सुर्खेत । जनप्रतिनिधिको काम गर्ने इच्छाशक्ति भए कसले रोक्दो रहेछ । त्यस्तै रास्कोट नगरपालिकामा २०७९ चुनावपछि नयाँ जनप्रतिनीधि आएपछि नागरिकलाई गाउँमा नै सिंहदरबार आएको अनुभूती दिएको छ । गाउँमा आएका सिंहदरबार बलियो भयो भने जनजीविका र विकासका सवालमा जतिपनि काम गर्न सकिन्छ भन्ने गतिलो उदाहरण हो कालिकोटको रास्कोट नगरपालिका ।
दुई अघि दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएका जनप्रतिनिधिले एउटा नारा बनाए, ‘हामी बनाउँछौः हाम्रो नगर ।’ यही नारालाई टेकेर रास्कोट नगरपालिका र यसका जनप्रतिनिधिले पालिकाभित्र नमूना काम गरेर देखाइरहेका छन् । पालिकाले थालेका केही चर्चा गर्न लाएक कामहरुको चर्चा गर्ने प्रयास यस सामाग्रीमा गरिएको छ
मेयर हेल्थ केयर कार्यक्रम
रास्कोट नगरपालिकाले नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि मेयर हेल्थ केयर कार्यक्रम ल्याएको छ । यो कार्यक्रम अन्तर्गत महिनाको एक दिन हरेक वडामा एकजना एमबिबिएस डाक्टरसहितको टोली पुगेर जनताको स्वास्थ्य परीक्षण गर्ने गरेको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।
‘नौ वटा वडा भएको रास्कोटमा यस्तो शिबिर एउटा वडामा बर्षमा चार पटक चल्छ,’ उनले भने, ‘जहाँ चिकित्सकले ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीलाई केन्द्रमा राखेर सुविधा दिइरहेको छ ।’ स्थानीय जनताका प्रेसर, सुगर, सामान्य ल्याव परीक्षणदेखि गर्भवती महिलाको भिडियो एक्सरेसम्मका सुविधा नगरपालिकाले उपलव्ध गराउने गरेको छ । स्वास्थ्य परीक्षण गर्न वडामा जाँदा हामी नुन पनिसँगै लिएर जाने गरेको प्रमुख शाहीले बताए ।
‘जहाँ १ परिवारले १० पोकासम्म नुन ९ रुपैयाँ प्रतिकेजी तिरेर घर लैजान पाउँछन् ।’ उनले भने,‘यो कार्यक्रमले यहाँका धेरै नागरिक लाभान्वित भएका छन् ।’
गाउँमा पाइन्छ आयोडिनयुक्त नुन
रास्कोट नगरपालिकाका स्थानीय केही अघिसम्म १० पोका नुन किन्न एक दिनको पैदलयात्रा तय गरेर सदरमुकाम पुग्थे । गाडी चढ्नेहरुले ९० रुपैयाँको नुन किन्न दुई हजार रुपैयाँ गाडी भाडामा खर्च गर्थे । तर, अहिले दिन फेरिएको छ । नगरपालिकाको पहलमा पालिकामै साल्ट ड्रेडिङ कर्पोरेशनको डिपो स्थापना भएको छ । जहाँबाट स्थानीयले नौ रुपैयाँ किलोमा नुन पाइरहेका छन् ।
वडाबासीलाई आठ पुसबाट सुरु भएको नुन वितरण कार्यक्रम अहिलेसम्म पनि यो कार्यक्रममा लागू भइरहेको छ । वडावासीले सम्वन्धित वडाले उपलव्ध गराएको कुपन लिएर आएमा ११ पोकासम्म नुन नौ रुपैयाँ केजीका दरले पाइरहेका छन् । यसअघि नुन खानसमेत सास्ती खेप्ने पालिकाबासी अहिले पालिकाको आँगनमै नुन पाउँदा दङ्ग छन् ।
दैलोमै पुग्छ ज्येष्ठ नागरिक भत्ता
ज्येष्ठ नागरिकको सम्मान गर्न भन्दै नगरपालिकाले पछिल्लो दिन स्थानीयवासीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको प्रमुख शाहीले बताए । ‘त्रैमासिक रुपमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर सबै वडाका घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरिदै आएको छ,’ उनले भने, ‘यो टोलीमा बैंकका कर्मचारी, जनप्रतिनिधि र नगर प्रहरीसमेत संलग्न हुन्छन् ।’ यसअघि सामाजिक सुरक्षा भत्ता लिन नगरपालिकाको केन्द्र पुग्नैपर्ने वाध्यताबाट अब रास्कोटका ज्येष्ठ नागरिकलगायतले मुक्ति पाएका छन् ।
एक घर एक खानेपानीको धारा
