नेपालमा सांस्कृतिक विविधताको अवस्था


विविध भाषा, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाडपर्व वा संस्कारको अस्तित्व, स्वीकारोक्ति, मान्यता एवम् सम्मानको अवस्था हो सांस्कृतिक विविधता । बहुजातीय, बहुभाषिक एवम् लामो ऐतिहासिक पृष्ठभूमि भएको समाजमा संस्कृतिको पनि विविधता रहन्छ । विभिन्न भाषा बोल्ने र मातृभाषा भएको जातीय समुदाय, भाषिक समुदाय हुन्छ । जातीय परम्पराहरु अलग–अलग हुन सक्छन्, रीतिरिवाज, लवाई खवाईमा विविधता रहन्छ । विभिन्न धर्म र धार्मिक क्रियाकलापमा आबद्ध हुन्छ समाज । यी सबै पक्षहरुको पहिचान एवम् सम्मान गर्ने र कुने विभेद नहुने अवस्थाको सिर्जना नै सांस्कृतिक विविधता हो ।
राज्य धेरै समाजहरुको साझा स्वरुप हो । समाज विविध विविधताको सम्मिश्रण हो । समाजको यो विविधता आफैमा विशेषताहरुयुक्त हुन्छ । यसैले राज्य धेरै विशेषतायुक्त हुन्छ । यसैले राज्य धेरै विशेषतायुक्त समाजहरुको सम्मिश्रण हो । राज्यका यी विशेषताहरु प्रत्येक देशको मौलिक पहिचान र गर्वको विषय हुने गर्दछ । बहुजातिय, बहुभाषिक एवं लामो ऐतिहासिक पृष्ठभूमि भएको समाजमा संस्कृतिको पनि विविधता रहन्छ । जातिय परम्पराहरु अलग–अलग हुन सक्छन्, उनीहरुको रीतिरिवाज, लवाई खवाई, मूल्य मान्यता धर्म र सांस्कृतिक क्रियाकलापमा विविधता रहन्छ । यी सबै पक्षहरुको पहिचान एवं सम्मान गर्ने र कुनै विभेद नहुने अवस्थाको सिर्जना गर्नु नै विविधता व्यवस्थापन हो । टाकिस फोटोपोउलसले यस्तो विविधता सम्बोधनको लागि शासन प्रणाली समावेशी प्रजातन्त्रमा आधारित हुनुपर्ने कुरा बताएका छन् ।
नेपालमा सय भन्दा बढी जातजाति र भाषाभाषी, विविध धर्मावलम्बी र संस्कृति रहेका छन् । नेपालमा भौगोलिक विविधतामा आधारित सांस्कृतिक र सामाजिक विविधता पनि विद्यमान रहेको छ । यो विविधतामा अनेकौं सौन्दर्यता पनि लुकेकोछ । विविधतामा एकता नेपाली समाजको विशेषता हो । विविधताको सौन्दर्यतालाई राष्ट्रिय भावनामा बदल्न सके मात्र विविधताले सकारात्मक परिणाम दिन सक्दछ । सकारात्मक परिणाम दिन सक्ने गरि गरिने विविधता व्यवस्थापन अहिलेको सामयिक आवश्यकता हो ।
समाजमा मानिसहरुको जीवन पद्धतिको तरिका नै संस्कृति हो । समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, धर्म, शैली, उत्पादनको तरिका, प्रविधि लगायतको सम्पूर्ण भौतिक तथ अभौतिक स्वरुपलाई संस्कृति भन्न सकिन्छ । संस्कृति मानवले आफ्नो दैनिक कार्य प्रक्रिया र त्यो प्रक्रिया पूर्ति गर्नका लागि विकास गरेको मूल्य मान्यता, प्रथा, भाषा, रीति रिवाज, मानवीय व्यवहारको कला, सामाजिक विचार, धार्मिक ढाँचा आदिको समग्रता हो जुन अजैविक हुन्छ समाजमा हस्तान्तरित हुन्छ ।
नेपालमा सांस्कृतिक विविधताको अवस्था
हामी र हाम्रो समाज बहुल समाज हो । जसका कारण विविधतापूर्ण सांस्कृतिक विशेषताहरुले नेपाललाई सम्पन्न बनाएको छ । विविधतायुक्त भूगोल, भूगोल अनुसारको विभिन्न जातजातिको बसोबास साथै १२५ जाति र झन्डै १२३ भाषाको धनी राष्ट्र नेपाललाई सांस्कृतिक विविधतालाई उचित रुपमा व्यवस्थापन गर्ने प्रयास २०४७ को संविधानबाट सुरुवात भएको पाइन्छ । वि.सं. २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन पछि सहभागितामूलक समावेशीकरण एवं पहिचान लगायतका नीतिहरुको संवैधानिक व्यवस्था भई व्यवहारिक अभ्यास गरिरहेको छ ।
