बदलिँदो पोसाकका साक्षी : डम्बर र हिक्मत

 डम्बर र हिक्मत दमाई तस्बिर गोल्डेन बुढा 

जुम्लाको सदरमुकाम खलंगा बजारको मुटुमा रहेको बालमन्दिर आडमै बाह्रै महिना,त्यहीँ देखिन्छन्। मेसिन खटखट पार्दै कपडा सिलाइरहेका ५७ वर्षीय डम्बर दमाई । २०३८ सालदेखि कपडा सिलाइरहेका डम्बर सँग जुम्लावासीको बदलिँदो पोसाकको चित्र मात्रै छैन, सिंगो समयको साक्षी बस्दाका कथा पनि छन् ।

कपडा मेसिन नहुँदा घर–घर डुलेर हातैले खुटेर सिलाएको देखि काँधमा हाते मेसिन बोकेर गाउँ चहार्दै कपडा सीएसम्मका अनुभव छन् डम्बरसँग । बालमन्दिरको आडमा सिलाइकटाइ मेसिन राखेर कपडा सिलाउन थालेको सात वर्ष मात्रै भयो । घर–घर गाउँमा पुगेर कपडा सिलाइदिने र ज्यालामा मौसम अनुसार उब्जिने मकै, गहुँ,धान,फापर,कोदो,सिमी,आलु,जोैँ,लगायत अन्न बुझ्ने खलो प्रथा धानेर दशकौं गुजारे । त्यतिबेला खलो प्रथाको नियमअनुसार, गहुँ,जौँ पाक्दा १ देखि ५ पाथीसम्म गहुँ, धान पाक्दा ५ देखि १० पाथीसम्म धान र मकै पाक्दा १० पाथीसम्म फापर,सिमी,आलु ७,८ पाथीसम्म ज्याला पाउँथे । यही कमाइका भरमा उनले १२ जनाको परिवार पालेका थिए ।

कपडा सिलाएको ज्याला नगदै बुझ्न उनले उमेरको करिव ३५ वर्षसम्म कुर्नुप¥यो । २०४५ सालमा उनी घर छाडेर तत्कालीन शनिगाउँ गाविसको जोडु र भाडगाउँ जान्थे । करिव उनले त्यहाँ ०६६ सम्म कमाइ गरेको बताए । उनको स्थायी घर तत्कालीन तलिउम गाविसको तलिउम तथा हालैको जुम्लाको चन्दननाथ नगरपालिका –८ तलिउम हो ।

छाडेर टाढा गएपछि मात्रै उनले कामको ज्याला राम्रो बुझ्न थालेको सुनाउँछन् । झुल्के घामदेखि साझसम्मै कल (लुगा सिउने मेसिन) सँगै हुन्छन् उनी । विश्वासको धागो समातेर आफूकहाँ आएका सेवाग्राहीको कपडा सिलाएर समयमै भ्याउने चटारोले सताइराख्छ । डम्बरका अनुसार, गाउँमा उनीसँगै कपडा सिलाउने परम्परागत पेसा अँगाल्ने दर्जनौं थिए,थलिएर काम छाडिसके ।

तर, उनलाई भने शरीरले साथ दिइरहेकै छ । कल र कैंचीको आवाज उस्तै छ, बदलिएको छ केवल उनले सिलाउने लुगाका डिजाइन् । उनले कपडा सिलाउन सुरु गर्दा गाउँका सबैजसो पुरुष जीउमा भोटो लाउँथे,पेटिकोट,बाहिरपट्टि स्टकोट,दौरासुरुवाल,कम्मरमा डोरी बाँधेर एउटा कपडाको कन्दनी बनाउँथे । महिलाले चौबन्दी चोली र गुन्यु नै लाउँथे । डम्बरले सिलाउने कपडा चौबन्दी चोलीदेखि स्टकोट, भोटो सुरुवाल मात्रै हुन्थे । तर, हिजोआज उनी पाइन्ट–कमिजदेखि ब्लाउज–कुर्तासम्म सिलाउँछन् । भन्छन्, ‘एउटै कपडा लगाएर मान्छे वर्षदिन गुजार्थे । तर, अहिले त्यस्तो कहाँ हुनु । तर, अहिले… !’दस वर्षको उमेरमै उनले कपडा सिलाउन थालिसकेका थिए।बाबु संग कपडा सिलाउन घरघरै जान्थे ।
बाबुको पछि लाग्दालाग्दै उनले कपडाको नापजाँच सिके, कैंची चलाउन सिके । र, ज्यानअनुसार कपडा सिलाउन सिके । बाबुको पालामा मेसिनले कपडा सिलाउने चलन कहाँ थियो र ! हातैले सियो खिपेर कपडा सिलाउने सीप बाबुबाटै सिके । उनले भने २० वर्षको उमेरमा उतिबेला दुई घण्टा हिँडेर सियो, धागो र कपडा किन्न जुम्ला बजार पुगेका थिए ।

