राष्ट्रियसभा सदस्य निर्वाचन : कर्णालीका तीन सिटमा चुनाव हारेकादेखि पूर्वमन्त्रीसम्मको दाबी

आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णाली क्षेत्रबाट खाली हुन लागेका तीन सिटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्र छलफलले तीव्रता पाएको छ ।

चुनाव हारेकादेखि युवाहरु राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आफूले पाउनुपर्ने भन्दै तीव्र लबिङमा लागेका छन् । कर्णालीमा यसपटकको चुनावमा राष्ट्रियसभा सदस्यका तीनवटा मात्र सिट छन् ।

गठबन्धनकै आधारमा प्रतिस्पर्धा गर्ने हो भने कर्णालीमा तीन सिटमा तीन दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले १–१ उम्मेदवार पाउनेछन् ।

यद्यपि, ती दलमा आकांक्षीहरूको भने लामो लर्को लागेको छ । नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रियसभामा जान चाहनेहरूमा युवा नेतादेखि बौद्धिक नेता र पूर्व राज्यमन्त्रीको दाबी देखिएको छ ।

जाजरकोटबाट ढकवीर राना, गगनबहादुर खडका, पूर्वमन्त्री गणेशप्रसाद सिंह राष्ट्रियसभाका लागि सम्भावित उम्मेदवार हुन् । जाजरकोटमा प्रदेशसभा दुई सिट कांग्रेसको भागमा परेकाले प्रतिनिधिसभाको एक सिट मात्र माओवादीको हातमा रहेको छ ।

हुम्लाबाट माओवादीका जिल्ला संयोजकसमेत रहेका बौद्धिक नेता डा. दीपेन्द्र रोकायले दाबी गर्दै आएका छन् । प्रदेश योजना आयोगमा समेत काम गरिसकेका रोकाया पूर्वपत्रकार हुन् ।

यस्तै, छिमी लामाले पनि आकांक्षा देखाएका छन् । उनी समानुपातिक संविधानसभा सदस्य भइसकेका व्यक्ति हुन् ।

त्यस्तै, सल्यानबाट टीका बुढाथोकीले आकांक्षा देखाएकी छन् । उनी शहीद परिवारकी हुन् । कालिकोटबाट केन्द्रीय सदस्य गंगा खड्का र विष्णु विकले आकांक्षा देखाएका छन् । दलित कोटाबाट विक सम्भावित उम्मेदवार हुन् ।

जुम्लाबाट प्रतिनिधिसभा सदस्य चुनाव हारेकी गोमा कुँवरले पनि राष्ट्रियसभामा आकांक्षा देखाएकी छन् । ०७९ मा प्रतिनिधिसभामा उनी पराजित भएकी थिइन् ।

कुँवर पूर्वराज्यमन्त्रीसमेत भइसकेकी नेतृ हुन् । उनले एकपटक समानुपातिकबाट संसदको अनुभव बटुलिसकेकी छन् ।

दैलेखबाट पुराना माओवादी नेता थीरबहादुर कार्की र प्रेम कटुवालले आकांक्षा देखाएका छन् । कार्की यसभन्दा अघि एकपटक चुनाव लडेर पराजित व्यक्ति हुन् । रुकुम पश्चिमबाट केन्द्रीय सदस्य वसन्त शर्मा, डोल्पाबाट मालबहादुर रोकाया र मुगुबाट सुकवीर बुढाले पनि आकांक्षा देखाएका छन् ।

बुढाले लगातार ११ वर्ष पार्टीको जिल्ला नेतृत्व सम्हालेका छन् । स्रोतका अनुसार भागबण्डामा दलित कोटा प¥यो भने कालिकोटका विष्णु विक एक नम्बरमा उम्मेदवार हुने देखिन्छ ।

माओवादी स्रोतका अनुसार जिल्लाहरुबाट नाम पठाउन आग्रह गरिएको छ । जिल्लाबाट नाम आइसकेपछि प्रदेशमा छलफल हुन्छ र त्यसपछि उम्मेदवारको नाम फाइनल हुने छ ।

