श्रीदेवीले कतारमा रहेका श्रीमानलाई सिमी उखेल्ने काम सकेर कुरा गरौंला भनेकी थिइन….

मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा शुक्रबार चार जनाको सामूहिक रूपमा हत्या गरिएको अवस्थामा लास फेला प¥यो । कात्तिक ७ गते टीका थाप्न माइती गाउँ कोटिला पुगेकी २८ वर्षीया श्रीदेवी बोहोरा घर फर्किएको छिमेकीलाई पनि थाहा थिएन ।
माइतबाट घर फर्कने बेलासम्म उनका श्रीमान दीपकसँग भिडियो कलमा कुराकानी भएको थियो । उनका श्रीमान् कतारमा थिए । दीपकले हरेक दिन घरमा भिडियो कल गरिरहन्थे । उनले कात्तिक ८ गते श्रीमती घर फर्कदासम्म कुराकानी गरिरहेका थिए ।

घरमा पुगेपछि पनि उनीहरूबीच लामो समय कुराकानी भयो । ‘भोलि बारीमा सिमी उखेल्नुपर्ने छ । काम सकेपछि कुरा गरौंला भनेर उनले भनेपछि मैले भोलिपल्ट बेलुकी ५ बजे फोन गरें । म्यासेन्जरमा दुई पटक भिडियो कल गरें तर उठेन । मोबाइलमा फोन गर्दा मोबाइल अफ थियो,’शनिबार घर आइपुगेका दीपकले भने ।
गाउँमा सिमी उखेल्ने काम सुरु भइसकेको थियो । श्रीदेवी आफ्ना तीन छोराछोरीसहित माइत गएको छिमेकीलाई थाहा थियो । आइतबार बिहानसम्म घरमा ताला लगाइएको थियो । उनी माइजु रेसा बोहोराले आइतबार श्रीदेवीको माइतमा फोन गरेर ‘यहाँ सबैले सिमी उखेल्न सुरु गरिसकेका छन्, भान्जीको घरमा ताला लागेको छ । कहिले फर्कने हो भनेर सोधिन् । उताबाट शुक्रबार नै फर्किसकेको जवाफ आयो ।
त्यसपछि रेसाले छिमेकका अन्य व्यक्तिलाई बोलाइन् । र, ताला फोडेर घर भित्र छिर्दा विभत्स रूपमा हत्या गरिएको अवस्थामा २६ वर्षीया श्रीदेवीसहित ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको लास फेला प¥यो । लास फेला परेपछि तत्काल प्रहरीलाई फोन गरेर जानकारी गराएको छिमेकी भक्त बहादुरा बोहोराले बताए ।
यस घटनाको जानकारी प्रहरीले आइतबार बिहान ९ बजे पायो । हत्या भएको खबर पाउन वित्तिकै पिना प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा सिल गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
नेपालगंजबाट तालिम प्राप्त कुकुर झिकाई अनुसन्धान गरिरहेको प्रहरीले थप अनुसन्धानका लागि नेपालगंज, सुर्खेत र जुम्लाबाट प्रहरी अधिकृत लगायतको आएको टोली झिकाएर अनुसन्धान गरिरहेको छ ।
प्रहरीले अनुसन्धानका सबै प्रक्रिया अपनाएर हत्यामा संलग्नलाई पक्राउ गरेर कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र थापाले बताए । वडाध्यक्ष खेमबहादुर रावलले घटनामा संलग्नलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् ।