उनले २ सय ५० रुपैयाँमा हाते कल किने । डम्बरले भने, ‘अनि त मेसिनले एकैछिनमा सिलाउने भइहाल्यो नि ।’ हाते मेसिन काँधैमा बोकेर उनी ‘आफ्ना लगि’ का घरघर पुग्थे । २०७० सालपछि उनले खुट्टाले खटखट गर्दै चलाउन सकिने नयाँ मेसिन किने । भन्छन्, ‘हाते मेसिनभन्दा खुट्टाले चलाउने मेसिनमा धेरै काम हुँदो रहेछ ।’ २०५२ सालतिर उनी एउटा चौबन्दी चोली सिलाएको ५० पैसा ज्याला थाप्थे । एकै दिन चारवटासम्म चोली सिलाएर २ रुपैयाँ ज्याला थाप्दा खुसी हुने डम्बर हिजोआज मासिक १५ हजारभन्दा बढी कमाउँछन् ।

ऊबेला उनी एक्लै धेरै घरको कपडा सिलाएर सजिलै भ्याउँथे । भन्छन्, ‘सक्नेले पनि वर्षको १ वा २ पटक मात्रै कपडा सिउँथे । त्यसो हुनाले सबैका घर पुग्न भ्याइन्थ्यो ।’ बदलिएको समयसँगै सबै शक्तिकेन्द्रका प्रमुखको शरीर नापेका छन् डम्बर दमाईले । पञ्चायतदेखि बहुदल र गणतन्त्रसम्मका मान्छेका लुगा सिलाएका छन् ।

अधिकाशं उनैसँगै दौरासुरुवाल सिलाउँथे, दशक कपडा सिलाइसकेका उनी थाकेका छैनन् । भन्छन्, ‘आफ्नो पेसा गर्दा बेकार गरिएछ भन्ने भएन । बरु यही पेसा सजिलो लागेकै छ ।’ यस्तै जुम्लाको चन्दननाथ नगरपालिका –१ तलिचौरका हिक्मत दमाईको पनि कथा मिल्दोजुल्दो छ ।
उनी अहिले ३७ वर्षका भए । उनी पनि अहिले सदरमुकाम खलंगामा बजारमा लुगा सिलाउछन् । हिक्मत २०५९ सालमा जुम्लाको तत्कालीन डिल्लीचौर गाविसमा सबै घरधुरी परेका थिए । उनले पनि कपडा सिलाइदिने र ज्यालामा मौसम अनुसार उब्जिने मकै, गहुँ, धान, फापर, कोदो, सिमी, आलु, जोैँ, लगायत अन्न बुझ्ने खलो प्रथा धानेर दशकौं गुजारेको अनुभव सुनाउँछन् । अहिले मासिक १५ हजार बढी नगद बुझ्छन् । छोराछोरी पढाउने,घर खर्च चलाउने गरेको बताए ।

बदलिँदो पोसाकका साक्षी  : डम्बर र हिक्मत

YUGAAWHAN NATIONAL DAILY (2081-02-21)

बदलिँदो पोसाकका साक्षी  : डम्बर र हिक्मत

ठाकुरज्युको प्रर्बद्धनमा जुट्दै गुठिचौर गाउँपालिका