संघीयताको मारमा दैलेख अस्पताल

झण्डै आधा दशकअघिसम्म स्तरिय उपचारका लागि जिल्लाका सम्पन्नदेखि ग्रामीण भेगका नागरिकको रोजाईमा पथ्र्यो दैलेख अस्पताल । स–साना घाउचोटदेखि जटिल खालका रोगको उपचारका लागि ती नागरिक दैलेख अस्पतालमा पुग्थे । दैलेख जिल्ला सदरमुकामस्थित उक्त अस्पताल संघीयता कार्यान्वयनयता मारमा परेको छ । १५ शैया सञ्चालनको स्वीकृत पाएको स्वास्थ्य सेवा कार्यालय अन्र्तगत अस्पतालमा हाल स्थायी दरबन्दी अनुसारको डाक्टर छैनन् ।

संघीय सरकारबाट प्रदेश सरकारको मातहतमा आएपछि पर्याप्त बजेटको उचित व्यवस्था नहुँदा सेवा प्रवाहमा कठिनाई भएको छ । संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै अस्पतालमा दरबन्दीअनुसार डाक्टर र स्वास्थ्यकर्मी छैनन् । बिरामीलाई वितरण गर्ने औषधिको अभाव छ । औषधी खरिदका लागि प्रर्याप्त बजेट समेत छैन् । सेवा सञ्चालनका लागि पर्याप्त जनशक्ति र रकम पठाउन प्रदेश सरकार गम्भिर बन्न सकेको छैन् । जनताको सेवासंग प्रत्यक्ष सरोकार राख्ने सुविधा सम्पन्न यस अस्पतालमा अहिले बेसहारा बन्नु परेको छ ।

यो अस्पतालमा दैलेखसहित छिमेकी जिल्ला कालिकोट, अछाम र जाजरकोटसम्मका बिरामी सेवा लिन आउँथे । पछिल्ला केहि समययता जिल्लामा रहेको अस्पताललाई तीनै तहको सरकारले पर्याप्त बजेट उपलब्ध गराउन नसक्दा अस्पतालको सेवा प्रवाह नै प्रभावित हुन पुगेको जानकारहरु बताउँछन् । विशेषज्ञ चिकित्सक, दरबन्दी अनुसारको स्वास्थ्यकर्मी र पर्याप्त बजेट नहुँदा अस्पतालको सेवा प्रवाह गुणस्तरिय हुन सकेको दैलेखका जीवराज रेग्मी बताउँछन् ।

उनले आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने जिल्लाकै ठूलो अस्पताललाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । प्रदेश सरकार मातहत आएपछि अस्पतालले तीन महिना मात्रै धान्न सक्ने खर्च पाएको र व्यवस्थापनमा कठिनाइ भइरहेको अस्पताल स्रोतले जनाएको छ । ‘अस्पतालमा १५ बेड सञ्चालनको स्वीकृत पाएको भएपनि हामीले ५५ बेडबाट स्वास्थ्य उपचार सेवा प्रवाह गरिरहेका छौँ, स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. धर्मराज रेग्मी भन्छन् ‘सरकारले १५ बेड बराबरको लागि मात्रै बजेट पठाउँछ ।’ अस्पताल संघीयताको मारमा परेको बताउँदै डा. रेग्मी भन्छन् ‘अहिले सिमित बजेटले अस्पातलको स्वास्थ्य सेवा प्रवाहलाई धानेका छौँ ।

दरबन्दी ६१, पदपुर्ती ३८ मात्रै

स्वास्थ्य सेवा कार्यालय÷दैलेख अस्पतालमा विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, अन्य स्वास्थ्यकर्मी लगाएत ६१ जनाको दरबन्दी छ । तर, हाल ३८ जनाको मात्रै पदपुर्ती भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका जनस्वास्थ्य निरीक्षक तथा सूचना अधिकारी नन्दलाल जैसीले कार्यालय प्रशासन र अस्पतालसहित ३८ जनाको मात्रै पदपुर्ती भएको बताए । अस्पतालमा विशेषज्ञ डाक्टर, मेडिकल अधिकृत र डेन्टल सर्जनसहित १४ जना डाक्टरको स्थायी दरबन्दी छ । तर, स्थायी दरबन्दी अनुसार पदपुर्ती हुन भने सकेको छैन् ।

