गैर आवासीय नेपाली संघ कोरियाको सचिवमा बुढाको उम्मेदवारी

सुर्खेत । गैर आवासीय नेपाली संघ (एनआरएनए दक्षिण कोरिया) को नवौं महाधिवेशनका लागि सचिव पदमा पुर्णराम बुढा (पुस्कर) उम्मेदवारी दिएका छन् । आगामी जुलाई २९ र ३० मा हुने महाअधिवेशनका लागि दक्षिण कोरियामा रहेर सक्रिय सामाजिक अभियान्ताको रुपमा काम गर्दै आएका बुढाले सचिव पदमा उम्मेदवारी दिएका हुन् ।

विगत लामो सयमदेखि उनी विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर समाज सेवामा योगदान गर्दै अाएका छन् । उनले कोरियामा समस्यामा परेका हरेक नेपालीलाई सहयोग गर्दै आईरहेका छन् । कोरियामा हुने प्राय जसो सहयोग अभियानमा सरिक हुने उनी ६ वर्षदेखि सुर्खेत समाजमा आबद्ध भएर सदस्य, वरिष्ठ उपाध्यक्ष हुँदै हाल सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्षका साथै कर्णाली प्रदेश समाजको सुर्खेत जिल्ला संयोजकसमेत रहेका छन् ।
यस्ता छन् उनका प्रतिबद्धता
- आफ्नो घोषणापत्र तथा नारामा मात्र सीमित भएको एनआरएनए अब मजदुर मैत्री एनआरएनए हुनेछ, जसमा मजदुर मैत्री वातावरण निर्माण गर्न सरोकारवाला निकायसँग समन्वय गरी सबै मजदुर वर्गले प्रत्यक्ष महसुस गर्न सक्ने वातावरणको सिर्जना गर्नेछु ।
- कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायको विविध समस्या समाधान तथा परामर्शको लागि एनआरएनए विशेष सहायता केन्द्रको स्थापनार्थ पहल गरी सम्पूर्णको समस्या समाधान गर्न भरपूर कोसिस गर्नेछु ।
- रेमिट्यान्सको उच्चदरलाई कम एबम् सर्व सुलभ गराउनका निमित्त सम्वन्धित निकाय,बैंक,वित्तीय संघ संस्था साथै नेपाल सरकार संग प्रत्यक्ष समन्वय गरी समस्या समाधान गर्न भरपुर कोशिश गर्नेछु ।
- संस्थामा हुने आर्थिक क्रियाकलाप लगायत हरेक क्रियाकलापलाई पारदर्शी बनाई कोरियामा बसोबास गर्ने हरेक नेपालीले प्रत्यक्ष महशुस गर्न सक्ने एनआरएनए बनाई संस्थालाई अझै मजबूत र विश्वसनीय बनाउन पहलकदमी गर्नेछु ।
- बुद्धको जन्मभूमि साथै सर्वोच्च शिखर सगरमाथाको देश हाम्रो नेपाललाई प्रसार(प्रचार गरी साथै मुलुकको आर्थिक अवस्थामा टेवा पुर्याउने उद्देश्यले कोरियाली स्थानीय निकाय तथा संघ संस्थाहरू सँग सहकार्य गरी नेपालको पर्यटन प्रवर्द्धनमा जोड दिनेछु ।
- कोरियामा रहेका विभिन्न सम्प्रदायको प्रतिनिधित्व हुने गरी स्थापना भएका सम्पूर्ण संघ संस्थाहरु सँग प्रत्यक्ष समन्वय तथा सहकार्य गरी नेपाली भाषा, साहित्य, कला ,सस्कृतीको संरक्षण, सम्वर्द्दन तथा प्रवर्द्धन गरी कोरियावासी सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध गराउने छु ।
- एनआरएनए कोरियालाई कोरियाको सरकारी तबर मै कानुनी रुपमा दर्ता गर्न पहल कदमी गर्नुका साथै संस्थाको संस्थागत विकास र सङठन अझ मझबुत हुने गरी काम गर्नेछु ।
- नेपाली राजदूतावासले दिँदै आएको घुम्ती सेवालाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै निकाय सँग परामर्श गरी सेवाहरुलाई थप प्रभावकारी बनाई निरन्तरता दिन पहल कदमी गर्नेछु ।
- प्रतिबद्धता पत्रमा छुटेका तथा यहाँहरु सम्पूर्णले सुझाएका हरेक जायज सल्लाह सुझावहरूलाई आत्मसाथ गर्दै थप कार्यहरू गर्नेछु ।