विविध धर्म, विविध संस्कृति ः नेपाल धर्म निरपेक्ष राज्य भएकोले सबै धर्मको समान महत्व छ । धार्मिक रुपमा कुनै विभेद वा विभाजन पनि छैन । धर्म अनुसारको सांस्कृतिक विविधता पनि देख्न सकिन्छ । जस्तो हिन्दूहरु दशै्र, तिहार, छठ, तिज, शिवरात्री, माघेसंक्रान्ति, जनै पूर्णिमा जस्ता विभिन्न चाडपर्व मनाउँदछन् । मुस्लिम धर्म मान्ने मानिसहरु इद, वकर इद मनाउँछन् भने क्रिश्चियन धर्म मान्नेहरु क्रिसमस पर्व मनाउँछन् । बुद्ध धर्म मान्ने मानिसहरु बुद्ध पूर्णिमा, भगवान बुद्धको पूजाआजा गरी मनाउँछन् ।
विविध जाति÷विविध संस्कृति ः ब्राह्मण, क्षेत्रीको मातृभाषा खस नेपाली हो । उनीहरु जनै लगाउँछन्, जनैपूर्णिमा मनाउँछन् । ब्राह्मण क्षेत्री महिलाहरु तिज, श्रीपञ्चमीमा कठोर व्रत बसी मनाउँछन् । दाल, भात, ढिडो, रोटी उनीहरुका प्रमुख खाना हुन् । विवाह, व्रतबन्धका संस्कारहरु परम्परागत आर्य हिन्दू समाजका संस्कारमा आधारित छन् ।
नेवार समुदाय दशैं तिहारका अलावा क्वाँटी पूर्णिमा, गठेमंगल विभिन्न जात्राहरु धुमधाम साथ मनाउँछन् । द्यौ, बजी, बारा, चटामसी, छोइला उनीहरुका प्रिय खाना हुन् । नेवार समुदायको आफ्नै परम्पराको भेषभुषा, नेवारी मातृभाषाको रुपमा रहेको छ ।
थारु समुदाय माघी पर्व मनाउँछन् उनीहरुको आफ्नै थारु भाषा मातृ भाषाको रुपमा रहेको छ भने परम्परागत पोशाक समेत छन् । हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने गुरुङ्, थकाली, मगर, शेर्पा आदि जाति नव वर्षारम्भ (उनीहरुकै क्यालेण्डर अनुसार) सँगै ल्होसार पर्व रहेको छ । यी जनजातिहरुको आ–आफ्नो भाषा, परम्परागत पोशाक रहेका छन् । अन्य अल्पसंख्यक जाति, आदिवासीहरुको समेत परम्परागत भाषा, भेष, रहनसहन, खानाको परिकार रहँदै आएको देखिन्छ ।
विविध भूगोल, विविध संस्कृति ः नेपालमा भौगोलिक विविधतामा आधारित सांस्कृतिक विविधता पनि रहेको छ । हिमाली भेगमा बढी जाडो हुने हुँदा त्यहाँका मानिसहरु बाक्लो कपडा लगाउने, तातो र जडिबुटीयुक्त खाना खाने, मासुको प्रयोग बढी गर्ने गर्दछन् । पहाडी क्षेत्रका बासिन्दा दौरा सुरुवाल कमीज, सर्ट, पाइन्ट, साडी, चोलो लगाउँछन् । दालभात, तरकारी बढी रुचाउँछन् । मधेश क्षेत्रमा पातलो कपडा–धोती, दाल, साग, सब्जी, दही, माछा बढी रुचाउँछन् । उल्लिखित अवस्थालाई दृष्टिगत गर्दा धार्मिक आधारमा, जातीय आधारमा, भौगोलिक आधारमा समेत सांस्कृतिक विविधता रहेको देखिन्छ ।
नेपालमा विविधता व्यवस्थापनका नीतिगत व्यवस्थाहरु
नेपालको संविधानको धारा ३ मा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’ नेपाल बहु सांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको कुरा उल्लेख छ । अर्थात नेपालको संविधानले नै बहुसांस्कृतिक पक्षलाई अवलम्बन गरेको देखिन्छ ।
स्थानीय स्तरमा पनि समुदाय अनुसार विविध कला, संस्कृति छन् । स्थानीय कला, संस्कृति, रहनसहन, इतिहास नै समाज र देशका चिनारी पनि हुन् । कुनै पनि समाजको पहिचान भनेकै कला र संस्कृति नै हुन । यसलाई संविधानमा मौलिक हकका रुपमा राखिएको छ । संविधानमा मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३२ मा भाषा र संस्कृतिको हकको व्यवस्था गरिएको छ । जसमा भनिएको छ ः
– प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुनेछ ।
– प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ ।
– नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक हुनेछ ।
संविधानमा गरिएको व्यवस्थालाई कार्यान्वयन गर्न राज्य र राज्यका निकायले ध्यान दिएको देखिंदैन । यसैको एउटा उदाहरण हो, स्थानीय कला, संस्कृति, इतिहासको संरक्षण तथा प्रवद्र्धनको पाटो । संविधानको धारा ५१ मा राज्यका नीतिहरु अन्तर्गत (ग) मा सामाजिक र सांस्कृतिक रुपान्तरण सम्बन्धी राज्यले लिने नीतिबारे स्पष्ट पारिएको छ ः