अस्पतालमा सात जना विशेषज्ञ डाक्टरको स्थायी दरबन्दी छ । हाल दुई जना विशेषज्ञ डाक्टरहरु कार्यरत छन् । त्यो पनि काजमा । संघ अन्तर्गत दरबन्दी रहेका निमित्त स्वास्थ्य सेवा व्यवस्थापकसमेत रहेका स्त्री रोग विशेषज्ञ डा. धर्मराज रेग्मीसहित दुई जना विशेषज्ञ चिकित्सक हाल दैलेख अस्पतालमा काजमा कार्यरत छन् । पाँच जना मेडिकल अधिकृतको स्थायी दरबन्दी समेत रिक्त छ ।

हाल चार जना केडिकल अधिकृतहरु करार सेवामा अस्पतालमा कार्यरत रहेको सूचना अधिकारी जैसीले बताए । यस्तै अस्पतालमा छात्रबृति करारमा चार जना र एक जना डेन्टल सर्जन करारमा कार्यरत छन् । ८ जना स्टाफ नर्सको दरबन्दी रहेको अस्पतालमा तीन वटा दरबन्दी पदपुर्ती हुन सकेको छैन् । अस्पतालमा दुई जना ल्याव टेक्निसियनको दरबन्दी खाली छ ।

एक जना ल्याव टेक्निसियन करारमा कार्यरत रहेको सूचना अधिकारी जैसीले बताए । ‘अस्पतालमा कायम स्थायी दरबन्दी अनुसार चिकित्सक, मेडिकल अधिकृत लगाएत स्वास्थ्यकर्मीको पदपुर्ती भएको छैन्, यहाँ कार्यरत अधिकाँश चिकित्सक र मेडिकल अधिकृतहरु कोही काजमा त कोही करार र छात्रबृति करारमा कार्यरत हुनुहुन्छ,’ जैसीले भने ।

औषधी किन्न बजेट अभाव कायमै

अस्पतालमा औषधी खरिद गर्ने बजेट समेत अभाव हुँदै आएको छ । अस्पतालका सूचना अधिकारी नन्दलाल जैसी भन्छन् ‘औषधी खरिद गर्न बार्षिक रुपमा जम्माजम्मी १५ लाख रुपैयाँ बजेट आउँछ, त्यति बजेटले औषधी खरिद गर्न पुग्दैन्, आन्तरित स्रोतबाट औषधी खरिद गर्नुपर्ने बाध्यता छ,’ उनले भने । दैलेखका ११ वटै स्थानीय तहका नागरिकहरु उपचारका लागि दैलेख अस्पतालमा आउँछन् तर स्थानीय तहहरुले अस्पताललाई कुनै पनि सहयोग नगरेको जैसीको भनाई छ ।

‘गाउँपालिका र नगरपालिकामा औषधी खरिदका लागि वर्षेनी लाखौँ बजेट विनियोजन भएको हुन्छ, दैलेख जिल्ला अस्पतालमा सबै स्थानीय तहका नागरिकहरु उपचारका लागि आउनुहुन्छ, सबै पालिकाले अस्पताललाई केहि स्रोत उपलब्ध गराउनुपर्ने हो तर त्यसो हुन सकेको छैन्,’ उनले भने । संघबाट प्रदेश सरकारको मातहतमा आएपछि अस्पताल बेसाहारा जस्तै बनेको उनको भनाई छ । ‘प्रदेश सरकारबाट आएको बजेटले धान्दैन्, स्थानीय तहहरुले वास्ता नै गर्दैनन्,’ उनले भने । सिमित स्रोत साधनका बाबजुत अस्पतालले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान हरप्रयास गरिरहेको जैसी बताउँछन् ।

