पर्यटकको गन्तव्य बन्दै पेरेगाउँको रातामाटा छहरा (फोटो फिचर)


भौगोलिक रुपमा विकट र दुर्गम भएतापनि जुम्लाको पातारासी गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान दिएको छ ।
पर्वतारोहण अवलोकन भ्रमण र जडिबुटी संकलन दृष्टिकोणबाट महत्वपूर्ण सम्भावना बोकेको पातारासी हिमालको नामबाट पातारासी गाउँपालिका नामाकरण गरिएको हो । जुम्लाका आठ वटा स्थानीय तह मध्येको जलस्रोत यस क्षेत्रको पर्यटकीय सम्भावना बोकेको क्षेत्रका रुपमा गनिन्छ ।
पातारासी विकट छ, तर पातारासी गाउँपालिकामा स्वच्छ हावापानी, कृषि, पशुपालन, फलफूल, जडिबुटी र जैविक विविधताले भरिपूर्ण छ । विश्वकै सर्वोच्च उचाईमा उत्पादन हुने जुम्ली मार्सी पातारासी–३, छुमचौरमा पर्दछ । जुम्लाको पहिचान अन्तर्राष्ट्रिय स्तरमा कायम राखेको छ भने स्थानीय रैथाने बाली सिमी, मकै, कोदो, जौ, धान, गहुँ, कागुनो, चिनो, फापर आलु, पनि प्रस्त उत्पादन हुन्छ ।
वरिपरि जंगलले घेरिएको हरियाली वातावरण । त्यही हरियाली वातावरणको बीच छङछङ गरिरहने पातारासी गाउँपालिका–२ पेरेगाउँमा पर्ने रातामाटा छहरा (शंकर झरना) झरना आफैँमा सुन्दर हेरिरहुँ लाग्ने, त्यही बसिरहुँ लाग्ने ।

पहाडको फेदीबाट लडिबुडी गर्दै ओल्लो छाल पल्लो छाल गर्दै फेदीमा झर्छ । त्यही पहाडको फेदी र गौमुलबाट झरेको स्वच्छ, निर्मल पानीको छहराको काखमा एकैछिन् बस्दा पनि स्वर्गमा पुगेजस्तो भान हुन्छ । जति नजिक गयो उतिनै काखमा राख्छ शंकर झरनाले काखमा बसेर कहिले नअघाउने झन मन बहकाउने ।
पानीका फोहोराले भिजाए, छुट्टै आनन्दित बनाउछ, व्यस्त दैनिकी छलेर त्यहाँ पुग्ने आन्तरिक पर्यटकले तनाव बिर्सन्छन् । मन भुलाउँछन् । कैयौँ प्रकृतिप्रेमी प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् । झरनामा १२ महिनानै पानी झर्ने हुँदा यो झरनाको महत्व बढेको देखिन्छ । माथिबाट एक भएर आउँछ, तर बिचमा तीन वटा भएर पानी झर्ने गर्दछ ।
अग्लो पहाडबाट खसेको झरनाको दृष्यले मन लोभ्याउँछ । आसपासका दृष्य पनि सुन्दर छन् । आसपासमा घुम्ने ठाँउपनि छन् । मनमोहक झरना रहेको उक्त ठाउँमा पछिल्लो समयमा भने आन्तरिक पर्यटन बढेको छ ।
झरना सूचीकृतसमेत भएको छैन, स्थानीयले शंकर झरना भनेर प्रचारप्रसार गरिरहेका छन् । उचाइ पनि मापन भएको छैन । झरनाको उचाई हेर्दा करिब एक सय मिटर अग्लो छ । माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउछ । प्रकृतिको सुन्दर उपहारको रूपमा हेरिन्छ, जुम्लाको सदरमुकाममा खलंगादेखि एक घन्टा ३० मिनेटमा मोटरबाटो पार गरेपछि पेरेगाउँको भित्र जवा नदीको किनारमा पुगिन्छ ।
त्यसपछि करिब ४५ मिनेट पैदल यात्रामा रातामाटा छहरा(शंकर झरना)पुगिन्छ । पातारासीको उत्तरी भेगमा रहेको यो झरना पातारासी गाउँपालिकाको लासि बजार, लाम्री, लुम, तल्फि पेरे, धोपाघाट हुदै पुग्न सकिन्छ ।
माथि पातारासी हिमाल, त्यहाँबाट बगेको जवा नदी, त्यही नदीको किनारैकिनार हिँड्दै जाँदा हरियाली फाँट र घाँसेमैदान भेटिन्छ । यो झरना अवलोकन गर्न साउन र भदौ महिना अति उपयुक्त छ । आफैँमा सुन्दर हेरिरहुँ लाग्ने त्यही बसिरहुँ लाग्ने । आन्तरिक तथा बाह्य पर्यटकका लागि उचित गन्तव्य रहेको झरनाबारेमा गाउँपालिका, प्रदेश र संघीय सरकारले पनि चासो नदिएको स्थानीयको गुनासो छ । तर यहाँका स्थानीय सरकारले त्यति चासो नदेखाउँदा ओझेलमा पर्दै गएको छ । झरना वरिपरि न कुनै पूर्वाधार नै छ न त बास बस्ने ठाउँ नै छ । टाढा टाढाबाट आएका पर्यटकहरू पनि राति समयमा पनि फर्कनु पर्ने बाध्य हुन्छन् ।
पर्यटकका लागि स्थानीय र प्रदेश सरकारले बस्न प्रतिक्षालय, सडक, झरनासम्म पुग्ने पक्की बाटो बनाउनुपर्ने स्थानीयबासी पेरेगाउँका समाजसेवी गौरीशंकर बुढा बताउँछन् । झरना क्षेत्रलाई पर्यटकको गन्तव्यस्थल बनाउन स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले विस्तृत परियोजना बनाउन आवश्यक रहेको बताउँछन् ।
झरना अवलोकन गर्न पुगेका कर्णाली प्रदेशका पुर्व कानुन मन्त्री नरेश भण्डारी, आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न यो झरनाको संरक्षण, प्रर्वद्धन र विकास गर्न तीन तहकै सरकारहरुको योगदान जरुरी छ । झरनाको नामांकन, उचाई, पर्यटन गुरु योजना लगायतका विषयहरु अविलम्व टुंगोमा पुर्याउन स्थानीय सरकारको ध्यान जानुपर्छ ।

