लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा विपद पूर्वतयारीको लागि सामूहिक योजना


लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले विपद् पूर्वतयारी र प्रतिकार्यका लागि साझा कार्ययोजना निर्माण गरेका छन् । शहरी विपद् तथा पूर्वतयारी परियोजना (सुपर) को सहकार्यमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित तीनदिने छलफलले विपद् व्यवस्थापन, पूर्वतयारी, जोखिम न्यूनीकरण र सूचना व्यवस्थापनका लागि कार्ययोजना तयार गरेको हो ।
छलफलमा सहभागी तीनवटै प्रदेशअन्तर्गत पालिका, स्थानीय प्रहरी, प्रशासन, नेपाली सेना, नेपाल रेडक्रस, विभिन्न गैरसरकारी निकायका साथै सङ्घसंस्था, निजी क्षेत्रको समूहगत छलफलबाट विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन कार्ययोजना निर्माण गरिएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख मञ्जु पोखरेलले बताए । उनका अनुसार छलफलबाट तयार गरिएको कार्ययोजनालाई सबै निकायले प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछन् ।
विपद् व्यवस्थापन, पूर्वतयारी, जोखिम न्यूनीकरण, सूचना व्यवस्थापन, अभिलेखीकरण, विपद् घटना पश्चात् तत्काल उद्धार तथा खोजी, स्वास्थ्य उपचार, क्षति विवरण सङ्कलन, राहत वितरण, अनुगमन तथा मूल्याङ्कनलगायत कार्यलाई कार्ययोजनामा समावेश गरिएको नेपालगञ्ज उपमहानगरपालिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
यसैबीच अन्तरप्रादेशिक कृत्रिम घटना अभ्यासबारे पनि छलफल भएको छ । छलफलमा सहभागीले छलफलबाट तयार पारिएको कार्ययोजना र निष्कर्षलाई प्रभावकारी कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएका ज्ञवालीले बताए ।






