कर्णाली प्रदेशका प्रहरीले ड्युटिको समयमा मोबाईल चलाउन नपाउने

कर्णाली प्रदेश प्रहरी कार्यालयले कर्णालीमा कार्यरत प्रहरीहरुले अब ड्यूटीको समयमा मोबाईल प्रयोग गर्न नपाउँने भएका छन् ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक भिम ढकालका अनुसार कर्णाली प्रदेश र मातहतका प्रहरी कर्मचारीहरूले आफूले ड्युटि गरिरहेको बखत मोबाईल चलाउन नपाउने गरी व्यवस्था मिलाईएको हो ।
ढकालले भने, ‘आफ्नो टिमको कमाण्डरको हकमा भने यो नियम लागु हुने छैन् । ड्युटि टिममा रहेका कर्मचारीलाई जरूरी भएमा कमाण्डरको फोन मार्फत सहजिकरण गरिने छ । सुरक्षा जस्तो संवेदनशिल कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रीत गरून, ड्युटिको समयमा आफ्नो जिम्मेवारी क्षेत्र भित्र प्रभावकारी निगरानी हुन सकोस र आम नागरिकलाई प्रभावकारी रूपमा सुरक्षा अनुभूति दिलाउन सकियोस भन्ने उद्देश्यले यो व्यवस्था शुरू गरिएको हो ।’
प्रहरी नायव महानिरीक्षक भिम ढकालले यसरी मोबाईल नचालाउँदा सुरक्षा निग्रानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने सामाजिक सञ्जालको दुरूपयोग गर्नु बाट प्रहरी कर्मचारीलाई बचाउन सकिने, प्रहरी कर्मचारी स्वयमको पनि मोबाईल खर्च बचत हुने बताए । यस कार्यले प्रहरी प्रतिको नागरिक विश्वास पनि बढ्ने अपेक्षा गरिएको उनको भनाई छ ।
यसरी ड्युटिको समयमा मोबाईल नचलाउन÷नबोक्नको लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका सबै जिल्ला, गण, तालिम केन्द्र, ईलाका, चौकिसम्म परिपत्र गरेको र प्रभावकारी रूपमा ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था पनि मिलाइएको ढकालले बताए ।






