनभित्र पालिकाका सबै सडक मर्मतको काम सम्पन्न हुने उनले बताए ।
‘हामीले साताअघि नै मर्मतको काम सुरु गरेका थियौँ । अहिलेसम्म सकिन्थ्यो,’ उनले भने, ‘बीचमा तीन दिन वर्षा हुँदा मर्मत कार्य रोकिएको थियो । अहिले वर्षा रोकिएपछि काम धमाधम भइरहेको छ ।’
मर्मतको काम सुरु गरेपछि लामो समयदेखि अवरुद्ध केही सडक संचालनमा आइसकेका र यसले गर्दा स्थानीयलाई धेरै सहज भएको दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसमबहादुर ओलीले बताए । लामो समयसम्म परेको वर्षाका कारण नै मर्मत कार्य समयमै सम्पन्न गर्न नसकिएको उनले जानकारी गराए ।
आउँदो २० गतेसम्म पालिका भित्रका सबै क्षतिग्रस्त सडक मर्मत सम्पन्न हुने उनको भनाई छ । वर्षाले क्षति पुगेका सडक मर्मत गर्न एक महिना अघि टेन्डर आह्वान गरेपनि बीच–बीचमा पर्ने पानीले गर्दा समयमै काम गर्न नसकिएपनि अहिले धमाधम मर्मतको काम भइरहेको कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले बताए ।
पालिकाका दुई स्थानमा अवरुद्ध भएका मुख्य सडक खुलाउने काम भइरहेको उनले जानकारी गराए । कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार ओलीले तीन दिनअघि देखि मर्मतको काम सुरु गरेको र अहिले पालिकाको मुख्य सडकमा काम सम्पन्न भइसकेको बताए ।






