चौकुनेको सूर्यतारा सिमेन्ट उद्योग पुनः अघि बढाइने

पश्चिम सुर्खेतको चौकुनेमा सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनका लागि पुनः काम अघि बढाइने भएको छ । यसअघि नै काम थालिए पनि सरकारबाट सहयोग नपाएको भन्दै रोकिएको थियो । कर्णाली प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि पुनः उद्योग स्थापनाका लागि बाँकी काम अघि बढाउन लागिएको हो ।

उद्योग सञ्चालनको काम अघि बढाउन कर्णाली प्रदेश सरकारले सहयोग गर्ने भएको छ । आवश्यक भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेर काम अघि बढाइने जनाइएको छ ।

उद्योग निर्माणको काम अहिले ठप्प छ । विद्युत्, खानेपानी र पहुँच मार्गलगायतका भौतिक पूर्वाधार नभएको भन्दै उद्योगले काम रोकेको हो । प्रदेश सरकारले यिनै पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममा समेत ठुला उद्योग सञ्चालनका लागि पूर्वाधार सहयोग गर्ने जनाएको छ । सोहीबमोजिम बजेट विनियोजन गरेर उद्योगको काम अघि बढाउन सहयोग गर्ने बताइएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनको काम अघि बढाउन पहल गरिरहेको छ । आयोजनाको काम लामो समयदेखि ठप्प भएको भन्दै मन्त्रालयले चासो राखेको हो । त्यहाँको बस्ती र उद्योग सञ्चालनका लागि खानेपानीको योजना अघि सारिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कायक्रमको ३० लाख बजेटमा खानेपानीको योजना अघि बढाइने छ ।

सिमेन्ट उद्योग सञ्चालनको काम अघि बढाउन पहल भइरहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले बताए । उनका अनुसार प्रदेशको हितको योजना भएकाले पुनः काम अघि बढाउन पहल गरिएको छ । विद्युत् र पहुँच मार्ग निर्माणका लागि प्रदेशका सम्बन्धित मन्त्रालय र सङ्घीय सरकारसँग समेत छलफल गरिएको मन्त्री बिसीले जानकारी दिए । प्रदेश सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेर कामको थालनी गर्न लागेको उनको भनाइ छ ।

कर्णाली प्रदेश सरकारले पहुँच मार्ग निर्माण गर्न सङ्घीय सरकारसँग अनुरोध गरेको हो । उद्योग स्थापना स्थलसम्म पहुँच मार्ग र विद्युत् विस्तार नहुँदा समस्या निम्तिएको थियो ।

सरकारले पूर्वाधार निर्माणमा सहयोग गरे काम अघि बढाउने सूर्यतारा इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले जानकारी दिए । पूर्वाधार अभावबिच उद्योगको काम ठप्प भएको उनको भनाइ छ । उद्योगका लागि जग्गा प्राप्ति, संरचना निर्माणलगायतका धेरै काम अघि बढिसकेको भन्दै उहाँले सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने बताए ।

उद्योग सञ्चालन गर्न प्रदेश सरकारले सहयोग गर्ने भएपछि थप काम अघि बढाइने भएको छ । दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालनका लागि स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सुरु गरिसकेको छ । करिब १५ अर्ब रुपियाँ बराबरको लगानीमा उद्योग सञ्चालन हुन लागेको हो ।

उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरिसकेको छ । अध्यक्ष तिमिल्सेनाका अनुसार वराहताल गाउँपालिका–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन गर्ने र चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरिएको छ । उद्योग सञ्चालनका काम अघि बढाउने भएसँगै लगानीको खोजी गरिने तिमिल्सेनाले जानकारी दिए ।

चौकुनेको सूर्यतारा सिमेन्ट उद्योग पुनः अघि बढाइने

सांसद दिक्पाल शाहीलाई पोस्टर मार्फत प्रश्नः माननीय

चौकुनेको सूर्यतारा सिमेन्ट उद्योग पुनः अघि बढाइने

पुष्प खेतीमा आकर्षण बढ्दै