रास्कोट नगरपालिकाका बस्तीमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिएको छ । एक घर खानेपानीको धारा अन्र्तगत रास्कोट नगरपालिका तीन हजार घरधुरीमा धारा जडान गर्ने अभियान रहेको छ । अहिले एक हजार आठ सय घरधुरीमा खानेपानीको धारा जडान गरिएको नगरपालिकाले जनाएको छ । १२ सय घरधुरीमा खानेपानी चाँडै पु¥याउने नगरपालिकाको लक्ष्य रहेको छ ।
प्रदेशकै पहिलो नगर प्रहरी
कर्णाली प्रदेशका कुनैपनि स्थानीय तहसँग आफ्नै प्रहरी फोर्स नभएका बेला रास्कोट नगरपालिकाले आफ्नै प्रहरी फोर्स राख्ने पहल थाल्यो । लामो पहलपछि गत वर्षबाट यो प्रयास सफल भएको प्रमुख शाहीले बताए । ‘पालिकामा अहिले हवल्दारको नेतृत्वमा ७९ जना नगरप्रहरी सुरक्षाका लागि निरन्तर खटिएका छन्,’ उनले भने, ‘गत वर्ष फागुनबाट आफ्नै प्रहरीमार्फत नगरको सुरक्षा गरिरहेको रास्कोट प्रहरी नियुक्ति गर्ने प्रदेशकै पहिलो पालिका हो ।’
घरघरमा खाद्यको चामल, विपन्नलाई सुलभ ऋण
नुन जस्तै चालम किन्न पनि सदरमुकाम धाइरहेका रास्कोटबासी अहिले चामल किन्न पनि सदरमुकाम पुगिरहन पर्दैन । जनप्रतिनिधिको पहलमा पालिका मुकाममै नेपाल खाद्य संस्थानको डिपो आएको छ । जहाँबाट स्थानीयले सुलभ मूल्यमा खाद्य संस्थानमार्फत गुणस्तरीय चामल खान पाइरहेको प्रमुख शाहीले जानकारी दिए । यसअघि बैंकिङ पहुँचभन्दा टाढा रहेको रास्कोटमा अहिले बैँकमात्र पुगेको छैन, नगरपालिकाको पहलमा बैंकमार्फत चार प्रतिशत व्याजदरमा विपन्नले उद्यमशीलता कर्जा पनि पाइरहेका छन् ।
राष्ट्रिय बाणिज्य बैंकसँगको सहकार्यमा नगरका विपन्न व्यक्तिलाई चार प्रतिशत व्याजमै कृषलगायतका उद्यमशीलता शीर्षकमा ऋण प्रवाह भइरहेको छ । यो ऋणबाट स्थानीयले कृषि कर्मबाट मनग्य आम्दानी गरिरहेको प्रमुख शाहीले बताए । ‘नगरपालिका अब औधोगिक ग्राम बनाउने अभियानमा जुटेको छ ।’ उनले भने,‘यो अभियान सफल भएपछि यहाँका रैथाने बालीहरुः जौँ, फापर, कोदोलगायतले बजारमात्र पाउने छैनन् हल्दी प्रशोधनलगायतका उद्योग नगरकै प्रयासमा खोलिने छन् ।’
स्थानीय पाठ्यक्रम, अंग्रेजीमा पढाइ
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएका बेला रास्कोट नगरपालिकाले निर्णय गर्यो, पालिकाभित्रको वडिमालिका रास्कोट माविमा अंग्रेजी माध्यमबाट पढाउने । पालिकाको यो निर्णयपछि अहिले सो विद्यालयमा कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पढाइ भइरहेको छ । आगामी वर्ष कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाउने योजना रहेको प्रमुख शाहीले बताए । ‘नगरभित्रका ४ वटै माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने तयारी गरिरहेको बताएका छन्,’ उनले भने, ‘अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि नतिजापनि राम्रो आएको छ ।’
चार मावि, ३१ वटा प्रावि र ४१ वटा बालविकास केन्द्र रहेको रास्कोटमा अहिले तहगत प्रधानअध्यापक परिचालन गरिएको छ । जसका कारण दरबन्दी अनुसारको शिक्षक सबैजसो विद्यालयले पाएको र शिक्षाको गुणस्तरसमेत सुधारको बाटोमा रहेको प्रमुख शाहीले बताए । उनका अनुसार ४ वटै माध्यमिक विद्यालयमा हाल विद्यालय सुरक्षा गार्ड र खेलकुद शिक्षकको समेत व्यवस्थापन गरिएको छ ।
लोकप्रिय घर बीमा, सहज स्वास्थ्य
नगरपालिकाले प्रदेश र संघीय सरकारसहित विभिन्न संस्थाको सहयोग र समन्वयमा नगरभित्रका दुई हजार पाँच सय ९५ घरको निःशुल्क बीमा गरिदिएको छ । प्राकृतिक बिपत्तिबाट उनीहरुका घर भत्किएको अवस्थामा जनताले बीमा दाबी गर्न पाउने भएका छन् । बीमा गरिएका घरले क्षति पुगेको अवस्थामा ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको बीमा दाबी गर्न पाउने अवस्था पालिकाले बनाएको छ ।