त्यस्तै, नेपाली कांग्रेस कर्णाली प्रदेशबाट आकांक्षीहरूको लिष्ट पनि ठूलै रहेको छ । चर्चित युवा नेतादेखि यसअघि नै मन्त्रीसमेत भइसकेका कांग्रेसका नेताहरुसमेत राष्ट्रियसभामा जान चाहिरहेका छन्।

राष्ट्रियसभाको उम्मेदवारका लागि कांग्रेस पार्टी केन्द्रले मंगलबारसम्म उम्मेदवारका लागि नाम सिफारिस गरी पठाउन भनेको छ ।

सोहीअनुसार जिल्लाबाट प्रदेश कमिटीमा नाम सिफारिस भएर आइसकेका छन् । कर्णालीबाट एउटा अन्य, दलित र महिला सिटमा उम्मेदवार हुनेछन् ।

युवा नेता भूपेन्द्रजंग शाहीले आकांक्षा देखाएका छन् । कालीकोट निवासी शाही यसअघि प्रत्यक्षतर्फ पटक–पटक चुनाव हारेका व्यक्ति हुन् । यद्यपि, उनी युवा वर्गमा निकै चिनिएका नेता हुन् ।

पार्टीभित्र प्रदेश कमिटीको सभापतिमासमेत पराजय भोगेका शाहीले राष्ट्रियसभामा जान चाहेका हुन् ।

कालीकोटबाटै कालीबहादुर सहकारी, दैलेखबाट रवीन्द्रराज श्रेष्ठ, हिमबहादुर शाही, रंगबहादुर शाहीको नाम चर्चामा छ । हिमबहादुर शाही ०७४ मा समानुपातिकबाट प्रदेश सभा सदस्य भई कानुनमन्त्रीसमेत भइसकेका नेता हुन् ।

रंग शाही पनि गणतन्त्रभन्दा पहिला नै सांसद भइसकेका पुराना नेता हुन् । सुर्खेतबाट डम्बर जिसी नामसमेत चर्चामा रहेको छ ।

मुगुबाट हस्तबहादुर मल्ल, जाजरकोट सनक कार्की, रुकुम पश्चिमबाट कृष्ण रोकाय, मानबहादुर नेपाली, सल्यानबाट पूर्व–केन्द्रीय सदस्य विन्दु रेग्मी, ध्रुव पुरी लगायतका नेताहरूको नाम चर्चामा छ ।

जुम्लाबाट दीनबन्धु श्रेष्ठको नाम पनि चर्चामा छ । उनी ०७४ मा प्रदेशसभा सदस्य भई जलस्रोत तथा ऊर्जामन्त्री समेत भइसकेका नेता हुन् । लंकबहादुर शाहीलगायत अन्य नेताहरूले पनि चाहना देखाएका छन् ।

महिलातर्फ खासगरी खगिसरा आचार्य, रामछाया शाही, यशोदा शाही लगायतको नाम चर्चामा छ । पार्टी केन्द्रले मंगलवारसम्म उम्मेदवारको नाम पठाउन भनेपछि सोमवार जिल्लाबाट आएका नामउपर प्रदेश कमिटीले छलफल चलाएको छ ।

प्रदेश सभापति ललितजंग शाहीको सभापतित्वमा र नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य एंव कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सहभागितामा छलफल भइरहेको हो । उता प्रतिपक्ष नेकपा एमालेले पनि तयारी तीव्र बनाएको छ ।

आन्तरिक छलफलदेखि केन्द्रका नेताहरूलाई आफ्नो पक्षमा रिझाउनका लागि छलफल तीव्र भएको जनाएको छ । नेकपा एमालेभित्र पनि धेरैजना आकांक्षी रहेको प्रदेश कमिटीका सदस्य नवेन्द्र नेपालीले बताए ।

नेकपा (एकीकृत समाजवादी)ले पनि आफ्नो छलफललाई तीव्रता दिएको छ । तीन सिटमध्ये एकसिट पाउनुपर्ने नेकपा एकीकृत समाजवादीको तर्क रहँदै आएको छ । जाजरकोटका कृष्ण बिसी लगायतका अन्य नेताहरूको दाबी रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन : कर्णालीका तीन सिटमा चुनाव हारेकादेखि पूर्वमन्त्रीसम्मको दाबी

भूकम्पपीडितका ११ हजार घर निर्माण