प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट: सुदूरपश्चिम र बाग्मती विजयी

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ ।
आइतवार भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ८१ रनको फराकिलो अन्तरले हरायो । सुदूरपश्चिमले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७० रनमात्रै बनाउन सक्यो । कर्णालीका लागि तृसना विश्वकर्माले सर्वाधिक २८ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी ऋतु कनौजिया र जानकी थापाले समान तीन विकेट लिइन् ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा चार विकेट गुमाएर एक सय ५१ रन बनायो । सुदूरपश्चिमका लागि कविता जोशीले ५० बलमा नट आउट ७८ रन बनाइन् । बलिङतर्फ कर्णालीकी अञ्जु गुरुङले दुई विकेट लिइन् ।
यो जितसँगै सुदूरपश्चिम तीन खेलमा चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ । लगातार तीन खेल हारेको कर्णाली तालिकाको पुछारमा छ ।

आजै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बाग्मती प्रदेशले गण्डकी प्रदेशलाई चार विकेटले हरायो । गण्डकीले दिएको एक सय १३ रनको लक्ष्य बाग्मतीले १८ ओभर चार बलमा ६ विकेट गुमाएर भेटायो । बाग्मतीका लागि यशोदा विष्टले नट आउट ३९ रन बनाइन् । बलिङतर्फ गण्डकीकी सृष्टि जैसीले दुई विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १२ रन बनायो । गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३२ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी कृष्मा गुरुङ, अस्मिना कर्माचार्य र मनिषा उपाध्यायले समान एक विकेट लिइन् ।
यो जितसँगै बाग्मती तीन खेलमा चार अंक सहित तालिकाको चौथो स्थानमा छ । गण्डकी तीन खेलमा दुई अंक सहित पाँचौँ स्थानमा छ ।






