चुकेनी जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सकियो

जुम्लाको पातारासी गाउँपालिका–१ मा रहेको निर्माणाधीन चुकेनी जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जुम्लालाई अन्धाकार मुक्त जिल्ला बनाउने उद्देश्यले निर्माण शुरु भएको करिब १ मेगावाट (९ सय ९८ किलोवाट) क्षमताको आयोजना निर्माण अन्तिम चरणमा पुगेको हो । आयोजनाको ९८ प्रतिशत काम सकिएको छ ।

०७६ जेठ १० गते सम्झौता भएर निर्माण सुरु भएको चुकेनी जलविद्युतबाट छिटै बिजुली उत्पादन हुनेछ । बुधबार कर्णाली प्रदेशका पूर्व कानून मन्त्री नरेश भण्डारी र पातारासी गाउँपालिका जनप्रतिनिधिले आयोजनामा स्थलगत अवलोकन गरेका थिए ।

पातारासी–१, गढीगाउँबाट उत्पादन हुने जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्दै मन्त्री भण्डारीले यो आयोजनाले सिंगो जुम्लालाई उज्यालो दिने बताए। उनले भने, ‘उज्यालो जिल्ला भनेर जुम्ला हुनेछ । जुम्लाको सबैभन्दा ठुलो परियोजना पनि हो, तत्कालै आयोजनाको उद्घाटन हुनेछ, उज्यालो अभियानको सार्थकता पाउनेछ।’

अवलोकनका क्रममा आयोजनाको ड्यामसाइडको काम, विद्युत् गृह निर्माण र पाइपलाइन विस्तारको काम, पावरहाउसलगायतका संरचनाको फिनिसिङको काम काम पनि सकिएको पाइएको छ । यस्तै पोल गाडेर तार लैजाने काम पनि सकिएको छ। पावरहाउसका लागि जेनेरेटर, टर्वाइन सेट, प्यानल बोर्ड, ओभरहेड क्रेनलगायतका मेशिन सबै जडान भइसकेका छन् । अब तत्कालै बत्ती बाल्ने योजना रहेको चुकेनी विद्युत् सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले बताए । उनले भने, ‘जिल्लाकै गौरवको आयोजना हो । यहीँ दशैंमा बत्ती बाल्ने कुरा थियो, तर अलि हुन सकेन । एक हप्ता भित्र इन्डियाबाट प्राविधिकहरु आएर टेस्ट गर्नेछन् ।’

उनले भने, ‘आयोजनामा गाउॅपालिकाले सबै घरधुरीलाई शेयर लगानीमा समेटेको छ ।’ चुकेनी खोलाबाट उत्पादन गरिने आयोजनामा दुई करोड रुपैयॉ गाउँपालिकाले लगानी गरेको छ । कुल ४३ करोडको आयोजनामा ३० करोड वैकल्पिक ऊर्जाको लगानी छ । तीन हजार तीन सय २० घरधुरीको नाममा सेयर लगानी गरिएको गाउँपालिकाले जनाएको छ । एक हजार एक स्थानीयले व्यक्तिगत रूपमा झन्डै ९० लाख रुपैयाँ सेयर लगानी गरेका छन् । गाउँपालिकाले थप लगानीका लागि यो वर्ष पनि एक करोड रुपैयाँ विनियोजन गरेको छ । चुकेनी जलविद्युत आयोजना निर्माणको ठेक्का फेवा कन्स्ट्रक्सन प्रालि, पोखराले लिएको थियो । उसले स्थानीयस्तरमा मेगाहाइड्रो एण्ड इन्जिनियरिङमार्फत् काम गरिरहेको छ।

स्थानीय वीरबहादुर बुढाले जंगलको झरो बाल्ने दिनको अन्त्य हुने दाबी गरे । जुम्लाको विकट बस्तीमा गौरवको आयोजना बन्नु हामी सबैको खुशीको कुरा भएको बताए ।

चुकेनी जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सकियो

दशैंः उहिले र अहिले