अक्सिजन प्लान्ट बिग्रियो

अस्पतालमा २०७८ कात्तिकमा अक्सिजन प्लान्ट जडान गरिएको थियो । जिल्लाकै ठूलो अस्पताल दैलेख जिल्ला अस्पतालमा अक्सिजन पलान्ट जडान गरि सञ्चालनमा ल्याईएको थियो । अक्सिजन पलान्ट जडान भई सञ्चालनमा आएसँगै उत्पादन समेत थालिएको थियो । अक्सिजन पलान्ट जडान भई उत्पादन सुरुभएसँगै दैलेख अस्पताल, दुल्लु अस्पताल लगाएत स्थानीय तह मातहतका अस्पतालहरुमा अक्सिजन अभावको समस्या समाधान हुने अपेक्षा गरिएको थियो । तर, हाल उक्त अक्सिजन प्लान्ट बिग्रिएर थन्किएको छ ।

अस्पतालका सूचना अधिकारी जैसीले अक्सिजन प्लान्ट बिग्रीएको बताए । ‘अक्सिजन प्लान्ट बिग्रिएको छ, बिग्रिएको अक्सिजन प्लान्ट मर्मत गर्न चिनबाट मान्छे बोलाएका थियौँ, उहाँले हेरेर जानुभयो, चिनबाटै बिग्रिएको सामान ल्याउनुपर्ने छ,’ उनले भने । चिनबाट सामान ल्याउनुपर्ने भएकाले कहिलेसम्म बनिसक्छ भन्ने यकिन नभएको जैसीले बताए ।

अस्पतालमा जडान भएको अक्सिजन पलान्टको शुद्धता ९० प्रतिशतसम्म रहेको बताईको छ । यसमा जडान भएको बुस्टरले प्रतिदिन ४० लिटर क्षमताका ४० वटा सिलिन्डर भर्न सक्छ । तत्कालिन समयमा ७५ लाख रुपैयाँको लागतमा अक्सिजन पलान्ट जडान भएको थियो । अस्पतालले टेक्डर प्रक्रियामार्फत अक्सिजन प्लान्ट खरिद गरेको थियो । कोरोनाको दोस्रो लहरको बेला अक्सिजनका लागि नेपालगंजसम्म धाउनुपर्ने अवस्था आएपछि अक्सिजन पलान्ट राख्नका लागि पहल थालिएको थियो ।

अस्पतालको भवनको भौतिक प्रगति ५० प्रतिशत

सरकारले दैलेख अस्पताललाई १५ शैयाको अस्पतालको रुपमा स्वीकृत गरेको छ । तर, अस्पतालले झण्डै ५५ शैयाबाट सेवा प्रवाह गरिरहेको छ । पुराना र जीर्ण भवनबाट जसोतसो ५५ शैयासम्मको सेवा प्रवाह गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा सुविधा सम्पन्न भवनको वर्षौदेखि अभाव रहँदै आएको छ । हाल भने अस्पतालका लागि नयाँ सुविधा सम्पन्न अस्पताल भवन निर्माणाधिन अवस्थामा छ । अस्पताल भवन निर्माणको काम ५० प्रतिशत भौतिक प्रगति भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. धर्मराज रेग्मीले बताए ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत दैलेख जिल्ला अस्पतालको भवन निर्माण आयोजना कार्यान्वयन भएको हो । भवन निर्माणको जिम्मा कालिकोटको श्री प्रेरा÷क्याराभान÷सुपर स्टार जेभीले पाएको छ । २०७८ जेठ १० मा भवन निर्माण आयोजना सम्झौता भएको थियो । भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले आगामी जेठ ३० गते निर्माण सकिसक्नुपर्ने समयसिमा तोकिएको छ । भवन निर्माणका लागि कुल २७ करोड २८ लाख ५२ हजार तीन सय ५३ रुपैयाँ लागत अनुमान स्वीकृत भएको थियो । ठेक्का प्रक्रियामार्फत निर्माणको जिम्मा पाएको कम्पनीले घटेर १८ करोड, २३ लाख, ९९ हजार तीन सय ८१ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

हेर्नुहाेस इपेपर ।

तपाईको प्रतिक्रिया