पुष्प खेतीमा आकर्षण बढ्दै


गुर्भाकोट नगरपालिका–१४ का हिराबहादुर घर्तीमगरले अहिले करिव ३० कठ्ठा जग्गामा पुष्प खेती गरेका छन् । विशेषगरी तिहारलाई लक्षित गरेर उनले आफ्नै फार्ममा सयपत्री र मखमली फूल खेती गरेका छन् ।
मगरको कर्णाली ड्रागन फ्रुट फार्मले अहिले मात्र होइन अघिल्लो वर्षमा समेत फूल खेती सञ्चालन गरेको थियो । गत वर्ष पाँच कठ्ठा जग्गामा फूल खेती गरेका उनले अहिले थप विस्तार गरेका हुन् ।
उनले भने, ‘पहिलो पाँच कठ्ठा जग्गामा करिव ६–७ क्विन्टल फूल बिक्रि गरेका थियौँ ।’

तिहार अघि नै करिव १५ क्विन्टल फूल उनले वीरेन्द्रनगर स्थित कोल्ड स्टोरमा राखेका छन् । अव तिहारका समयमा फार्मबाछ थप ५० क्विन्टल फूल उत्पादन हुने उनको अनुमान छ ।
नेपालमै फूल उत्पादनको सम्भावना भएपनि तिहारका समयमा भारतबाट धेरै परिमाणमा फूलहरु आयात हुने गर्छ । यो देखेर नै फूल खेतीलाई थप विस्तार गरिएको उनले बताए । उनले भने, ‘नेपालले तिहारमा फूल पनि आयात नै गर्छ । यसमा आम्दानीको सम्भावना पनि छ । त्यसैले मैले फूल खेतीलाई थप विस्तार गरेको हुँ ।’
तिहार लक्षित मात्र नभएर अन्य समयमा समेत फूल खेतीलाई निरन्तरता दिने उनको योजना छ । उनले भने, ‘विभिन्न कार्यक्रमहरुमा समेत फूल चाहिन्छ । सभा सम्मेलनहरुमा फूल पु¥याउने उद्देश्यले अरु समयमा समेत फूल खेती गर्ने योजना गरेका छौँ । यसका साथ आयातित जात मात्र नभएर यहीको स्थानीय सयपत्रीको फूल खेती समेत गर्ने योजना छ ।’
गत वर्ष एक हजार बोट सयपत्री फूल खेती गरेको कर्णाली ड्रागन कृषि तथा पशुपंक्षी फर्मले समेत अहिले खेती विस्तार गरेको छ । वीरेन्द्रनगर–१२ स्थित उक्त फर्मकी सञ्चालक सुमना अधिकारीले हाल फार्ममा तीन हजार बोट सयपत्री फूल खेती गरिरहेको जानकारी दिइन् ।
उनले भनिन्, ‘अघिल्लो वर्ष एक हजार बोट लगाएर परिक्षण गरेका थियौँ । अहिले तीन हजार बोट लगाएका छौ ।’
यस अघिको वर्षमा फर्मले फूलबाट मात्रै करिव ९० हजार रुपैयाँ आम्दानी गरेको उनले बताइन् । २०७९ मा सुमनाको फार्मले करिव दुई क्विन्टल फूल बिक्रि गरेको थियो ।
हिराबहादुर र सुमनाको फार्ममात्र होइन अहिले कर्णालीका सुर्खेत, सल्यान र दैलेखमा समेत व्यवसायिक रुपमा फूल खेती गर्नेहरुको संख्या बढेको छ । व्यवसायिक कृषक तथा कृषि क्याम्पसहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले समेत फूल खेती सुरु गरेको कृषि विकास निर्देशनालयका अधिकृत यामबहादुर राना बताउछन् ।
‘यसअघि सुर्खेतमा तिहारलाई लक्षित गरेर फूल खेती धेरै गरिएको थिएन । अहिले सुर्खेत सहित अन्य जिल्लामा समेत फूल खेती शुरु भएको छ’, उनले भने ।
८० रोपनीमा खेती
हालको समयमा कर्णालीमा सञ्चालन रहेका फूल खेतीको यथार्त तथ्यांक छैन । तर कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्यांक अनुसार कर्णालीमा हाल ८० रोपनी क्षेत्रफलमा व्यवसायिक फूल खेती गरिएको छ । निर्देशनालयका अधिकृत रानाका अनुसार सल्यान र सुर्खेतमा सबैभन्दा धेरै मात्रामा फूल खेती गरिएको छ ।
पछिल्ला केहि वर्षमा कर्णालीमा व्यवसायिक फूल खेती गर्नेहरुको संख्या बढ्न थालेको उनले बताए ।
पाँच लाख माला आयात हुने अनुमान
नेपालमा गत वर्ष करिव सात लाख २० हजार सयपत्रीको माला भारतबाट आयात भएको थियो ।
अहिले भने नेपालमै तिहारलाई लक्षित गरेर व्यवसायीक फूल खेती बढ्न थालेपछि भने आयात घट्न थालेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङ्गले जानकारी दिए ।
युगआह्वानसँग कुरा गर्दै उनले भने, ‘नेपालमा अहिले १५ देखि २० प्रतिशत मात्र माला आयात हुने हाम्रो अनुमान छ । अहिले उत्पादन बढिरहेको पनि छ । गत वर्षभन्दा भारतबाट आयात हुने फूल घट्न थालेको छ ।’
अध्यक्ष तामाङ्गका अनुसार हालको समयमा करिव एक लाख ८० हजार केजि फूल आयात हुने सम्भावना छ । फूलको मालाका रुपमा हेर्दा यो करिव पाँच लाख वटा माला हो । नेपालमा तिहारमा समयमा मात्र करिव नौं लाख केजि फूल खपत हुन्छ ।
मुगुमा प्लाष्टिकमा माला निषेध
मुगुको छायाँनाथ रारा नगरपालिकाले प्लाष्टिकका माला तथा खादा पालिकामा निषेध नै गरेको छ । सार्वजनिक कार्यक्रमहरु प्लाष्टिकमा फूलमालाहरु निषेध गरिएको हो ।
खासगरी चाडपर्वको समयलाई लक्षित गरेर पालिकाले आयात गरेर ल्याइने खादा, प्लाष्टिकका फुलमालाका सामग्री प्रयोगमा रोक लगाएको छायाँनाथ रारा नगरपालिका नगर प्रमुख विस्णुकुमार भामले जनाएका छन् ।
‘स्थानीय रुपमा कृषकले उत्पादन गरेका फूलको प्रयोगमा जोड दिँदै बाहिरबाट आयात हुने खादा र प्लाष्टिकका मालामा रोक्न नगरपालिकाले रोक लगाउने निर्णय गरेको हो’, नगरप्रमुख भामले भने, ‘अबदेखि पालिकाभित्र हरेक सार्वजनिक कार्यक्रममा खादाको सट्टामा स्थानी यस्तरमा उत्पादन हुने फूल र फूलबाट बनेका वस्तुलाई प्रयोगमा ल्याइने छ ।’
अनावश्यक रुपमा खादा र प्लाष्टिकका माला प्रयोग बढ्दै जाँदा वातावरणमा समेत असर हुने तथा स्थानीय स्तरमा उत्पादित फूलले बजार नपाउने समस्या सिर्जना भएको याम बहादुर रानाले बताए ।
.
(यसअघि पोष्ट भएको समाचारको हेडिङमा ‘आकर्षण’ शब्दको स्थानमा ‘आर्कषण’ भएकाले सच्चाइएको छः सम्पादक)