रास्कोट नगर अस्पतालमा दुई जना एमबीबीएस चिकित्सकले निरन्तर सेवा दिएका कारण सामान्य बिरामीले सदरमुकाम लगायत अन्यत्रको अस्पताल जानुपर्ने वाध्यताको पनि अन्त्य गरेको प्रमुख शाहीले बताए । शाहीका अनुसार नगरमा अहिले ११ वटा स्वास्थ्य इकाइमार्फत पनि सर्वसाधारणको स्वास्थ्य परीक्षण हुने गरेको छ ।
घर घरै बिजुली
नगरपालिकाका सबै वडा राष्ट्रिय प्रशारण लाइनसँग जोडिइसकेका छन् । सबै वडामा बिजुलीको पहुँच पुगेको र सडकको पहुँच नभएका केही स्थानमा मात्र बिजुली पुग्न नसकेको प्रमुख शाहीले बताए । यहाँका ९ वटै पालिका मध्य रास्कोटको भुगोल पनी सजिलो रहेको छ । सजिलो मिलेको भुगोलमा सकरात्मक सोच र मिलेका जनप्रतिनिधिहरुले संघियता आएको ६ वर्षमा अहिले रास्कोट बिकासले फेरीको छ ।
अप्टिकल फाइबरको पहुँच
नगरपालिकामा अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आएको छ । नगरपालिकामा इन्टरनेट भरपर्दो बनाउनका लागि अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा ल्याएको हो । रास्कोट नगरपालिकाको मुकाम आरसिपी बजारलगायतका नगरपालिका भित्रका सबै वडामा इन्टरनेट जडान गरिएको छ ।
फाइबर इन्टरनेट एकदमै लोकप्रिय हुँदै गएको र अहिले फाइबर इन्टरनेटको माग बढ्दै गइरहेको अवस्थामा रास्कोट नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान गरिएको प्रमुख शाहीले जानकारी दिए । नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान गरिएको र यसले विद्यालय, सरकारी कार्यालय र निजी क्षेत्रलाई सेवा लिने प्रमुख शाहीले बताए ।
एक घर, एक बगैचा
नगरपालिकालमा हरियाली नगर बनाउनका लागि ‘एक घर, एक बगैचा’ अनिवार्य गरिएको छ । हरियाली नगर बनाउनका लागि नगरपालिकाले ‘एक घर, एक बगैचा’ रोप्नुपर्ने नीति बनाएको हो । नगरपालिकामा खुक्खापन बढ्दै गएकाले ‘एक घर, एक बगैचा’ रोपेर हरियाली बनाउने योजना रहेको छ । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा ‘एक घर, एक बगैचा’ अनिवार्य रोप्ने नीति लिएको नगर प्रमुख शाहीले बताए । ‘आयआर्जनसँगै हरियाली रास्कोट बनाउनका लागि ‘एक घर, एक बगैचा’ कार्यक्रम ल्याएका छौं’, उनले भने, ‘स्याउ, ओखर, सुन्तला र टिमूरबाट आम्दानी पनि हुने र हरियाली पनि हुने भएकाले यो कार्यक्रम ल्याएका हौँ ।’
नगरपालिकाभित्रमा तीन हजार छ घरधुरी रहेका र ती सबै घरधुरीमा अनिवार्य बगैचाका लागि नगदे बालीका बिरुवा रोप्नुपर्ने नीति अघि सारिएको नगर प्रमुख शाहीले बताए । ‘हामीले कुनै पनि काम आर्थिक जीविकोपार्जनसँग जोड्न सक्नुपर्छ, त्यसका लागि ‘एक घर, एक बगैचा’ कार्यक्रम ल्याएका हौँ ।’, उनले भने, ‘केबल विकास भनेको सडक, पूर्वाधार, अनुदान मात्रै नभएर नागरिकको आयआर्जनसँग पनि जोड्न सक्नुपर्छ ।’
मिनि मार्केटलाई बनाउँदै आम्दानीको स्रोत
रास्कोटले मिनी मार्केट बनाउने उदेश्य राखेर सावैजनिक क्षेत्र कब्जा गरेर धनाइएका घर टहरा भत्काउन थालेको मिनि मार्केट बनाएको छ । जसले रास्कोट नगरपालिकाको आन्तरिक आयस्रोत बढाउनुका साथै बजारलाई व्यस्थित बनाउन रास्कोट नगरपालिका सफल भएको छ । व्यवस्थित तरिकाले सटर बनाएर मिनि मार्केटको अबधारण ल्याएर रास्कोट नगरपालिकाले आम्दानीको स्रोत बढाएको हो ।
रमेश रावल । सुर्खेत । १७ बैशाख २०८१, सोमबार १३:०३