– स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने,
– ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र विकासका लािग अध्ययन, अनुसन्धान, उत्खनन् तथा प्रचारप्रसार गर्ने,
– सामाजिक, सांस्कृतिक तथा सेवामूलक कार्यमा स्थानीय समुदायको सिर्जनशीलताको प्रवद्र्धन र परिचालन गरी स्थानीय जनसहभागिता अभिवृद्धि गर्दै सामुदायिक विकास गर्ने,
– राष्ट्रिय सम्पदाको रुपमा रहेका कला, साहित्य र संगीतको विकासमा जोड दिने,
– समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने,
– देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने,
– बहुआयामिक नीति अवलम्बन गर्ने ।
यो त भयो कला, संस्कृति तथा इतिहासबारे संविधानमा गरिएको व्यवस्था हो । के संविधानमा उल्लेख गरिएको विषयलाई कार्यान्वयन गरिएको छ ? देशका गाउँठाउँमा रहेको स्थानीय कला, संस्कृति, इतिहासको पहिचान र संवद्र्धन हुन सकेको छैन । अझ संरक्षण समेत गरिएको पाइँदैन ।
नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक विविधतायुक्त विशेषतालाई एकता, सामाजिक साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्धभावको प्रबद्र्धन गर्ने अपेक्षा लिएको छ । संविधानले देशमा लामो समय देखि वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक क्षेत्रमा विद्यमान रहेका विभेदको अन्त गर्ने लक्ष्य लिएको छ । यसको अतिरिक्त जात जात र अन्तरजातको बीचमा रहेको सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्न वर्तमान संविधानको अर्को महत्वपूर्ण लक्ष्य हो । माथि उल्लेखित यी असमानताको अन्त्यबाट मात्र आर्थिक समानता, समृद्धिको सुनिश्चिता, सामाजिक न्यायको प्रबद्र्धन गर्न सकिने हुन्छ । हाम्रो संविधानले राष्ट्रको परिभाषाभित्र जाति, धर्म, भाषा, संस्कृति, भूगोल तथा सार्वभौमकिता आदि पक्षलाई समावेश गरेको छ । संविधानले आर्थिक सामाजिक दृष्टिले पछाडि परेका, राज्यको सुबिधाबाट बञ्चित र सीमान्तकृत समुदायलाई मुलुकको सर्वाङ्गीण विकासमा सहभागी गराउँदै समावेशी लोकतन्त्रको अवधारणालाई संस्थागत गर्ने लक्ष्य लिएको छ । मौलिक हकहरु र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वले सामाजिक न्याय, सामाजिक समावेशीकरण र समावेशीतालाई प्राथमिक विषय बनाएको छ ।
धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने एवं राष्ट्रिय गौरव, लोकतन्त्र, जनपक्षीयता, श्रमको सम्मान, उद्यमशीलता, अनुशासन, मर्यादा र सहिष्णुतामा आधारित सामाजिक सांस्कृतिक मूल्यहरुको विकास गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्धभाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य रहेको छ ।
सामाजिक, सांस्कृतिक रुपले नेपाली समाज एक जीवित सङ्ग्रहालय हो, संस्कृति एउटा व्यक्तिबाट अर्को व्यक्तिमा र एउटा पिँडीबाट अर्को पिँढीमा हस्तान्तरण हुँदै जान्छ, यो निरन्तर बनिरहन्छ र परिवर्तन र परिष्कृत पनि हुँदै जान्छ । सांस्कृतिक विविधता राज्य र राष्ट्र निर्माणका लागि एक महत्वपूर्ण पक्षको रुपमा रहेको हुन्छ । तसर्थ सामाजिक सांस्कृतिक विविधता व्यवस्थापन तथा संरक्षण गर्नु सङ्घीय, प्रदेश र स्थानीय सरकारको दायित्व हो, यसमा आम नागरिकहरुको सहभागिताले मात्र सांस्कृतिक विविधताको संरक्षण र व्यवस्थापन गर्न सकिन्छ । (यो लेख तयार पार्न नेपालको संविधान, हिमालखबर र प्रशासन अनलाइन पत्रिकाको सहारा लिइएको छ ।)
लेखक मध्य–पश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहमा पत्रकारिता तथा आमसञ्चार विषयमा अध्ययनरत विद्यार्थी शेर बहादुर खत्री हुन ।






