पकेट क्षेत्रमै सुन्तला उत्पादनमा ४० प्रतिशतभन्दा बढी गिरावट

बाग्चौर नगरपालिका–९ कोटमौलाका ५० वर्षिय केशुराम डाँगीको ३० रोपनी जग्गामा सात सयभन्दा बढी सुन्तलाका रूख छन् । सुन्तला बिक्री गरेर उनले गत वर्ष १८ लाख रुपैयाँ आम्दानी गरे । केही वर्षयता उनको बगैंचामा भएका सात सय बोटमै सुन्तला फलिरहेका थिए । यसपालि भने रोगका कारण तीन सय बोटमा मात्र दाना लागेका छन् ।
स्थानीय ४५ वर्षिय रतनबहादुर डाँगीले एक सय ५० क्विन्टल सुन्तला बिक्री गरेर पोहोर झन्डै १२ लाख रुपैयाँ कमाइ गरे । २० रोपनीमा ६ सयभन्दा बढी बोट सुन्तला लगाएका उनको बगैंचामा चार सय बोटले उत्पादन दिने गरेका थिए । रोगकै कारण यसपालि भने उनका बगैंचाका एक सय ५० जति बोटमा मात्र सुन्तला देखिने गरेका छन् । फलेका सुन्तला रोगका कारण सबै झरेपछि अहिले उनका दुई सय जति बोटमा छिटपुट मात्र छन् । सुन्तला बेचेर गत वर्ष १२ लाख कमाएका स्थानीय कृष्णबहादुर डाँगीको बगैंचाका पाँच सय बोटमध्ये दुई सयभन्दा बढी बोटमा पनि सुन्तलाका दाना देखिन्नन् ।

बाग्चौर नगरपालिका–८ र ९ को कोटमौला सुन्तला उत्पादनको पकेट क्षेत्र हो । दुई वडाका झन्डै ६ सय परिवार सुन्तलामा आत्मनिर्भर छन् । प्रत्येक वर्ष सुन्तला बिक्री गरेर यहाँका किसानले १२ देखि १५ करोड भित्र्याउँदै आएका थिए । बगैंचाभरि लागेको रोगका कारण पकेट क्षेत्रमै सुन्तला उत्पादनमा ४० प्रतिशतभन्दा बढी गिरावट आएको छ । फल लागेको समयमा बोटमा ‘पिंक डिजिज’ देखिएको छ । त्यसैले बोट सुक्दै गएपछि फल झर्दा उत्पादनमा गिरावट आएको हो । झन्डै तीन दशकदेखि व्यावसायिक सुन्तला खेती गरेर आत्मनिर्भर बनेका किसान बेलाबेलामा देखिने विभिन्न किसिमका रोगले सुन्तला बोट सुक्न थालेपछि र उत्पादनमा गिरावट आएपछि चिन्तित छन् । यसले किसानको आम्दानीमा ठूलो असर परेको छ ।
गत वर्ष मात्रै दुई सय २० क्विन्टल सुन्तला बिक्री गरेर १५ लाखभन्दा बढी कमाइ गरेका किसान नेत्रबहादुर चन्दले यसपालि रोगले बोट सुक्नुका साथै फल झरेपछि सय क्विन्टलभन्दा बढी उत्पादन हुने नदेखिएको बताए । ६ सयभन्दा बढी बोट सुन्तला लगाएका उनले गत वर्ष आफ्नो बगैंचाका सुन्तलामा ध्वाँसे रोगको समस्या देखिएको र यसपालि पिंक डिजिजले सखाप पारेका जनाए । ‘तीन दशकदेखि सुन्तला खेतीमा लागेर आत्मनिर्भर बन्दै आएको थिएँ । यसबाट गुजारा चल्ने मात्र नभई घरजग्गा नै जोडेको थिएँ । ‘यसपालि भने गोडमेललगायत खर्च उठाउन पनि मुस्किल हुने देखिएको छ,’ उनले भने ।
अघिल्ला वर्षमा यति बेला बगानमा सुन्तला किन्न आउने व्यापारीको भीड लाग्थ्यो । सबैजसो किसान सुन्तला टिप्नमा व्यस्त रहन्थे । यसपालि अलिअलि भएकाले पनि सुरसार गरेका छैनन् । कृषि विकास कार्यालय र प्रदेश सरकारले रोग नियन्त्रणका लागि विषादी प्रयोग गरे पनि यसपालि पूर्ण रूपमा नियन्त्रणमा नआएको र पटकपटक देखिने विभिन्न किसिमका रोगले रोजगारी नै गुम्ने डर भएको उनको भनाइ छ ।
कोटमौलामा ०४९ देखि सुन्तला लगाएर अहिलेसम्मकै सबैभन्दा बढी वार्षिक २७ देखि ३० लाखसम्म कमाइ गर्दै आएका किसान ५८ वर्षीय भरतनाथ योगीले भने आफ्नो बगैंचामा पिंक डिजिजले ठूलो क्षति नपु¥याएको बताए । ४५ रोपनीमा एक हजार बोट सुन्तला लगाएका उनले रोगका कारण २५ प्रतिशत जति क्षति भएको दाबी गरे । रोगका कारण गत वर्षभन्दा यसपालि उत्पादनमा २५ प्रतिशत गिरावट आएको अर्का किसान लोकबहादुर डाँगीको भनाइ छ । रोग नियन्त्रणको प्रयास नगरे किसानको चार दशकको मिहिनेत स्वाहा हुने उनले जनाए ।
पिंक डिजिज रोगका कारण नै यसपालि कोटमौलामा सुन्तला उत्पादनमा ४० प्रतिशत गिरावट आएको कृषि विकास कार्यालय, सल्यानका निमित्त प्रमुख रेशमबहादुर बस्नेतले बताए । जिल्लाका अन्य स्थानमा सुन्तला उत्पादन हुने गरेको तर अन्यत्र रोगको समस्या नभएको उनको भनाइ छ । बाग्चौर नगरपालिकाका दुई वडामा किसानले २५ हजारभन्दा बढी सुन्तला बोट लगाएकामा रोगले झन्डै सात हजारमा क्षति पु¥याएको उनले जनाए । जिल्लाका विभिन्न स्थानमा किसानले व्यावसायिक रूपमा सुन्तला खेती गरेकाले प्रत्येक वर्ष २० देखि २२ करोडसम्मको सुन्तला बाहिरी जिल्लामा जाने गरेको उनले बताए ।






