कर्णालीमार्फत नेपाली समाज उधिनिएको पुस्तक ‘शून्यको मूल्य’लाई उत्तम शान्ति पुरस्कार

सुर्खेत । बाल चिकित्सक डा. नवराज केसीको सिर्जना गैरआख्यान शून्यको मूल्यलाई उत्तम शान्ति पुरस्कार प्रदान गरिएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले प्रदान गरेको पुरस्कारको राशी एक लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ ।

पुस्तकले कर्णालीमार्फत नेपाली समाजको अर्थपूणर् वणर्न गरेको छ । ‘सास, साहस र स्नेहको कथा’ भनेजस्तै पुस्तकले कर्णालीका आमा र बालबालिकाको स्वास्थ्यको कथा पढाउँछ । नेपालका दुर्गम गाउँमा दुःख छ । पीडा छ । अभाव छ । त्यसैले, हरेक व्यक्तिको स्वास्थ्यमा समस्या छ ।
जसका कारण गर्भवती महिलाले न पौष्टिक खाना र हेरविचार पाउँछिन्, न बालबालिकाले औषधोपचार । सिंहदबारबाट देखिने समाजको चित्र पनि त्यही हो । लेखक केसीले पुस्तकमा त्यही चित्र उतार्ने प्रयास गरेका छन् कर्णालीका कथामार्फत । कर्णालीका आमाको स्वास्थ्य र भविष्यरुपी बालबालिकाको स्वास्थ्यमा केन्द्रित भएर कर्णालीको कहरलाई केसीले जसरी उधिन्ने प्रयास गरेका छन्, आखिरमा दूरदराजका हरेक गाउँका कथा हुन् ।
त्यसैले, शून्यको मूल्य चिकित्सकीय नजरमा नेपाली समाजलाई उधिनिएको पुस्तक हो भन्ने गरिएको छ । शून्यको मूल्यमार्फत डा. केसीले आमाको स्वास्थ्य बलियो बनाउन ग्रामीण स्वास्थ्य चौकी र बालबालिकाको स्वास्थ्य बलियो बनाउन आमाको गर्भदेखि नै विशेष ख्याल गर्नुपर्ने सन्देश दिएका छन् । लेखक केसीले कर्णालीको संघर्ष, सफलता, सुख दुःख, हारजितका कथनमार्फत किशोरकिशोरीहरू, बाउआमाहरूसँगै समाज, जीवन विज्ञानका सुनौला थुंगाहरू पनि उनिएका छन् ।