विश्वकै उच्च स्थानमा (दुई हजार आठ सय ५० मिटर) मार्सी धान फल्ने छुमचौर ज्युलो, पातारासी हिमाल, बालीगाड ताल, देवस्थल, तालकोटा, तातोपानी कुण्ड धानचौरी पर्यटकलाई आकर्षण पार्ने केन्द्र हुन् । तर, यी पर्यटकीय क्षेत्र अहिलेसम्म गुमनाम छन् । २०४५ सालमा पूर्वराजा वीरेन्द्र शंकर झरना क्षेत्रमा सिकार खेल्न पुगेको इतिहास (किंवदन्ती) छ । पहाडको भित्रबाट झरेको शंकर झरनामा पहिले भेडी गोठाला, सिकारी र जडीबुटी संकलक मात्रै पुग्थे । अहिले आन्तरिक पर्यटक समेत पुग्ने गरेका छन् । दैनिक जसो पाँच सय देखि नौं सय सम्म अनिवार्य पुग्छन् । अलि बढी शनिबार, अन्य विदाको दिन पर्यटकहरुको हुल हुन्छ । युवा, युवती र कर्मचारीको ताती लाग्छ ।

झरनाको मुखमै सानो पाल टागेर होटल व्यावसायी गरेका युवा बलबहादुर बुढा, उनले दैनिकी आठ हजार देखि ११ हजार सम्म कमाइ हुने गरेको बताए । उनका अनुसार सबैभन्दा शनिबार र बिदाको दिन हुन्छ । उनले झरना संरक्षण लागि अनुरोध गरे । त्यहाँ पुगेर मोबाइलमा सेल्फी र भिडियो खिचेर टिकटक बनाएर रमाउन पाइने हुँदा खासगरी युवायुवती र केटाकेटीहरु धेरै जाने गर्छन् ।
स्थानीय तहले बजेट छुट्टयाएर संरक्षण तथा प्रर्वद्धन गर्ने पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले बताए । ‘झरना आफैंमा सौन्दर्यताले भरिपूर्ण छ । झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय तहले पनि सहयोग गर्छ’, उनले भने ।

पर्यटकलाई लोभ्याउने यस झरना अग्ला,अग्ला पहाडी हिम श्रृङखलाहरूको फेदमा भएकाले थप आकर्षक देखिन्छ ।






