दुर्गमका विद्यालयलाई विज्ञान प्रयोगात्मक सामग्री


जुम्लाको सिंजा गाउँपालिकामा केही दिन अगाडि आठ कक्षाको परीक्षाको नतिजा प्रकाशन भयो।उक्त परीक्षामा ४६ जना विद्यार्थीमात्र उत्तिर्ण घोषित भए । सिंजा गाउँपालिका अन्तर्गतको शिक्षा शाखाको प्रारम्भिक अनुमानअनुसार विज्ञान विषयमा असफल हुने विद्यार्थीको संख्या बढी छन् । यसबाट विद्यालय तहमा विज्ञान विषयको पढाइ प्रभावकारी नभएको र अधिकांश विद्यार्थीलाई विज्ञान विषय कठिन लागेको पुष्टि हुन्छ ।

विज्ञान पढाइने तरिकानै त्रुटिपूर्ण छ ? विज्ञान कठिन विषय होइन, विद्यालयमा विज्ञान पढाउने विधि प्रभावकारी नभएको हो । विज्ञान प्रमाणमा आधारित हुन्छ । विज्ञानको विशेषता भनेकै प्रमाणिकता र प्रयोगहरू हुन् । विद्यार्थीले कक्षामा पढेका वा सिकेका विज्ञानका सिद्धान्त, सूत्र तथा प्रक्रिया प्रयोगशालामा ठोस प्रयोगद्वारा प्रमाणित भएको हुनुपर्छ । विद्यार्थी आफैँले प्रयोगशालामा ती सिद्धान्त प्रयोगमार्फत् प्रमाणित गर्न सक्नुपर्छ । तर,दुर्गमका अधिकांश विद्यालयमा विज्ञान विषयका विद्यार्थीले कुनै वैज्ञानिक प्रयोग गरेका वा देखेका पनि हुँदैनन् ।

विशेषगरी सरकारी विद्यालयमा यसका लागि आवश्यक सुविधायुक्त प्रयोगशाला हुँदैनन् । भनिन्छ, विज्ञानमा सिद्धान्तबिनाको प्रयोग अर्थहीन हुन्छ र प्रयोगबिनाको सिद्धान्त अधुरो । त्यसैले विज्ञानमा सिद्धान्त र प्रयोग दुवैको त्यत्तिकै महत्व हुन्छ । हाम्रो विज्ञान विषयको पठनपाठन सैद्धान्तिकमात्र हुने गरेको छ ।

विद्यार्थीले कक्षामा सिकेका विज्ञानका सिद्धान्त प्रयोगशालामा प्रयोगद्वारा प्रमाणित भएको देखेका हुँदैनन् । यिनै कारणले गर्दा पनि विद्यालय तहका विद्यार्थीका लागि विज्ञान गाह्रो विषय बन्ने गरेको छ । विज्ञान विषयको पठनपाठन प्रभावकारी बनाउन सैद्धान्तिक कक्षाको साथै प्रयोगात्मक कक्षामा पनि त्यतिकै जोड दिनु आवश्यक देखिन्छ ।

यसलाई समस्यालाई मध्यनजर गर्दै जुम्लाको सिंजा गाउँपालिका–२ मा अवस्थित माध्यमिक विद्यालय चुलेलगाँउमा विज्ञानका प्रयोगात्मक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपालीको आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाको साझेदारीमा संचालनमा रहेको शसक्त बालिका परियोजना अन्तर्गत उक्त विद्यालयमा विज्ञान प्रयोगशालाको दिगो व्यवस्थापन र संचालन लागि विज्ञानका प्रयोगात्मक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

सिंजा गाउँपालिकाको अगुवाइमा हस्तान्तरण गरिएको थियोे। ९१ प्रकारको ४ लाख बराबरको विज्ञानका प्रयोगात्मक शैक्षिक सामाग्री उपलब्ध गराइएको छ । विज्ञान र प्रविधिबारे नयाँ नयाँ सामग्रीहरू रहेको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘विज्ञान र प्रविधिको बारेमा सिकाउनु अहिले अपरिहार्य छ । यसले दुर्गमका विद्यार्थीलाई शिक्षण सिकाइमा ठुलो सहयोग पुग्नेछ ।

कक्षा १० मा अध्ययनरत छात्रा पुजा पछाईले खुसी हुँदै भनिन्, ‘स्कुलमा यस्ता कुरा पढाइ त हुन्छ तर प्राक्टिकल अलि कम हुन्छ । मैले हेर्ने मौका पाएँ र धेरै कुरा सिक्नेछु ।’ यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिर्थ वडले आफ्नो विगत सम्झिँदै भने, ‘हाम्रो पालामा यस्तो प्राक्टिकलका सामान त्यति थिएनन् ।

सूत्रहरू घोक्यो, कण्ठ पा¥यो । यस्तो देख्न पाएको भए अझै धेरै कन्सेप्ट आउँथ्यो होला ।’ विद्यालयलाई सहयोग गर्नेछ सहयोगी हातहरुलाई धन्यवाद दिए । यता सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले विज्ञान सामाग्रीले गाउँका विद्यार्थीको शिक्षणमा टेवा पुग्ने बताए।विद्यालयका प्रध्यानाध्यापक जयलला खत्रीले आजको वैज्ञानिक युगमा गुणस्तरीय विज्ञान शिक्षाको ठूलो महत्व छ।यसले ठुलो अर्थ राख्ने बताए । यता शिक्षा शाखा प्रमुख शंकर धितालका अनुसार विज्ञान शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विज्ञान विषयको सैद्धान्तिक ज्ञानमात्र दिएर पुग्दैन ।

विद्यार्थीलाई प्रयोगात्मक ज्ञान प्रदान गर्न जरुरी छ। यसको लागि विज्ञान विषयको पठनपाठन हुने हरेक शैक्षिक संस्थामा सुविधायुक्त विज्ञान प्रयोगशाला निर्माण गरिनुपर्छ ।

कार्यक्रममा वक्ताहरुले विद्यालयका शैक्षिक गुणस्तर संगै विद्यार्थीको सामाजिक, नैतिक र मनोविज्ञानिक विकासमा पनि ध्यान दिन आवश्यक रहेको जोड दिए ।

तपाईको प्रतिक्रिया