महिलाविरुद्ध हुने भेदभाव अवस्थामाथि छलफल


वीरेन्द्रनगरमा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी अवस्था प्रतिवेदनमा छलफल गरिएको छ । महिला विरुद्ध भेदभाव उन्मुलन गर्ने महासन्धि अन्र्तगतको नेपालको छैठौं आवद्यिक प्रतिवेदनमा सरोकारवालाहरुले छलफल गरेका हुन् ।
बियोण्ड बेइजिङ्ग समिति (बिबिसी) नेपालको आयोजनामा मंगलवार वीरेन्द्रनगरमा आयोजित उक्त कार्यक्रममा नेपालको प्रतिवेदनमाथि गैरसरकारी निकायबाट छायाँ प्रतिवेदन बनाउने उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो ।
कार्यक्रममा स्रोत व्यक्तिद्वय सरिता श्रेष्ठ र रिता शाहले छैठौं आवद्यिक प्रतिवेदनका विषयवस्तुहरुमा प्रस्तुतती दिएका थिए । कार्यक्रममा बोल्दै जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले कर्णालीमा महिलामाथि भएका सबै प्रकारका भेदभाव अन्त्य गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको धारणा व्यक्त गरिन् ।
त्यसैगरी जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले ग्रामिण क्षेत्रमा रहेका महिलामाथि हुने भेदभावको अवस्था उस्तै रहेको जनाए । ग्रामिण क्षेत्रमा वसोवास गर्ने महिलालाई भेदभाव विरुद्धको तहमा ल्याउन सबै सरोकारवालाहरुको अग्रसरता खाँचो रहेको उनले औल्याए ।
उक्त कार्यक्रमलाई बिबिसी नेपालले राइट हियर राइट नाउको सहयोग र सिमान्तकृत महिलाहरुको लागि महिला संस्थाको संयोजनका आयोजना गरिएको हो ।






