ओखरका बिरुवा बेचेर आम्दानी

सिंह कठायतको नर्सरीको तस्बिर

जुम्लाको पातारासी गाउँपालिका –७ घोडासैन गाउँका सिंह कठायत पेसाले उनी सरकारी कर्मचारी हुन् । विगत २८ वर्ष देखि सरकारी सेवा कार्यरत छन् । सिंह जुम्लाको बागवानी अनुसन्धान केन्द्र राजिकोटका सहयोगी कर्मचारी हुन् । तर, उनी एक असल किसानका रुपले प्रख्यात मानिन्छन्। अहिले सिंह कठायतलाई दाँतेओखरका बिरुवा बेच्न भ्याइनभ्याइ छ ।

उनी यस वर्ष दाँते ओखरका १२ हजारभन्दा बढी ओखरका बिरुवा बेचेको बताउँछन् । प्रतिबिरुवा ४ सय रुपैयाँका दरले बेच्दा उनले एकै पटक करिब ४८ लाख रुपैयाँ आम्दानी गरेको बताए । उनले पहिलो वर्ष एक हजार,दोस्रो वर्ष ७ सय,तेस्रोपटक साढे ५ सय र रुपैयाँमा प्रतिविरुवा बेच्दै आएका थिए।उनलाई भने, आफ्नो तलब ३५ हजार हुन्छ । तर, केही पुग्दैन ।

ओखर खेतीले छुट्टै पहिचान दिएको खुसी भएको बताउँछन् । उनी कार्यालय अवधि मात्रै खाली हुन्छन् । अरु समय सबै कुटो कोदालो बोकेर बारीमा व्यस्त देखिन्छन् । उनलाई उनकी पत्नी विष्णुकली कठायतले सघाउने गर्छन् । उनको घरमा एक छोरी एक छोरा छन् ।

छोराले आईसीजी सकाएका छन् । भने छोरी स्नातकोत्तर पढ्दै छन् । ओखर बेचेर नेपालगन्जमा ४५ लाख पक्की घर लगाएको विष्णुककली बताउँछिन् । जिल्लामा सबैभन्दा बढी ओखर बिरुवा बेच्ने किसान सिंह कठायत नै रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

उनीलगायत जिल्लाका ६५ जना नर्सरीधनीले ६० हजार ओखरका बिरुवा बेचेका छन्, जसबाट २ करोड ४० लाख रुपैयाँ जुम्लामा भित्रिएको कार्यालयको तथ्यांकले देखाउँछ । ओखर बिरुवाका ९० जना बिरुवा नर्सरीधनी जिल्ला कृषि विकास कार्यालय जुम्लामा सूचीकृत भएको मध्ये ६५ जनाले सक्रिय रूपमा बिरुवा हुकाइरहेको कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । उनीहरू सबैले देशका हिमाली तथा पहाडी जिल्लामा पु¥याइरहेका छन् ।

कृषि प्राविधिकहरूको नियमित निगरानीमा ओखर नर्सरीधनीहरूले गुणस्तरीय बिरुवा उत्पादन गरेका कारण बाहिरका जिल्लाबाट ओखर बिरुवाको माग अधिक रहेको कार्यालयले दाबी गरेको छ । एक किसानले न्यूनतम २ सयदेखि १२ हजा भन्दा बढी ओखरका बिरुवा बेचेको जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ ।

किसानले उत्पादन गरेका अधिकांश ओखरका बिरुवा बिक्री भइरहेको कार्यालय प्रमुख देवकोटा बताउँछन् । जुम्लाको एक मात्रै चन्दननाथ नगरपालिकादेखि सात वटा गाउँपालिकाका र ६० वटै वडामा ओखर खेती भइरहेको छ ।

‘जुम्लाका सबै क्षेत्रमा ओखर खेती भइरहेको छ,’ प्रमुख देवकोटाले भने, ‘फलफूलका लागि जुम्ला स्वर्णभूमि नै हो । चालु आर्थिक वर्षमा ताप्लेजुङ, संखुवासभा, रामेछाप, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, बझाङ, बाजुरा, हुम्ला, कालीकोट, दैलेख लगायत जिल्लामा जुम्ली ओखरका बिरुवा पुगेका छन् । ओखर खेतीमा पछिल्लो समयमा किसानको रुचि बढेको कार्यालय प्रमुख देवकाटाले बताए। सरकारी दररेटअनुसार प्रतिबिरुवा ओखर बोटको ७ सय रुपैयाँ तोकिएको उनको भनाइ छ ।

तर किसानले महँगोमा बिक्री नहुने भन्दै आफ्नो अनुकूलको मूल्यमा बिरुवा बेचेका हुन् । संघसंस्था, सरकारी निकाय, कृषक समूह र व्यक्तिगत रूपमा किसान आफैं जुम्ला पुगेर ओखरका बिरुवा खरिद गरेर लैजाने गरेको कृषि कार्यालय जुम्लाले बताएको छ ।

सबैभन्दा बढी जुम्लाको पातारासी गाउँपालिकाबाट झन्डै ओखरका बिरुवा ३० हजार थान जिल्लाबाहिर पठाइएको कार्यालयको तथ्यांकमा उल्लेख छ । अन्य गाउँपालिकाबाट दुई हजारदेखि ५ हजारसम्म बिरुवा बाहिरी जिल्ला पठाइएको कार्यालयको तथ्यांकमा छ । पुसदेखि फागुन पहिलो सातासम्म जुम्ली किसानलाई ओखरका बिरुवा बेच्न भ्याइनभ्याइ हुने गरेको छ ।

ओखरका बिरुवा बेचेर आम्दानी

कानको जुली बेचेर डल बनाउने सिप सिकेकी